नेकपा र सरकारबीच ३ बुँदे सहमतिलाई मुर्तरुप दिन गृहकार्य सुरु

२०७८ कार्तिक २ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच ३ वुंदे सहमतिलाई मुर्तरुप दिन गृहकार्य सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच ३ वुंदे सहमतिलाई मुर्तरुप दिन आज भएको छलफलमा नेपाल कम्युनिस्ट पार्टीको तर्फवाट प्रवक्ता प्रकाण्ड र सरकारको तर्फवाट गृहमन्त्री बालकृष्ण खाॅड, गृह मन्त्रालयका सचिब , कानुन मन्त्रालयका सचिब र महान्याधिवक्तालगायत सहभागी भएका थिए । गत आश्विन २३ गते नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाॅडबीच ३ वुंदे सहमति यथाशिघ्र छिटो कार्यान्वयन गर्ने सहमति भए बमोजिम आज थप छलफल भएको बताइएको छ।
आजको छलफलमा सरकारले अहिलेसम्म ३ बुंदे सहमति कार्यान्वयनका बिषयमा हालसम्म गरेका कार्यहरु, बन्दी रिहा र मुद्दा खारेजका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी , आजको छलफलमा नेकपाका बन्दी नेता – कार्यकर्ताको रिहाइ र मुद्दा खारेजको लागि महान्याधिवक्ता कार्यालयमार्फत देशभरका अदालतमा नेकपाका नेता – कार्यकर्तामाथि लगाइएको मुद्दाको रेकर्ड झिकाउने र गृह मन्त्रालयमार्फत देशभरका जिल्ला प्रशासन कार्यालयमा रहेका मुद्दाहरुको बिबरण झिकाउने सहमति भएको छ भने नेपाल कम्युनिष्ट पार्टीले पनि देशभर जेल र हिरासतमा रहेका आफ्ना नेता – कार्यकर्ताहरुको बिबरण लगायत देशभर नेकपाका नेता- कार्यकर्तामाथि लगाइएको बिबरण संकलन गर्ने र यथाशिघ्र अर्को बैठक बसी ३ बुंदे सहमति कार्यान्वयनलाई मुर्तरुप दिने सहमति भएको बताइएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु