अब एकता हुन्छ रे ।

ताराबहादुर बुढाथोकी २०७९ भाद्र १४ गते, मंगलवार

ऊ यता आउँछ रे,

यो उता जान्छ रे ।

उता सभापति पाउँछ रे,

यता महासचिव खान्छ रे ।

फलानाको भाषणले

मोहोनी लाउँछ रे,

तिलानाको गितले

जनताको मन तान्छ रे ।

गाँठो बन्धनले उत्तानो पार्छ रे,

त्यसैले अब एकता हुन्छ रे ।

चुनावमा फलानाले दोब्बर झार्छ ।

फलानाको गोबर झार्छ रे ।

अब चुनाव आउँदैछ ।

–––––––––

जितेको बेला

एकार्काको छाला काड्नेहरु,

एकार्काका छातीमा कुहिना र

घुँडा गाड्नेहरु ।

मौका पर्दा भदौमा तोरी खोज्नेहरु !

लाससँग पनि जोरी खोज्नेहरु !

पखाल्न .सम्म पखालेर

साबुनको झोल छोड्नेहरु

ब्वाँसाको दाँत गाडेर

भेडाका छालाको खोल ओड्नेहरु !

सौताको रिसले आफ्नो घर जलाउनेहरु,

तिखो नक्सा बाहिर देखाएर,

लोकतन्त्रका पिल्लर ढलाउनेहरु ।

एउटा हिँडेको बाटो गन्हाउनेहरु,

चिता बनाउने र चिहान खनाउनेहरु !

अब एकता गर्छ अरे,

उनीहरुले भनेको पत्याउनै पर्छ अरे ।

––––––––––

गोहीहरु छेपारासँग मिले,

छुचुन्द्राहरु गन्ध दलेर बिरालासँग मिले ।

सत्ता रत्यौलीको राँगो भयो,

प्रतिपक्ष कात्तिकको डाँगो भयो ।

कुकुर भुक्तैछ, पिना सुक्दैछ ।

बिजुली चम्किँदैछ हात्ती लम्किँदैछ ।

एमसीसी पास हुन्छ, प्रतिपक्ष ट्वाँ पर्छ ।

नागरिकता बिधेयक आउँछ,

प्रतिपक्षी ग्वाँग्वाँ गर्छ ।

मुसो तार खान्छ, धपाउँछ, बाहिर जान्छ,

भित्र आउँछ र सत्ता समाउँछ ।

प्रतिपक्षी ह्वाँह्वाँ रुन्छ ।

बिरोध हुन्छ, आगो बल्छ फेरि सामसुम हुन्छ ।

आरोप लाग्छ, च्युत हुन्छ, फेरि थामथुम हुन्छ ।

मु…हरुले न देशको स्वाभिमान बचाए,

न ऐन, कानून र संविधान बचाए ।

फेरि एकता गर्ने रे,

देशको मुहार फेर्ने रे !

जनताले पत्याइदिनु पर्ने रे ।

––––––––––

सक्छौ भने

प्रदेश खारेज गर्छु भनेर आउ,

होलिवाइन खानु भन्दा बरु मर्छु भनेर आऊ,

धर्मको रक्षा गर्छु भन,

स्वास्थ्य र शिक्षा राज्यले जिम्मा लिन्छु भन,

नबिकेको साग सरकारले किन्छु भन ।

भ्रष्टाचारीलाई बाँधेर लडाउँछु भन,

रोजगारीलाई बढाउँछु भन ।

स्कुलमा किताब लान्छु भन,

खेतमा मल लान्छु भन,

प्रत्यक्ष कार्यकारी बनाउछु भन,

पारदर्शी कर्मचारी बनाउँछु भन ।

समानुपातिक हटाइदेऊ,

टट्टुलाई रिकलबाट घर पठाइदेऊ ।

यति गर्न सक्ने भए आउँदा भो,

डोकोजत्रो मुख बाउँदा भो ।

नत्र देश लुट्न र हाम्रो दिमाग भुट्न,

जुटेर आऊ कि फुटेर आऊ !

उठेर आउ कि कट्टु …तेर आऊ ।

तिमी मु….हरुले केही गर्न पनि सक्दैनौ,

देश त अधमरो पार्छौ पार्छौ,

आपूm पनि स्वाभिमान बाँच्न सक्दैनौ,

खुट्टा तानेर मर्न पनि सक्दैनौ ।

भुत्राको एकता–भुत्राको गाँठबन्धन ?

प्रतिक्रियाहरु