उसु प्रतियोगितामा नेपाललाई २ कास्य पदक

२०८१ बैशाख १३ गते, बिहीबार


काठमाडौँ । अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा चीनमा जारी अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ कास्य पदक जितेको छ । उक्त प्रतियोगितामा नेपालका लुमन्ती श्रेष्ठ र किरण सिंह साउदले कास्य हात पारेका हुन् ।
लुमन्तीले महिला ६५ केजी र किरणले ९० केजी तौल समूहमा कास्य पदक जितेको चीनबाट उसु प्रशिक्षक निकेश श्रेष्ठले जानकारी दिए । दुवै टर्कीका खेलाडीसँग सेमिफाइनलमा पराजित भएका थिए ।
यसैगरी सान्सौँ विधाको महिलातर्फ ५६ केजीमा विद्या गुरुङ र पुरुषतर्फ ८० केजीमा सञ्जीव महर्जनले फाइनलमा स्थान बनाएका छन् । विद्याले बंगलादेशी खेलाडी मोष्ट शिखा खातुनलाई सेमिफाइनलमा ११–३, ७–३, १२–१, १०–५ र ४–१ ले हराईन् । अब उनले स्वर्ण पदकका लागि टर्कीकी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन् ।
यसैगरी सेनेगलका खेलाडीलाई हराएर फाइनलमा पुगेका संजिवले स्वर्ण पदकका लागि इरानी खेलाडीको सामना गर्नुपर्ने भएको छ । फाइनलमा पुगेका सञ्जीव र विद्याले आगामी नोभेम्बरमा हुने उसुको सान्सौँ विश्वकपमा छनोट भएका छन्। यो प्रतियोगिताबाट उत्कृष्ट नतिजा ल्याउने खेलाडीले आगामी अक्टोबरमा जापान र नोभेम्बरमा अष्ट्रेलियामा हुने उसुको विश्वकप प्रतियोगितामा छनोट हुन पाउने छन्। जापानमा थाउलो विश्वकप र अस्ट्रेलियामा सान्सौँ विश्वकप हुनेछ।

प्रतिक्रियाहरु