प्रेमप्रसादको नाउँमा

खोमा तरामु मगर २०७९ माघ ११ गते, बुधबार


पुँजीवाद हिंस्रक जनावर हो
जसले मान्छेलाई जिउँदै पोलेर खान्छ
पुँजीवाद बधशाला हो
जसले मान्छेको जिउँदै
व्यापार गर्छ र मुनाफा कमाउँछ
पुँजीवाद संगठित ग्याङ् हो
जसले मान्छेको जीवनलिला निमोठ्न
अक्षम्य अपराध गर्छ
प्रेमप्रसाद ! के तिमीलाई थाहा छ ?
तिम्रो हत्यारा को हो ?
तिम्रो शरिरभरि आगो लगाउने को हो ?
तिम्रो जिजिबिषा बध गर्ने मालिक को हो ?
तिम्रो जीवनको शिकार गर्ने नरभक्षी को हो ?
प्रेमप्रसाद ! तिमीले बुझिराख–
तिम्रो हत्यारोहरु
गणतन्त्रको तक्मा लगाएर
भर्खरै सिंहरदरबार पसेको छ
तिमीलाई किस्ता–किस्तामा
लिलाम विक्री गरि आगो झोस्ने मालिकहरु
ब्रिफकेस बोकेर संसदभवन
वरिपरी डुलिरहेको छ
तिमीले नै पठायौ बाकसमा भोट हालेर
र अभिसप्त भयौं सिंहदरवार गेटमा जल्न
त्यसैले बुझिराख–
पुँजीवाद घिनलाग्दो सिनो हो
पुँजीवाद आत्महत्याको कारखाना हो
पुँजीवाद रक्तपिपासुहरुको बजार हो
पुँजीवाद नाफाखोरहरुको हातबजार हो
ओ, विवेकी युवाहरु !
मुर्दा शान्तिको चिहानमा उभिएर
शोकको विलाप नगर
दलाल पुँजीवादको बर्वर पाशविकता विरुद्व
निर्भीक र निर्बन्ध विद्रोह गर्ने आँट गर ।

(दिवंगत प्रेमप्रसादप्रति विशेष स्मरण एवं श्रद्धासुमन !)

प्रतिक्रियाहरु