मेटिँदै सिन्धुलीगढीको अस्तित्व – भुवन थापा

काठमाडौँदेखि १५० किलोमिटर दूरीमा रहेको सिन्धुलीगढी नेपाली स्वाभिमानको प्रतीक मात्र नभइ आधुनिक नेपालका लागि गर्विलो इतिहास बोकेको स्थल पनि हो । सिन्धुलीगढी नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज हो । नेपालको ऐतिहासिक राष्ट्रिय पहिचान बोकेको, विदेशी हमलालाई परास्त गरेर राष्ट्रिय स्वाभिमानलाई सधैँ उँचो बनाएको सिन्धुलीगढीले आधुनिक नेपालको निर्माणमा उत्तिकै महत्वपूर्ण योगदान गरेको छ । विक्रम संवत् १८२४ मा तत्कालीन इष्ट इन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा नेपाल कब्जा गर्न आएको २४०० अंग्रेज फौजलाई सिन्धुलीगढीमा गोर्खाली सेनाले घरेलु हतियारकै भरमा पराजित गरेका थिए, जब कि बेलायती सेनासँग अत्याधुनिक हातहतियार थिए ।
संसारभर आफ्नो साम्राज्य जन्माउँदै हिँडेका अंग्रेजले सिन्धुलीगढीमा पहिलो पटक गोर्खाली सेनासँगै हार बेहोर्नु परेको थियो । सोही कारण नेपालीको शीर सधैं उच्च छ । र, नेपालले आजसम्म स्वाभिमानी राष्ट्रका रुपमा यस क्षेत्रमा आपूmलाई चिनाउँदै आएको छ । सिन्धुलीगढीमा नेपाली सेनाले प्राप्त गरेको सफलताकै कारण नेपालले विश्व इतिहासमा सुनौलो अक्षर कोर्न सफल भएको छ । सिन्धुलीगढीमा हाम्रा पुर्खाले देखाएको बहादुरीकै कारण नेपालले कहिल्यै कसैको औपनिवेशिक राष्ट्र बन्नु परेन । जसले नेपालीलाई संसारभर बीर गोर्खालीको पहिचान दिलायो । गोर्खा एउटा ब्राण्ड बन्यो ।
इतिहासकारहरूको अध्ययन अनुसन्धानअनुसार त्यसबेला हाम्रा पु्र्खाले बल, वुद्धि र विकेकले सिन्धुलीगढी युद्ध नजितेको भए नेपालको एकीकरण असम्भव प्रायः थियो । हामी अंग्रेजहरूको उपनिवेशमा बस्नुपथ्र्यो । र, अहिलेको नेपालजस्तो अविभाज्य राष्ट्रका रुपमा रहन्थ्यो कि रहँदैनथ्यो भनेर यसै भन्न सकिँदैन । त्यसैले नेपालको इतिहासमा सिन्धुलीगढीलाई राष्ट्रिकै गौरवपूर्ण स्थलका रूपमा मान्न सकिन्छ ।
सिन्धुलीगढीमा त्यसबेला शत्रुलाई आक्रमण गर्न निर्माण गरिएका आड तथा दुर्गहरू अहिले पनि छन् । गढीमा रहेका किल्ला, दरबार, अदालतको भग्नावशेष अहिले पनि देख्न सकिन्छ । कतिपय संरचनाको भागनाशेष संरक्षण हुन नसक्दा गायब भएका छन् । धेरै शिलालेखहरू हराएका छन् भने भएका शिलालेखको पनि संरक्षण गरिएको छैन ।
ऐतिहासिक किल्ला गौरवपूर्पण इतिहास हेर्न, बुझ्न चाहनेहरूका लागि पर्यटकीय केन्द्र अवश्य पनि हो । जापान सरकारको सहयोगमा पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग सिन्धुलीगढीबाटै निर्माण भएपछि यसको आकर्षण थप बढेको छ । स्वदेशीमात्र नभइ विदेशी पर्यटकले पनि सिन्धुलीगढीको ऐतिहासिकता तथा किँवदन्तीजस्तै लाग्ने मौलिक युद्धका विषयमा बुझ् चाहेका छन् र यसबाट त्यस क्षेत्रको पर्यटकीय महत्व थप बढेको छ । तर, पछिल्लो समय सिन्धुलीगढीमा पर्यटकीय विकासको नाममा जथाभावी भौतिक संरचना निर्माण सुरु हुँदा त्यसले यस गढीको मौलिक अस्तित्व नै समाप्त पार्ने हो कि भन्ने चिन्ता सबैमा बढेको छ ।
मेटिएको इतिहास
२०५२ साल फागुन १ गते रोल्पा, गोरखा र सिन्धुलीगढीमा रहेको प्रहरी चौकीमा एकसाथ आक्रमण गरेर तत्कालीन माओवादीले जनयुद्धको सुरुवात गर्याे । उक्त जनयुद्धमा १७ हजारभन्दा धेरै नेपालीले ज्यान गुमाएको सत्य खोज्न अहिलेको पुस्ताले कुनै इतिहासको पाना पल्टाइरहनु पर्दैन । नेपालको इतिहासमा एउटा नमेटिने घटना हो माओवादी जनयुद्ध । जनयुद्ध सुरु हुँदा आक्रमण भएको सिन्धुलीगढीको प्रहरी चौकी पछिसम्म भग्नावषेशका रूपमा थियो । उक्त प्रहरी चौकी माओवादी जनयुद्धको संग्रहालय र युद्धको एउटा जीवित दस्तावेज बन्न सक्थ्यो । तर चौकी रहेको उक्त स्थानमा २ वर्ष अगाडि सिन्धुलीगढी स्मारक खडा गरिएको छ । चौकीको अस्तित्व अहिले देख्न सकिँदैन । अझ विडम्बना के छ भने त्यस बेला पृथ्वीनारायण शाहको छोरा रणबहादुर शाहले गढीको पुनर्निर्माण गरेर लेखिएको शिलालेख गढीको एउटा कुनामा फालिएको छ, अरू थुप्रै शिलालेख संरक्षणको अभावमा मासिएका छन् । यद्यपि, सिन्धुलीगढी स्मारक बनाउने नाममा मेयर, गणपति र कर्णेलका नाम उल्लेख गरेर नयाँ शिलालेख खडा गरिएको छ । जसले गर्दा पुराना इतिहास मेटेर नयाँ इतिहास खडा गर्ने दुष्प्रयास भइरहेको छ । स्थानीय आफ्नो धरोहर मेटिँदा पनि टुलुटुलु हेरेर बसिरहन विवश छन् । गढीमा यस्ता अरू कति पुराना ऐतिहासिक संरचनाको अस्तित्व मेटिएको छ, त्यसको थप अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
एनआरएनको गुरुयोजना
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सिन्धुलीगढीको गुरुयोजना बनाएर कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेको छ । बाहिर सार्वजनिक गरिएको गुरुयोजनाको एउटा एनिमेटड भिडियो हेर्दा आकर्षक त देखियो तर सिन्धुलीगढीका संरचनालाई त्यसरी बिगार्ने हो भने गढीको अस्तित्व के रहला भन्ने प्रश्न पनि सँगसँगै उठेको छ । उक्त गुरुयोजनामा गढीलाइ डोमले छोपिएको छ । खुल्ला रुपमा रहेको टुँडिखेलमा हेलिप्याड र विभिन्न संरचना बनाउने प्रस्ताव गरेर गरिएको छ भने घरवासको नाममा रिसोर्टको परिकल्पना गरिएको छ । त्यही योजनाअनुसार अहिले कमलामाई नगरपालिकाले सिन्धुलीगढी क्षेत्रमा रोसोर्ट बनाउन आशयपत्र माग गरेको छ । गैरआवासीय नेपाली संघले बनाएको सिन्धुलीगढी गुरुयोजना पुरातत्वको सहकार्यमा बनाएजस्तो देखिँदैन । यदि पुरातत्वको सहमतिमा त्यस्तो गुरुयोजना बनेको हो भने पनि पुरातत्वले पुरातात्विक मर्यादा कायम राख्न सकेन । पुर्खाले छोडेको ऐतिहासिक भूमि सिन्धुलीगढी पूर्ण रूपमा व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिने मनसाय देखिँदा गढीको मौलिक अस्तित्व यसरी सकिँदै छ ।
जथाभावी निर्माण हु“दै भौतिक संरचना
मल्लकालमा उच्च रणनीतिक भूभागमा धेरै गढीहरु स्थापना गरिएको थियो । पूर्वदेखि पश्चिमसम्म अहिले पनि धेरै गढीहरुको भग्नाबशेष कायममै छन् । त्यहीमध्ये सिन्धुलीगढी एक हो । त्यस बेला उपलब्ध ढुंगा, चुन, सुर्कीलगायतका सामग्रीले गढी निर्गमाण गरिएको थियो । कतिपय गढीहरुमा राजाहरूको बसोबासको लागि दरबार निर्माण गरिएको थियो । त्यस बेला दुश्मनलाई आक्रमण गर्न ढुंगाबाट निर्माण गरिएका बंकर, कोतघर, मन्दिर, पोखरी, इनार, ढुंगेधारा, शिलालेख, वास्तुकलाले भरिएका दरबार, पाटीपौवा, खुल्ला मैदान नै गढीको मौलिकता हो । तर, अहिले गढीको पर्यटकीय विकासको नाममा जथाभावी भौतिक संरचना निर्माणको काम भइरहँदा त्यसले गढीको मौलिक अस्तित्व धरापमा पारेको छ । जथाभावी घर, स्मारक, सिमेन्टको सिँढी, सडक निर्माण भइसकेका छन् भने थप भवन, गेट, पार्क बनाउन धमाधाम टेन्डर भइरहेको छ । स्थानीय सरकार र प्रदेश सरकारले गढीमा नयाँ संरचना बनाउन प्रतिस्पर्धा गरिरहेका छन् । यसरी निर्माण भइरहेका संरचनाले गढीको मैलिक अस्तित्व मासेर गढी क्षेत्रलाई सहरीकरण गर्ने योजनामा उद्यत देखिन्छन् ।
युद्ध संग्रहालय
नेपाली सेनाले सिन्धुलीगढीमा युद्ध संग्रहालय बनाउन एकतले ट्रस भवनको डिजाइन सार्वजनिक गरेको छ । झण्डै ४ करोड रूपैयाँ लागतमा भन्ने उक्त संग्राहलय यही कात्तिक २४ गते शिलान्यास हुँदैछ । अर्कोतर्फ प्रदेश सरकारले भने पुरातत्व विभागले तयार गरे डिजाइनमा सिन्धुलीगढीमा रहेको राणाकालीन दरबारको पुनर्निर्माण गर्न टेन्डर गर्ने अन्तिम चरणमा छ । दरबार पनि त्यही दिन शिलान्यास गरिँदैछ । जसको लागि प्रदेश सरकारले ४ करोड बजेट विनियोजन गरिसकेको छ । १४ ढोका र ५६ झ्याल भएको उक्त विशाल दरबार पुनर्निर्माण भइसकेपछि के गर्ने त्यसलाइ कसरी उपयोगमा ल्याउने ? उक्त दरबारमा संग्रहालय स्थापना गर्दा हुँदैनथ्यो ? दरबार अहिले बन्ने संग्रहालयभन्दा दोब्बर ठूलो र २ तलाको हुनेछ । तर, गढीमा नयाँ भौतिक संरचना निर्माणको प्रतिस्पर्धाले यसरी कुरुप बनाइँदै छ । एकदेखि अर्को सरकारी निकायबीच नै समन्वय छैन । गढीमा धेरैभन्दा धेरै संरचना बनाउने, उद्घाटन गर्ने र शिलालेखमा आफ्नो नाम राख्ने होडबाजी चलेको छ । जसबाट पुरातात्विक मर्यादामा भने चोट पुगेको छ ।
विजयोत्सवको भ्रम
विभिन्न सरोकार निकायको सक्रियतामा २०७६ सालदेखि हरेक वर्षको कात्तिक २४ गते अग्रेजसँग युद्ध जितेको अवसरमा विजय दिवस मनाउने गरिएको छ । गढीको प्रचारप्रसार र इतिहासको सम्मानमा यो प्रशंशनीय कार्य हो । तर, सिन्धुलीगढीमा युद्धको मिति यकिन गर्न अध्ययन र छलफल हुँदा असोज १५ गते विजय हासिल गरेको तथ्य प्रमाणित भइसकेको छ । गढीको युद्ध सम्बन्धमा समृद्ध सिन्धुली अभियानले पर्यटन बोर्डको हलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा इतिहासविद् प्राध्यापक दिनेशराज पन्त र नेपाली सेनाका पूर्व महासेनानी एवं गढी तथा किल्लामा विद्याबारिधि गरेका डा. प्रेमसिंह बस्न्यातले सिन्धुलीगढीम अंग्रेजलाई गोर्खाली सेनाले असोज १५ गते नै परास्त गरेको पुष्टि गरेका छन् । कमलामाई नगरपालिकाले २ वर्ष अगाडि स्थापना गरेको स्मारकमा समेत असोज १५ मै विजय भएको लेखिएको छ । इतिहासको तथ्य बाहिर आइसक्दा समेत कात्तिक २४ गते नै विजय दिवस मनाइरहँदा त्यसले इतिहास तोडमोड हुने चिन्ता बढेको छ । विजयोत्सव वर्षभरी मनाउन सकिन्छ तर विजय दिवस यकिन मितिमै मनाउनुपर्छ । असोज १५ गते कुनै कार्यक्रम नगर्ने र स्थानीय सरकारले सार्वजनिक बिदा दिएर कार्तिक २४ गते विजय दिवस मनाइरहँदा ऐतिहासिक तथ्यलाई गलत सावित गर्ने प्रयास भएको देखिन्छ ।
अबको बाटो
गढीको पुरातात्विक मौलिकता र अस्तित्व जोगाइराख्न अहिले भइरहेका निर्माण तत्काल रोकिन आवश्यक छ । गढीमा नयाँ संरचनाभन्दा पनि गढीमा रहेका पुराना संरचना जस्ताको तस्तै हेर्न पर्यटक आउने हुन् । आधुनिक पार्क, सिँढी, सडक, भवन जहाँ तहीँ देखिन्छ । ती संरचना गढीमा बनाइराख्न आवश्यक छैन । पहिलाको समयमा ढुंगाबाट निर्माण गरिएका बंकर, कोतघर, मन्दिर, पोखरी, इनार, ढुंगेधारा, शिलालेख, वास्तुकलाले भरिएको दरबार, पाटीपौवा, खुल्ला मैदान जे जस्तो अवस्थामा छन्, तिनलाइ जोगाइराख्ने र आवश्यक अनुसारको संरचना मात्र पुनर्निर्माण गर्नुपर्छ । जस्तैः पुरानो दरबारको पुनर्निर्माण भइरहँदा संग्रहालयको नाममा नयाँ भवनको आवश्यक हुँदैन । उक्त दरबारमा नै संग्रहालय राखिँदा झन् उत्तम हुन्छ । पुरानो चौकी भएको ठाउँमा स्मारक बनाउन मिल्दैन । स्मारक बनाउन परे पनि उपयुक्त स्थानको छनोट गरिनुपर्छ । गढीको पुनर्निर्माण हुँदा पौराणिक र पुरातात्विक मूल्य र मान्यता जोगाउँदै गढीको पुनर्निर्माण हुनुपर्छ । यो सकिँदैन भने नियमित सरसफाइ गरेर भग्नावषेसको संरक्षण गरेमात्र पनि पुग्छ ।
अन्त्यमा,
यस्ता ऐतिहासिक धरोहर र सम्पदाको संरक्षण गर्ने दायित्व पुरातत्व विभागको हो । तर विभागले यसमा खासै चासो र सक्रियता देखाएको देखिँदैन । कतिपय ऐतिहासिक स्थलमा ऐतिहासिक मर्यादा विपरीतको पुनर्निर्माणमा पुरातत्वको समन्वय भइरहेको उदाहरण हामीसामु छ । जस्तै, रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर मल्लकालमा तत्कालीन कलाअनुसार ग्रन्थकुट शैलीमा निर्माण भएको थियो । पछि पुनर्निर्माण हुँदै जाँदा मन्दिरको स्वरूप परिवर्तन हुँदै गयो । २०७२ को भूकम्पले ध्वस्त भएको उक्त मन्दिरको पुनर्निर्माण पुरातत्वले राणाकालीन गुम्बज शैलीमा निर्माण गर्ने अडान राखेको थियो । तर, नागरिकस्तरबाट निरन्तर खबरदारी भएपछि मात्र पुरातत्व पछि हट्यो । अहिले रानीपोखरीको बालागोपालेश्वर मन्दिर मल्लकालीन ग्रन्थकुटशैलीमा पुनर्निर्माण हुँदैछ । त्यसैले ऐतिहासिक सम्पदाको संरक्षण र पुनर्निर्माणमा पुरातत्वको मात्र भर परेर हुँदैन । नागरिक स्तरबाट पनि निरन्तर खबरदारी आवश्यक छ । सिन्धुलीगढीमा पनि जथाभावी संरचना बन्नबाट रोक्नैपर्छ ।
(लेखक समृद्ध सिन्धुली अभियानका अभियन्ता हुन् ।)

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>