दुई तिहाई फासिवादका लागि ? – विष्णु पन्त

२०७५ जेष्ठ २७ गते, आईतवार

वर्तमान केपी आलीको सरकार उपेन्द्र यादवको संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराई सकेपछि दुई तिहाई वहुमत प्राप्त बलियो सरकारको रुपमा सर्वत्र व्याख्या गरिएको छ । इतिहासकै बलियो भनिएको सरकारले केही त प्रगतिशील सुधार कार्यक्रम ल्याउने छ भन्ने आमअपेक्षाको ठीक उल्टो कदम चालेको छ । सरकारको बजेट इतिहासमै सबैभन्दा बढी अलोकप्रिय र आलोचित बन्दै छ । कम्तीमा यो सरकारले जनतालाई राहत दिने केही लोकप्रिय कार्यक्रमको घोषणा गर्ने छ भन्ने आमजनताको अपेक्षालाई तुषारापात गरेको छ । बजेटले राहत होइन आहत दिएको छ । जथाभावी करबृद्धि र महँगीले जनतालाई वाक्कदिक्क बनाएको छ । यसले आमजनतालाई ढाड सेक्दै केही मुठ्ठीभर दलालहरुलाई संरक्षण गरेको छ । राष्ट्रिय पुँजीपति वर्गलाई पूर्णरुपले विस्थापित गर्दैै दलाल पुँजीपति वर्गलाई स्वर्ग बनाइदिएको छ । बजेटले सरकारको समृद्धि र विकासको नारालाई नङ्गाई दिएको छ । सरकारले बजेट मार्फत पुँजीवाद उन्मुख कार्यक्रम पनि ल्याउन सकेन, समाजवाद त धेरै टाढाको कुरा । कृषि प्रधान देशमा कृषिमा मात्र ३ प्रतिशत बजेट छुट्टाएर सरकारले आफ्नो चरित्र प्रष्ट पारेको छ । उत्पादन बढाउने सरकारको कुनै योजना देखिएन । शिक्षामा त्यस्तै निराशा उत्पन्न गराइयो । राष्ट्रिय उद्योग कलकारखानाको निर्माण गर्ने कुनै योजना देखिएन । समग्रमा भन्दा बजेट राष्ट्रिय पुँजीको निर्माण गर्नेतर्फ हैन खाली दलालहरुलाई बाँड्नेतर्फ केन्द्रित भएको छ । सरकारको यस्तै रवैया कायम रहने हो भने आगामी दिनमा जनताले बजेट अर्थात महँगी आउला कि भन्ने चिन्ता लिनुपर्ने र विरोध गर्नुपर्ने हुन सक्छ । यो बजेटबाट निम्नमध्यम र मध्यम वर्ग कोही पनि खुसी हुन सकेन ।
यसबाट के प्रष्ट हुन्छ भने सरकार दुई तिहाईको उन्मादबाट ग्रष्त भएको छ र उसले जथाभावी डण्डा चलाउने अभियान चलाउँदै छ । उसले सबैतिर अन्धाधुन्ध छ र जथाभावी प्रहार गर्दै छ । सरकारको पहलकदमी त एउटा स्वच्छ विधि र पद्धतिको निर्माण गर्नेमा हुनुपर्ने तर उल्टो भएको छ । सुनकाण्ड अन्त्यमा हात्ती आयो फुस्सा भएको छ ः लहरो तान्दा पहरो आफैँतर्फ गयो । सिन्डिकेट तोड्ने कुरा त्यसै अलपत्र प¥यो । काम नगर्ने ठेकेदारलाई अनि ठगी गर्ने मेनपावर व्यवसायीलाई जेल हाल्ने कुरा हावा गफमा परिणत भए । पुराना गाडीको धुँवा नापेर केही नीतिगत परिवर्तन भयो त ? मूल्यबृद्धिलाई रोक्ने कुनै कदम चालियो त ? बजार अनुगमनको खोक्रो अभ्यासबाट एउटा पनि कारबाही भयो त ? किनकि यी सब सस्तो लोकप्रियता र पाखण्डी प्रदर्शनका लागि मात्र गरिएका थिए । मन्त्रीहरुका कदम आफैँमा अराजक थिए । थोरै विरोध हुनासाथ जेल हाल्ने, गिरफ्तार गर्ने र धरपकड गर्ने, चेतावनी दिने मन्त्रीहरुको मनोविज्ञान बडो विचित्रको छ । सरकारका मन्त्रीहरुमा के घमण्ड छ भने दुई तिहाई बहुमत छ र हामीलाई जे गरे पनि छुट छ ।
हामीलाई प्रष्टै थियो कि माके एमाले एकतापछि सरकारसँग सुविधाजनक बहुमत थियो र सरकारलाई संसदभित्र कसैले औंला ठड्याउन सक्दैन्थ्यो । तर उ दुई तिहाईको ध्याउन्नमा लाग्यो र अन्त्यमा उपेन्द्र यादवलाई ल्याएपछि त्यो पनि पूरा भयो । तर, पनि यो दुई तिहाई केका लागि हो भन्ने प्रश्नको उत्तर कसैसँग छैन । भनिएको छ, संविधान संशोधनका लागि हो । के संशोधनका लागि हो भन्ने सवालको जवाफ कसैसँग छैन । के नेपालमा समाजवाद ल्याउनका लागि हो त संविधान संशोधन ? त्यो कसैले कल्पना पनि गरेका छैन । कतै भनिएको छ, कार्यकारी राष्ट्रपतिको व्यवस्थाको लागि हो, तर त्यो पनि सहज देखिंदैन । आखिर केका लागि हो त दुई तिहाई मत ? यसो हेर्दा दुई तिहाईको काम केवल एउटै उद्देश्यमा केन्द्रित छ, त्यो के हो काँग्रेसलाई तर्साउन । तर, उ पनि त्यति धेरै तर्सिएको देखिँदैन । अर्को काम हो– अदालत, सरकारी आयोग र सुरक्षा निकायलाई थर्काउन । त्यो पनि थर्किए वा पत्याए न थर्काउने हो । कसैले पत्याउने अवस्था देखिँदैन ।
हामीलाई प्रष्टै छ कि यो केवल आत्मरत्तीका लागि हो । त्यसैले गर्न सक्ने अरु केही पनि छैन । हो, प्रधानमन्त्री केपी ओली सिजिन पिङ्ग बन्न चाहन्छन् अर्थात् उनी शक्तिशाली प्रधानमन्त्री हुँ भन्ने देखाउन चाहन्छन् । बरु पहिलो कार्यकालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग र मधेशवादी दलसँग केही अडान त लिन सकेका थिए, जतिबेला उनीसँग सामान्य बहुमत पनि थिएन । हुन त त्यो इतिहास पनि एउटा ग्राण्ड डिजाईन र भ्रम मात्र रहेछ भन्ने कुुरा अहिले आएर पुष्टि भयो । अहिले त त्यसको ठिक उल्टो मात्र भयो । त्यसकारण यही कुरा सही हो कि दुई तिहाईले गर्न सक्ने केही पनि छैन । बरु, गठबन्धनको बोझलाई कहिलेसम्म थेग्न सक्ने होला भन्ने प्रश्न उठिरहेको छ । क्षमताभन्दा बढी यात्रु बोकेर हिंड्ने यात्रुबाहक बस कहाँ पुगेर दुर्घटना हुने होला भन्ने प्रश्नले हामीलाई झस्काएको छ । मापदण्ड विपरितका पुराना थोत्रा गाडी धुँवा फाल्दै सडकमा गुडाएर यो गाईजात्रा देखाउनभन्दा बरु नदेखाएकै राम्रो हुन्थ्यो । यो अखाद्य पदार्थ वा मिसावटको रोगले गाँजिएको सरकारी गोदाम कहाँ पुगेर ढल्ने वा मुसाले लाने हो भन्ने भयबाट यो ग्रसित बनेको छ ।
तर पनि हामी कहाँ प्रष्ट छौं भने दुई तिहाईको मक्सद छुट्टै छ, त्यो के हो भने क्रान्तिकारी शक्तिहरु माथिको दमन । सरकारले प्रष्टै के भनेको छ भने उसका लागि थ्रेट त्यो पनि ज्यादै ठूलो थ्रेट भनेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छ । उसको संसदीय दुई तिहाईसँग क्रान्तिकारी शक्तिका लागि के लेनादेना छ र ? तर, सरकार दमनमा उत्रिन चाहन्छ । उ नेकपाका नेता कार्यकर्तामाथि धरपकड र गिरफ्तार गर्न चाहन्छ । ऊ नेपाल कम्युनिष्ट पार्टीलाई आतंककारी वा राजद्रोही शक्तिका रुपमा परिभाषित गर्न चाहन्छ । ऊ मुलुकलाई फेरि पनि दीर्घकालिन जनयुद्ध वा गृहयुद्धमा धकेल्न चाहन्छ । उ सर्वत्र नोकरशाही र तानाशाही शासन लाद्न चाहन्छ ।
वर्तमान केपी ओलीको सरकार क्रान्तिकारी र राष्ट्रवादी दुवै शक्तिलाई एकैसाथ खरानी बनाउन चाहन्छ । उसले कतै यो शक्तिलाई सिके राउतसँग दाँज्न खोजेको छ त कतै पृथकतावादी आन्दोलनसँग । तर, सत्ताधारीहरुले भन्दैमा नेपाली जनता पत्याउने अवस्थामा छैनन् । सरकार पूरै जनतामा अलोकप्रिय र आलोचित बन्दै गइरहेका छ । सरकारमा हुनेहरुको अनुहारमा कालोमोसो लत्पतिएको छ । भ्रष्टाचार, कालोबजारी, तस्करी, घुसखोरी अनि चोरी डकैती र लुटपाटबाट संसदवादीहरु पतीत र घृणित भएका छन् । सबैतिर दलालहरुको घेराबन्दीमा सरकार रुमल्लिएको छ । सत्ता नै दलाल भएपछि यसको सबै क्षेत्र तहसनहस हुँदोरहेछ । आर्थिक आधार र राज्यको उपरिसंरचनालाई पुरानै यथावत कायम गरेर प्रगतिशील सुधार पनि असम्भव छ भन्ने कुरा सरकारको यस पटकको बजेटबाट पनि पुष्टि भइसकेको छ । थोत्रो र जीर्ण घरभित्र पस्ने जुनसुकै शक्तिको हालत एउटै हुन्छ । प्रचण्ड र केपी ओली जाँदैमा त्यसले सिन्को जति पनि परिवर्तन गर्न सक्ने छैन । यस पटक त उनीहरुसँग दुई तिहाई छ भनिएको छ तर दुई तिहाईले कुनै एउटा सानो परिवर्तन पनि गर्न सक्यो त ?
संसदको दुई तिहाईले गर्न सक्ने एउटै मात्र काम छ, त्यो हो राज्य सत्ताको व्यापक दुरुपयोग । सरकारले अर्थतन्त्रको पूरै दुरुपयोग गरेको छ, सुरक्षा संयन्त्रको व्यापक दुरुपयोग गरेको छ अनि कर्मचारीतन्त्रको दुरुपयोग गरेको छ । त्यसकारण पैसा, सेना, प्रहरी र कर्मचारीको दुरुपयोग गरी फासीवादलाई लाद्नका लागि यो दुई तिहाईले काम गर्ने छ । विकास र समृद्धिको नाममा सुकुम्बासी माथि डोजर लगाउने सरकारी रणनीति हाँसो लाग्दो छ । मजदुर, किसानको लागि राहत दिने सरकारको नीति नै छैन । मजदुर र किसानलाई त दलालहरुले नागरिकसरह पनि व्यवहार गर्न सक्दैनन् ।
समग्रमा भन्दा दलाल संसदीय व्यवस्था भित्र जोसुकै छिरे पनि त्यहाँ भित्र फल्ने पुरानै चीज हो । धेरै–धेरै शक्तिहरु पटक–पटक पसे र जनतालाई आश्वासनका पोकाहरु बाँडे । सुधारका लागि भन्दै थुप्रै आन्दोलनहरु पनि भए विकास र समृद्धिको नाममा धेरै सम्बोधनहरु भए तर सुधारको कुनै एउटा उदाहरण पनि हामीसँग छैन । त्यसकारण संसदीय व्यवस्था केवल विकास र समृद्धिका भाषणका लागि मात्र योग्य छ । केपी ओली र प्रचण्डका सस्ता भाषण र विकास गफका लागि यो व्यवस्था ठिक छ । हुन पनि सबैले गर्ने एउटै र पुरानै भाषण हुन्छ । भाषण पनि सधैँभरि एउटै । शिक्षकले प्रत्येक वर्ष पाठ दोहो¥याए जस्तै विकासका भाषण दोहो¥याएर केही हुनेवाला छैन । त्यसमा पनि हाम्रा वर्तमान प्रधानमन्त्री केपी ओली उखान टुक्का थपेर अली रोमाञ्चित गराउन सफल छन् । अतः वर्तमान सन्दर्भमा सरकारको मुख्य एजेण्डा भनेको विकास र समृद्धिको नारा लगाएर आफ्नो नोकरशाहीतन्त्र वा तानाशाही व्यवस्था विकास गर्ने छ । उसले राज्यको सबैभन्दा ठूलो चुनौतिका रुपमा लिएको नेपाल कम्युनिष्ट पार्टी माथि बर्बर दमनको बाटो लिएको छ । नेता, कार्यकर्तालाई जथाभावी गिरफ्तार गर्ने, थुनामा राख्ने, यातना दिने र दमन गर्ने नीति लिएको छ । यहाँसम्म कि अदालतले निर्दोष सावित गरेका व्यक्तिलाई फेरि अदालत परिसरबाटै गिरफ्तार गर्ने त्यो पनि पटक–पटक दोहो¥याई रहनेसम्मका हर्कत गरिरहेका छन् । समग्रमा सरकार क्रान्तिकारी शक्तिलाई युद्धमा धकेल्ने, हतियार बोक्न बाध्य गराउने रणनीतिमा लागेको छ । उसले आफ्नो फाँसीवादी चरित्रलाई सबैका सामु पटाक्षेप गर्दै छ । योभन्दा पनि बढी गर्नसक्ने यो सरकारसँग कुनै क्षमता छ र ?

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु