नेकपाले ‘नवौं पार्टी पुनर्गठन दिवस’ भव्यताका साथ मनाउने

२०७९ मंसिर ६ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ‘नवौं पार्टी पुनर्गठन दिवस’ भव्यतापूर्वक मनाउने जनाएको छ । उक्त पार्टीले मङ्सिर ८ गते ‘नवौं पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाऔ , एकीकृत जनक्रान्तिको दिशामा अघि बढौ ‘ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा मनाउने बताएको छ। २०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा (एकीकृत माओवादी) बाट विद्रोह गरी मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा–माओवादी गठन भएको दुई वर्षसम्म क्रान्तिको नयाँ कार्यदिशा तय हुन नसकेपछि २०७१ साल मङ्सिर ८ गते विप्लवको नेतृत्वमा नेकपा पुनर्गठन भएको दिनलाई नेकपाले पार्टी पुनर्गठन दिवसका रूपमा मनाउँदै आएको छ । केपी ओली–पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछिका दुई वर्ष नेकपाले प्रतिबन्धित अवस्थामै पार्टी पुनर्गठन दिवस मनाएको थियो ।
जनयुद्ध सञ्चालन भइरहेको समयमा २०५८ साल मङ्सिर ८ गते जनमुक्ति सेना घोषणा गरी तत्कालीन शाहीसेनाका कयौँ क्याम्पहरूमा हमला गरेर विजय प्राप्त गरेको दिन पनि भएकाले यो दिन नेपालको राजनीतिक आन्दोलनको इतिहासमा स्मरणीय र ऊर्जाशील छ । अझै नेपालका क्रान्तिकारी र मालेमावादी राजनीतिक पार्टीहरूका लागि त यो दिन विशेष पर्वको दिन बनेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु