आइतबार नेपाल बन्द

२०७२ मंसिर १२ गते, शनिबार

काठमाडौँ, १२ मंसिर । नेकपा माओवादीले भारतीय हस्तक्षेप बिरुद्ध आईतबार नेपाल बन्द गर्ने बताएको छ । माओवादीका प्रवक्ता प्रकाण्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै देशको संवेदनशीलता एवं गम्भीरतालाई दृष्टिगत गरी सो पार्टीले भारतीय हस्तक्षेप, आतंककारी नाकावन्दी, जनताको कहालीलाग्दो जनजीवन र नेपाली दलालहरुको किकर्तव्यविमुढ, दास मनोवृति र अघोषित आत्मसमर्पणका विरुद्ध राष्ट्रिय प्रतिरोध संघर्षको प्रतिनिधिको रुपमा नेपाल बन्द गरेको बताएका छन । प्रवक्ता प्रकाण्डले बन्दको कार्यक्रममा सहभागिता एवं ऐक्यबद्धता जनाई भव्य एवं शानदार रुपमा सफल पार्न राष्ट्रप्रेमी, स्वाभीमानी र आफ्नो स्वनिर्णयका पक्षधर नेपाली जनतामा अपिल समेत गरेका छन ।
भारतले नेपालमा गरेको अघोषीत नाकाबन्दीका कारण राष्ट्रियता माथिको हस्तक्षेप, भारतीय नाकाबन्दी र जनताको चुलो बल्न बन्द भएको संकट भएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको समेत जनाइएको छ । भारतीय विस्तारवादी शासकको अतिक्रमणकारी, बर्बर जंगली र मानवता एवं मानवअधिकार विरोधी विचार, प्रवृत्ति र रबैयाको परिणाम रहेको प्रवक्ता प्रकाण्डको ठम्याई छ ।
माओवादीका प्रवक्ता प्रकाण्ड जारी विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – ” हाम्रो देश र नेपाली जनतालाई इतिहासमै सर्वाधिक राष्ट्रियता माथिको हस्तक्षेप, भारतीय नाकाबन्दी र जनताको चुलो बल्न बन्द भएको संकटको भूमरीमा पारिएको छ । यो भारतीय विस्तारवादी शासकको अतिक्रमणकारी, बर्बर जंगली र मानवता एवं मानवअधिकार विरोधी विचार, प्रवृत्ति र रबैयाको परिणाम हो । राष्ट्रको सार्वभौमिकता र हाम्रो जनताको स्वतन्त्रता एवं बच्न पाउने आधारभूत मानवअधिकारमाथि भारतीय विस्तारवादको भयानक आक्रमणसम्म हुँदा देशको सरकार, कथित स्वघोषित राष्ट्रवादी मानिने संसदवादी दलका नेताहरु चुइक्कसम्म बोल्दैनन् । हस्तक्षेपको प्रतिवाद, वैकल्पिक आपूर्ति व्यवस्था र दिर्घकालीन आन्तरिक व्यवस्थापनको दृष्टिकोण एवं योजनाको कुरा त अकल्पनीय छ । अझै भारतीय सिमा सुरक्षा बलले दिन दाहाडै सुनसरीको भण्टाबारीमा नेपाली जनतालाई गोली ठोक्छ, तराईको भूभाग भारतसँग मिसाउने खुल्ला अभिव्यक्ति भारतीय सांसदले दिन्छन् । सरकार र संसदवादी दलका नेताहरु लाचार र मुकदर्शक भएर बसिरहेका छन् । सरकार र संसदवादी दलका नेताहरुको यो रबैयाले राष्ट्रको अस्तित्व, स्वाधीनता र नेपाली जनताको स्वाभिमानका विरुद्ध डरलाग्दो आत्मसमर्पणको गोप्य डिजाइन भइराखेको कुरा प्रष्ट हुन्छ । नत्र सरकार र संसदवादी दलहरु कम्भकर्ण सुते झै सुत्दैनथे ।
देशको अस्तित्व र नेपाली जनताको स्वाभिमानको रक्षाको विषय अहिलेको मुख्य विषय बन्न पुगेको छ । विषयको यही संवेदनशीलता एवं गम्भीरतालाई दृष्टिगत गरी हाम्रो पार्टीले देश माथिको भारतीय हस्तक्षेप, आतंककारी नाकावन्दी, जनताको कहालीलाग्दो जनजीवन र नेपाली दलालहरुको किकर्तव्यविमुढ, दास मनोवृति र अघोषित आत्मसमर्पणका विरुद्ध राष्ट्रिय प्रतिरोध संघर्षको प्रतिनिधिको रुपमा भोलि मंसिर १३ गते मौलिक रुपको नेपाल बन्द कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा सहभागिता एवं ऐक्यबद्धता जनाई भव्य एवं शानदार रुपमा सफल पार्न राष्ट्रप्रेमी, स्वाभीमानी र आफ्नो स्वनिर्णयका पक्षधर महान नेपाली जनतामा हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु