फासीवादी सत्तालाई पछार्नुको विकल्प छैन – विष्णु पन्त

२०७६ कार्तिक १८ गते, सोमबार

लुटेराहरुको राज्य
नेपालीमा एउटा उखान छ, ‘लुटको धन फुपुको श्राद्ध’ जब लुटेराहरुले निर्धक्क छाती फुलाएर लुट्न पाउँछन् तब उनीहरुको मनोबल कस्तो हुन्छ होला ? जब बलात्कारी र हत्याराहरुले राज्यको संरक्षण पाउँछन् तब उनीहरुको दानवता कस्तो हुन्छ होला ? जब भ्रष्ट, दलाल, कालोबजारीया, तस्कर र माफियाहरु मन्त्री, सांसद र नेता बन्छन् तब राज्यको हालत कस्तो हुन्छ होला ? जब कालो धनको सत्ता चल्छ तब समाजमा अराजकताको अवस्था कस्तो हुन्छ होला ? आज जो सर्वहारा वर्गका नेता कहलिएका छन्, तिनीहरु सबैभन्दा धनाड्य व्यक्तिको सूचीमा आएका छन् । राज्य र सत्ताको दुरुपयोग गरेर रातारात नवधनाड्य वर्गको उदय भएको छ । आज भ्रष्टाचारले पूरै समाजलाई निलेको छ । एक हुल दलालहरुले गणतन्त्रको नाममा देशका सम्पदाहरु बेच्न लागिपरेका छन् । नदिनाला, प्राकृतिक सम्पदा सबै क्रमशः बेच्दै गएका छन् ।
आज समाजमा कसको बिगबिगी छ ? जसले पैसाको खोलो बगाउन सक्छ उसैको साम्राज्य छ । कुन व्यक्तिले कति कमाई गरेको छ र वैध छ वा अवैध त्यसमा राज्यको चासो नै छैन । आर्थिक अराजकतातिर देश गइरहेको छ तर कसैलाई चिन्ता छैन । मानवीय मूल्य र सामाजिक सद्भावहरु विघटित भएका छन् । आज मुलुकमा जे हुनुपर्ने त्यो भएको छैन र जे नहुनुपर्ने त्यही भएको छ । आजको मुख्य समस्या राष्ट्रियताको संरक्षण हो, त्यसको विषयमा सत्ताधारीहरुको चिन्ता नै छैन । हाम्रो राष्ट्रियताको मुख्य समस्या सत्ता बनेको छ । सरकार, संसदीय दलहरु र नेताहरुको आत्मसर्मपणवादी चिन्तन नै मुख्य कारक बनेको छ । आजसम्मको इतिहासले बोल्छ कि हाम्रो राष्ट्रियतामाथिको संकट सरकारकै कारण आएको छ । राष्ट्रवादी नेताहरु र शासकहरुको हत्या गर्ने जस्ता घृणित कामहरु भएका छन् ।
जनआक्रोश भयाभह हुदैछ
वर्तमान सरकार जनआक्रोशको शिकार बन्दैछ । यो सरकारलाई तीनवटा मुद्दाका आधारमा जनताले समर्थन गरेका थिए– राष्ट्रियता, समाजवाद र समृद्धिको एजेण्डा । राष्ट्रियताको मुद्दा आत्मसमर्पणवादमा गएर पतन भयो । कतिसम्म भने नेपालमा चिनियाँ राष्ट्रपति सि जिनपिङको अगाडि यतिविघ्न आत्मसमर्पण गरेकी मानौं अब नेपाल चीनकै लाइनमा रुपान्तरित भइसक्यो । जब सि जिनपिङ गए, अमेरिकी विदेश मन्त्रीको एउटा टिप्पणी सार्वजनिक भयो– “नेपालमा चीनको प्रभाव बढ्यो ।” फेरि प्रधानमन्त्री केपि ओली संयुक्त राष्ट्रसंघको एउटा कार्यक्रममा सहभागी हुन अजरवैजान जाँदै गर्दा सरकारका प्रवक्ता गोकुल बास्कोटाले त्यसको खण्डन गरे ।
सि जिनपिङ आउँदा सि विचारधाराकै अनुशरण गर्ने र विआरआईको प्रवक्ता नै बन्ने अनि नरेन्द्र मोदी आउदा मोदी विचार, अमेरिकी अधिकारी आउँदा ट्रम्प विचार र युरोपियन युनियनका अधिकारी आउँदा उनीहरुके भक्त बन्ने जस्तो हास्यास्पद रणनीतिबाट के राष्ट्रियताको जर्गेना हुनसक्छ ? हामीले वर्षौंदेखि हेरिसकेका छौं नि सधैं शक्ति केन्द्रका फुटबल बनेका छन् हाम्रा नेताहरु । दुई तिहाईको सरकार छ भनिँदैछ के एउटा स्वाधीन वा स्वतन्त्र परराष्ट्र नीतिको विकास पनि गर्न सकिँदैन ? सधैं लम्पसार परेर, आत्मसमर्पण गरेर अनि भिख मागेर मात्र सत्ता चलाउने हो हामीले ? विदेशीहरुसँग भिख मागेर के हाम्रो राज्यमा समृद्धि आउन सक्छ ? आज सानोभन्दा सानो मुद्दामा पनि शक्ति राष्ट्रहरुको हस्तक्षेप हुन्छ ।
अतः ओली र दाहालको गठबन्धनले देशमा विध्वंस र अराजकताका मच्चाइरहेको छ । समाजका सबै क्षेत्रमा भाँडोभैलो मात्र मच्चाइरहेको छ । कानूनको खिल्ली उडाइएको छ । सर्वत्र लुटपाट, हत्या, आतंक, बलात्कारजस्ता आपराधिक घटनाहरुले जनतालाई थिलोथिलो पारेको छ । जनताले यो सरकारबाट कम्तीमा प्रगतिशील सुधारको अपेक्षा गरेका थिए । त्यसको ठीक उल्टो भएको छ । समाजमा विद्यमान शोषण, उत्पीडन, विभेद, असमानता र अन्यायको अन्त्य गर्ला भन्ने अपेक्षा गरेका थिए तर सरकारको यात्रा ठीक उल्टो भएको छ ।
असफलता ढाकछोप गर्न प्रतिबन्ध र दमन
कुनैबेला यस्तो समय थियो मनमोहन अधिकारीको प्रधानमन्त्रीकालमा केपि ओली गृहमन्त्री थिए र केही मान्छेहरुले स्तुतिगान गाएका थिए– “ओलीको गृहमन्त्रीकालमा एउटा मान्छे पनि घाइते हुनु परेन ।” तर जब उनी प्रधानमन्त्री भए उनी एउटा शैतान जस्तो प्रधानमन्त्रीमा परिणत भए । यो चरम सत्ताउन्मादको विषय थियो । सत्तामा पुगेको शासकहरुले बुद्धि पु¥याए भने देश र जनताले मुक्ति पाउँछन् भने शासकहरुले होस पु¥याएनन् भने ठीक उल्टो हुन्छ । ओली र दाहालको गठबन्धनले देशलाई जबर्जस्त गृहयुद्धमा धकेल्दै छ ।
के गृहयुद्धबाट देशले मुक्ति पाउँछ त ? आज विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध मात्र लगाइएको छैन कि इन्काउन्टरको नाममा हत्यासमेत गरिएको छ । गैरन्यायिक हिरासत, दमन र यातनाका मिशन नै चलाइएको छ । आत्मसमर्पण या यातनाको राणनीति विकास गरिएको छ । पछिल्लो पटक वीरजंगसहितको जम्बो टोलीलाई हिरासतमा लिएर सरकारले विजयोत्सव जस्तै मनाएको छ ।
सरकारी फासीवादको औचित्य पुष्टि हुन सकेन
राजनीतिक रुपमा सरकारले जुन आरोपका आधारमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो, त्यसको औचित्य पुष्टि हुन सकेन । सरकारले प्रतिबन्धका साथसाथै नेता कार्यकर्ताहरुको गैरन्यायिक गिरफ्तारी, निगरानी, दमन, यातना हुँदै इन्काउन्टरको नाममा गोली हानी हत्या गर्नेसम्मका हर्कतहरु गर्यो । सरकार आक्रमण, हत्याहरुको शृंखला नै चल्दा पनि विप्लवको पार्टीले हतियार चलाएको छैन । यहाँसम्म कि पछिल्लो पटक नेता वीरजंगसहितको २१ जनाको टोलीलाई मध्यरातमा गिरफ्तार गर्न जाँदा पनि उसले एउटा हतियार पड्काएन । दमन गरेर गिरफ्तार गरेर वा केही नेताहरुको हत्या गरेर क्रान्तिकारी शक्तिलाई सिध्याउँछु भन्ने उन्मादले सत्तारुढ नेताहरुको संकीर्णता र तानाशाही प्रवृत्तिलाई आमजनताका सामुन्ने छताछुल्ल पारिदिएको छ । अतः इतिहासको कठ्घरामा ओली र दाहालको गठबन्धन केवल निरंकुश, अधिनायकवादी र फासीवादी सावित भएको छ । सत्ता उन्माद यस्तो हुन्छ, उसले आफ्नै आँखाले देखेको र कानले सुनेको सत्यलाई पनि महसुस गर्न सक्दैन् । फासीवाद पछाडि हट्न सक्ने अवस्थामा छैन
हामीलाई स्पष्टै छ, ओली र दाहालको गठबन्धन आफ्नै स्वनिर्णय वा स्वविवेकमा चल्न सक्ने अवस्थामा छैन । उनीहरु शक्ति केन्द्रहरुका गुलाम हुन र मालिकको निर्देशनमा चल्ने प्राणी हुन् । मान्छेहरु प्रश्न गर्छन् १४ वर्ष जेल बसेका भनिएका प्रधानमन्त्रीको यस्तो कदम ? दश वर्षे जनयुद्धको नेतृत्व गरेका प्रचण्ड र बादलको यस्तो उल्टो बुद्धि ? हिजो सँगै लडेका, एकअर्काका लागि जीवन दिएका नेताहरुको यस्तो प्रतिक्रिया ? अतः राजनीतिमा विचार मुख्य कुरा हुँदोरहेछ । यो केवल भावनाको विषय रहेनछ ।
आज सत्ता र शक्तिको चरम् दुरुपयोग गरेर विप्लव र प्रकाण्डको हत्या गर्नेसम्मको योजना बनाउने र षड्यन्त्र गर्ने कुरामा प्रचण्ड र बादल नै मुख्य रुपमा लागेका छन् । विप्लवको सफलता वा असफलतासँग प्रचण्डको भविष्य जोडिएको छ । इतिहासको कठ्घरामा विप्लव पराजित भएमा मात्र प्रचण्डले आपूmलाई सुरक्षित महसुस गर्न सक्ने ठानेका छन् । स्वभाविक रुपमा साम्राज्यवादी स्वार्थसँग ओली र दाहालको स्वार्थ मिलेको छ । हामीलाई थाहा छ, साम्राज्यवादले क्रान्ति चाहँदैन । त्यसकारण आज दुश्मनहरु बद्लिएका छन् । कम्युनिष्टको नाममा कम्युनिष्टमाथि दमन हिजोका क्रान्तिकारी नेताहरुकै नेतृत्वमा प्रतिक्रान्ति, यी आजका कटुसत्य बनेका छन् । त्यसकारण यही अवस्थामा सरकारले वार्ताको प्रयत्न गर्न सक्दैन । वार्तालाई केवल षड्यन्त्रका रुपमा मात्र प्रयोग गर्न सक्छ ।
विप्लव र प्रकाण्डलाई सिध्याउने रणनीति
नेपालको क्रान्तिकारी आन्दोलनमा एउटा नयाँ साहस र उर्जाका साथ अगाडि बढेको नेतृत्वका रुपमा विप्लव र प्रकाण्डको नेतृत्व स्थापित भएको छ । तर, अहिले साम्राज्यवादीहरु कुनै पनि बहानामा विप्लव र प्रकाण्डलाई सिध्याउने रणनीति बनाइरहेका छन् । कसैले विप्लव र प्रकाण्डलाई लेनिन र स्टालिनको रुपमा समेत विश्लेषण गर्ने गरेका छन् । प्रतिक्रियावादीहरु विप्लव र प्रकाण्डलाई फुटाउन सकिन्छ कि वा कुनै प्रलोभनमा कुनै एकलाई तान्न सकिन्छ कि भन्ने प्रयत्नमा छन् तर त्यो सम्भावना नदेखेपछि उनीहरु हत्या वा आजीवन जेलमा सडाउने षड्यन्त्रमा तल्लिन भएको सहजै देख्न र बुझ्न सकिन्छ । विप्लव, प्रकाण्ड, कञ्चन र सुदर्शनको एउटा सामुहिक नेतृत्वबाट नेपाली क्रान्ति अगाडि बढिरहेको छ ।
फासीवादलाई पछार्ने प्रतिरोधको अपेक्षा
निश्चितै रुपमा प्रतिबन्ध पछि आजका दिनसम्म क्रान्तिकारी शक्ति बढी रक्षात्मक र कम आक्रामक देखिएको छ । सरकार आक्रामक ढंगले अगाडि बढेको छ र उसले आपूmलाई सफल भएको निष्कर्ष निकालिरहेको छ । आमजनताले सरकारको विरुद्ध अलि ठूलै प्रतिरोधको अपेक्षा गरेका छन् । जनताले फासीवादी नाङ्गो नाच देख्न चाहेका छैनन् । सरकारले देशलाई फेरि पनि दीर्घकालीन जनयुद्धमा धकेल्न चाहेको छ भने विद्रोही शक्ति एकीकृत जनक्रान्तिको आधारहरु विकास गर्नमा लागिपरेको छ । राजनीतिक र वैचारिक रुपमा फासीवाद परास्त भएको छ भने सैन्य रुपमा मात्र ऊ टिकेको छ । आज ओली र दाहालको सत्ता यतिविघ्न अलोकप्रिय भएको छ कि यो आफैं विघटनको संघारमा पुगेको छ । सरकारका वाक्कदिक्क भएका छन । जनताको छिटोभन्दा छिटो यी भ्रष्ट नेताहरुलाई जेल हाल्ने शक्तिको खोजीमा भौतारिएका छन् । पहिलो कुरा जनताले क्रान्ति चाहन्छन् । पहिलो चाहना पूरा नभए जनता निराशा र प्रतिशोधको बाटोतिर जान्छन् त्यसले अर्को वैकल्पिक शक्तिको हारगुहार गर्छन् ।
सारमा भन्दा जतिसुकै उफ्रिए पनि फासीवाद सफल हुन सक्दैन । फासीवादको अन्त्य वा पराजय अनिवार्य छ । जनताले यसको शीघ्र अन्त्य चाहेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग फासीवादलाई पछार्ने अभिभारा इतिहासले सुम्पिएको छ । अतः इतिहासको यो महत्वपूर्ण जिम्मेवारीलाई पूरा गर्नु विप्लवको दायित्वभित्र पर्दछ । एउटा सशक्त क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण गर्नु उसको मुख्य चुनौति बनेको छ । मित्र र दुश्मनको सही पहिचान र विश्लेषणबाट मात्र यो सम्भव छ । आफैंभित्रका खराबीहरुसँग लड्नु र शुद्धिकरण गर्नु अझै चुनौतिपूर्ण कार्य हुनसक्छ । आन्तरिक शुद्धीकरण र निर्माणमा सही अनि परिपक्व निर्णयले पार्टीलाई अगाडि बढाउँछ भने गलत निर्णयले विघटन निम्त्याउँछ । आन्तरिक गडबडीबाट मुक्त भएमा विप्लव नेतृत्वको पार्टीलाई अरु कुनै शक्तिले पराजित गर्न सक्दैन । अतः वर्तमान फासीवादी सत्तालाई पछार्नु बाहेक अरु विकल्प छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु