क्रिकेटर लामिछानेमाथिको निलम्बन फुकुवा

२०७९ माघ १८ गते, बुधबार


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथि निलम्बन फुकुवा गरेको छ । बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर लामिछानेको निलम्बन फुकुवा भएको हो । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरिएको थियो । २० असोजमा पक्राउ गरेका उनलाई उच्च अदालत, पाटनले उनलाई २८ कात्तिकमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएको थियो ।
यस्तै, नेपाल क्रिकेट सङ्घ (क्यान)का सात जना केन्द्रीय सदस्यले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका छन् । पोखरामा आजदेखि क्यानको बैठक सुरु भएकामा असन्तुष्ट पक्षले कार्यसम्पादन समितिको राजीनामा माग्दै बैठक बहिष्कार गरेका हुन् । केही सदस्यले बैठक बहिष्कार गरेपछि साँझ मात्र क्यान बैठक सुरु भएको छ । बहिष्कार गरेका सदस्यले कार्यसम्पादन समितिको राजीनामाको माग गर्दै क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । असन्तुष्ट पक्षले आज साँझ पत्रकार सम्मेलन आयोजना गरी नेपाल क्रिकेट सङ्घ र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सबीच भएको सम्झौतापश्चात् नेपाली टी–२० लिगमा भएका विभिन्न अवाञ्छित गतिविधिबाट नेपाली क्रिकेटको बदनाम भएको दाबी गरिएको छ ।
पत्रकार सम्मेलनमा क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतमले टी–२० लिगलगायतका विषयमा कार्यसम्पादन समितिको बैठकबाट नै सम्पूर्ण निर्णय गरी बोर्डलाई जानकारी नगराइएको र क्यानको बदनाम भई सङ्घ दुर्घटनाको सङ्घारमा पुगेकाले कार्यसम्पादन समिति र गभर्निङ सदस्य जिम्मेवार रहेकाले राजीनामा माग गरी बोर्ड बैठक बहिष्कार गरेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु