‘अध्यादेश औचित्यहीन र असान्दर्भिक’ ‘

२०७७ बैशाख १० गते, बुधबार

काठमाडौँ , १० बैशाख । बरिष्ठ अधिवक्ता एवं जनअधिका नेपाल अभियानका अध्यक्ष एकराज भण्डारीले जनता कोरोनाको महामारीबाट संकटमा परीरहेका बेला सरकारले जारी गरेको अध्यादेश औचित्यहिन र असान्दर्भिक रहेको बताएका छन । अध्यक्ष भण्डारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यस्थल बन्द भई मजदुरहरूले ज्याला रकम नपाई आर्थिक अभाव भएको र बाध्यताबस आफ्नो स्थायी बसोबास स्थानमा जानैपर्ने भई यातायात साधन नपाउँदा लामो दूरी भोकभोकै खुला आकाशमुनि बास बस्दै बालबच्चासहित नागकिरहरूले हिँड्दै जानुपरेको कठिन अवस्थाप्रति सरकारको ध्यान नगएकाले त्यसप्रति ध्यान दिन पनि माग गरेका छन् । अभियानका अध्यक्ष भण्डारीको विज्ञप्तिमा भनिएको छ, ‘केही समययता कोरोना भाइरस (कोभिड १९) का कारणले विश्वभरका मानवजाति र सम्पूर्ण राष्ट्रहरूले विशेष परिस्थिति र सङ्कटको सामना गर्नु परिरहेको छ । ठूलो सङ्ख्याका मजदुर तथा निम्न आय भएका सहरकेन्द्रित आमजनता यतिखेर ठूलो मारमा परिरहेका छन् । एकातिर कार्यस्थल बन्द भई मजदुरहरूले ज्याला रकम नपाई आर्थिक अभाव भएको अवस्था र अर्कोतिर बाध्यताबस आफ्नो स्थायी बसोबास स्थानमा जानैपर्ने भई यातायात साधन नपाउँदा लाामो दूरी भोकभोकै खुला आकाशमुनि बास बस्दै बालबच्चासहित हिँड्दै जानुपरेको कठिन अवस्था यी नागरिकहरूले झेलिरहेका छन् ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो अवस्थामा ती जनताका सामु सरकारको उपस्थिति देखिँदैन जब कि संविधानमा नागरिकलाई खाद्य, आवास, रोजगार एवम् वैयक्तिक स्वतन्त्रताको प्रत्यभूत गरिएको भनिएको छ । तर संविधानमा उल्लिखित यी आधारभूत मानवअधिकारको समेत सरकारबाट संरक्षण हुन सकिरहेको छैन ।’
विज्ञप्तिमा भनिएको छ, ‘एकातिर देश लामो समयदेखि लकडाउनको अवस्थामा रही सङ्कटग्रस्त एवम् अत्यासपूर्ण अवस्थामा छ । अर्कोतिर सत्तारूढ दलभित्रको आन्तरिक किचलोले गर्दा बिनाआधार र कारण औचित्यहीन, असान्दर्भिक अध्यादेश जारी गरी जनताको गम्भीर सङ्कटप्रति एवम् भ्रष्टाचारप्रति बेवास्ता गरिएको छ जब कि अबको एक साताभित्र संसद्को अधिवेशन बोलाउन सकिने संवैधानिक एवम् कानुनी प्रावधान छ । यसबाट सरकार जनताप्रति अनुत्तरदायी एवम् गैरजिम्मेवार भएको देखिन्छ । सरकारको यसप्रकारको मानवअधिकारको उल्लङ्घनप्रति जनअधिकार अभियानको गम्भीर ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तिमा भण्डारीले भनेका छन्, ‘यस सन्दर्भमा जनअधिकार अभियान नेपाल सम्पूर्ण मानवजातिको सुस्वास्थ्यको कामना एवम् वैयक्तिक स्वतन्त्रताको सम्मान गर्दै खुला आकाशमुनि निरन्तर रूपमा भोकभोकै हिँडिरहेका बालबालिका, महिला तथा सम्पूर्ण नागरिकहरूलाई सम्बन्धित ठाउँमा पुर्याउने, जिम्मेवार व्यक्तिको जिम्मा लगाउने, आवश्यक राहत वितरण गर्ने, खानबस्न व्यवस्था गर्ने, कोरोना भाइरस फैलन नदिनका लागि प्रभावकारी रूपमा क्वारेन्टाइनमा राखी सुरक्षित स्वास्थ्य सेवा प्रदान गर्नेलगायत न्यूनतम् आवश्यक पर्ने व्यवस्थापनका सम्पूर्ण कार्य गरी मानवअधिकारको संरक्षण गर्न तथा तिनको व्यवस्थापनका लागि नेपाल सरकार तथा सम्पूर्ण सङ्घसंस्था, नागरिक समाजलगायत सम्बन्धित सम्पूर्ण पक्षसँग हार्दिक अपिल गर्दछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु