‘दलालसत्ता र राज्य प्रणाली विरुद्ध युवाहरुले आत्मदाह होइन विद्रोहको आँट गर्नुपर्छ’

२०७९ माघ १२ गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले नेपालका युवाहरुले आत्मदाह जस्तो गलत बाटो जान नहुने भन्दै दलालसत्ता र राज्य प्रणाली विरुद्ध विद्रोहको आँट गर्न आग्रह गरेका छन् । महासचिव विप्लवले मंगलबार आत्मदाहको प्रयास गरेका र उपचारका क्रममा निधन भएका इलामका प्रेम प्रसाद आर्चायको दुखद घटनाबारे बुधबार एक भिडियो सन्देश सार्वजनिक गर्दै नेपालको दलाल सत्ता र प्रणालीको निगम पूँजीवाद र एकाधिकार पूँजीवादका कारण प्रेम प्रसाद जस्ताको घटना घटेको भन्दै यस विरुद्ध विद्रोह गर्न अपिल गरेका हुन् ।
महासचिव विप्लवले प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले आफ्नो पार्टीलाई अत्यन्त स्तब्ध बनाएको भन्दै यो घटना प्रेम प्रसादको घटना मात्र नभई सिंगो नेपालीले भोग्नु परेको घटना भएको बताए । उनले भने,“हाम्रो देशको नियति हो, घटनामा प्रेम प्रसाद आएपनि हिमाल, पहाड,तराईमा दृश्य र अदृश्य रुपमा सयौ व्यवसायी नागरिकहरुले यस्तो स्थिति भाग्नु परेको छ ,हामी दु:खी छौँ,यो प्रेम प्रसादको कुरा मात्र होइन अर्थतन्त्र, शासन प्रणाली र राज्यको नीति जिम्मेवार छ ।”
महासचिव विप्लवले संसद भवन नयाँ बानेश्वर अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गर्नु भएका र बुधबार विहान उपचारको क्रममा ज्यान गएका प्रेम प्रसादको घटना दर्दनाक र पीडादायिक भएको भन्दै उहाँको निधनमा पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्ली व्यक्त गर्दै पीडित घरपरिवारमा गहिरो समवेदना व्यक्त गरेका छन ।
महासचिव विप्लवले प्रेमप्रसादको घरपरिवारलाई तत्काल राहत स्वरुप नेकपाको तर्फवाट रु २५ हजार आर्थिक सहयोग गर्ने बताउदै दलाल पूँजीवादी सत्ताको अत्याचारप्रति आत्मसमपर्ण र विघटनको बाटो नलिन बाटो युवा तथा नागरिकहरुलाई विद्रोह गर्न आग्रह गरेका छन ।
महासचिव विप्लवले नेपालका एक डेढ सय जनाको हातमा नेपालको सम्पत्ति जाने अवस्था यो दलाल सत्ता र प्रणालीका कारण भएको औल्याउदै लाखौ युवाहरुले यो सत्ताको शोषण र अत्याचार सहनु परिरहेको वेला विद्रोह गर्नुको विकल्प नभएको ठोकुवा गर्दै दलाल पूँजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवादको बाटो भएको भन्दै हजारौं नागरिकको जीवन समाप्त पार्ने दलाल पूँजीवादका विरुद्ध वैज्ञानिक समाजवादको बाटो खोज्न विशेष अपिल गरेका छन ।
महासचिव विप्लवले राज्यले गम्भीरतापूर्वक देशका युवा व्यवसायीहरुको समस्यालाई सम्वोधन गर्न नसक्दा दुखद घटना हुन पुगेको औल्याउदै चीनले ३,अमेरिकाले ४, युरोपियन युनियनका देशहरुले १ प्रतिशत व्याज दरमा ऋण लगानी गरिरहेको परिपेक्षमा नेपालमा भने १८ प्रतिशतको चर्को व्याज दरमा ऋण लगानी भइरहेकोमा चिन्ता व्यक्त गरेका छन । उनले आफ्नो पार्टीले पाँच छ प्रतिशतले सहुतिलय ऋण नेपाली युवा व्यवसायीहरुले पाउनु पर्ने कुरा उठाएको बताउदै ,चक्रिय व्याजदरले आज तराई,हिमाल पहाडमा बैङ्क तथा लघुवित्तीय संस्थाहरुले नेपाली युवा व्यवसायीहरुलाई लुटिरहेको ठोकुवा गरेका छन । महासचिव विप्लवले यस्तो अवस्थामा देशका सवै नागरिकहरु विकल्पको व्यवस्था र बाटोमा लाग्नु पर्ने बताएका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु