भट्टराई ‘भ्यागुतो’, ओली ‘छट्टु ज्वाईं’ !

२०७६ असार २१ गते, शनिबार

काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी ओलीले डा. बाबुराम भट्टराईको विद्धताप्रति व्यंग्य गर्दै शुक्रबार एक कार्यक्रममा ‘भ्यागुताको कथा’ सुनाएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘छट्टु ज्वाईं’को कथा स्मरण गराएका छन् । आपूmलाई कथाबाट व्यंग्य गर्ने प्रधानमन्त्रीलाई कथाबाटै जवाफ फर्काउँदै भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् पुरानो लोककथा स्मरण गराएका हुन् । उनले प्रधानमन्त्री ओलीलाई व्यंग्य गर्दै कथामा एकजना निदुली नाम गरेका छट्टु ज्वाईं कसरी आपूmलाई नामी ज्योतिष भएको भ्रम दिन सफल हुन्छ भन्ने कुरा देखाएका छन् । सोही व्यंग्यको जवाफ डा. भट्टराईले यसरी फर्काएका छन्– ‘हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रमले श्रोताहरूलाई हँसाउनुभएछ ! त्योसँगै निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथा पनि सुनाइदिएको भए अझ ठूलो हाँसो फुट्थ्यो कि ?
कथा यस्तो छ– निदुली बाहुन साँझमा ससुराली पुगेछन् । सासू भित्र सेलरोटी पकाउँदै रहिछन् । ज्वाइँ बाहिर पिंढीमा बसेर बाँसका सिन्का भाँच्दै रोटी गन्न थालेछन् । पकाइसकेपछि सासूले ज्वाइँलाई देखिछन् र चारवटा रोटी थालमा राखेर ज्वाइँलाई दिइछन् ! ज्वाइँले भनेछन्– ‘रोटी पाके दुई बीस चार, ज्वाइँका भागमा किन चार ?’ ठ्याक्कै रोटीको संख्या मिलेपछि गाउँभर सासूले ज्वाइँ अब्बल ज्योतिष भएको प्रचार गरिछन् ।
गाउँमा धोबीको गधा हराएको रहेछ । धोबीले ज्वाइँसँग हराएको गधा पत्ता लगाइदिन भनेछन् । अब प¥यो फसाद । भोलिपल्ट विहानैको शुभसाइतमा आउन आग्रह गर्दै मध्यरातमा सबै सुतेपछि ज्वाइँले टाप कसेछन् । भाग्दै जाँदा बाटोमा उखुवारीमा गधा चर्दै गरेको देखेछन् । के खोज्छस् दृष्टिविहीन, आँखा । ज्वाइँ ससुराली घर फर्केर सुतेछन् । भोलिपल्ट जोखाना हेरेझैँ गरेर धोवीलाई गधाको इतिवृत्त बताएछन् । अब के चाहियो ? निदुलीको ख्याति राजदरबारसम्म पुगेछ । राजाले दरबारमा बोलाएछन् र हराएका हीरा–जवाहरत पत्ता लगाउन भनेछन् । बस्न कोठा दिएछन् ! अब प¥यो महाफसाद ! भागौं, पहरा छ ! कोठामै बर्बराएछन्– ‘रोटी गनीगनी जैसी कहाएँस धोबीको गधा उखुवारी पाएँस अब आयो निदूली तेरै काल !’ पल्लो कोठामा सुतेकी नोकर्नीले सुनिछ । उसको नाम पनि निदूली रहेछ । उसले रूँदै आएर भनिछ– ‘बाजे मेरो ज्यान बचाइदिनोस्, हीरामोती मैले चोरेर फलानो ठाउँमा राखेकीछु ।’ निदुली राजज्योतिषी बनेर धनधान्य भएछन् ! अब आफैँ बुझौं हाम्रो अहिलेको राजज्योतिषी को हो !’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु