महाकवि देवकोटाको ११३औँ जन्म दिवस मनाइँदै

२०७८ कार्तिक १८ गते, बिहीबार


काठमाडौं । आज कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म दिवस । आज महाकवि देवकोटाको ११३औँ जन्म दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो भने निधन २०१६ साल भदौ २९ गते भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। ‘मुनमदन’ देवकोटाको सबैभन्दा चर्चित कृति हो ।
देवकोटाको जन्म दिवसको अवसरमा आज काठमाडौंको डिल्लीबजारमा रहेको देवकोटाका सालिकमा माल्यार्पण गरि विविध साहित्यिक कार्यक्रम गरिँदैछ । देवकोटाको न्वारानको नाउँ तीर्थमाधव भएपनि लक्ष्मीपूजाका दिन जन्मिएका कारण नाम लक्ष्मीप्रसाद राखिएको थियो।
नेपालीसाहित्य आकासका विराट र बहुप्रतिभाका धनी देवकोटाका धुरन्धर रचनाहरुका कारण नेपालीसाहित्य परिधिमा उनलाई महाकवि भनेर चिनिन्छ। पिता तीलमाधव र माता अमरराज्यलक्ष्मी देवीका साँईला छोराका रुपमालक्ष्मीप्रसाद देवकोटाको जन्म भएको थियो।
देवकोटाले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका छन् ।
देवकोटाले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन्। यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । देवकोटालाई नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तकको रुपमासमेत चिनिन्छ। उनका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ। देवकोटाका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरेका थिए । चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु देवकोटाको साहित्यिक विशेषता हो ।

प्रतिक्रियाहरु