नेकपाद्वारा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र : तीन बुंदे सहमति तत्काल कार्यान्वन गर्न माग

२०७८ आश्विन १८ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउदै तीन बुंदे सहमति तत्काल कार्यान्वन गर्न माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउदै सो माग गरेका हुन्।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको हस्ताक्षरमा बुझाइएको सो ज्ञापन पत्रमा नेकपाले तीन वुँदे सहमतिप्रति पुर्ण प्रतिवद्धता सहित अक्षरसः लागु गरिराखेको छ र गर्ने छ भन्दै आशंका, अविश्वास, मनोवैज्ञानिक दवाव र ढिलासुस्तीको कुनै गुन्जायस नरहेको उल्लेख गरिएको छ । ज्ञापन पत्रमा भनिएको छ – “यो राष्ट्रिय राजनीतिक मुद्धा हो । यसर्थ विषयको गम्भिरता र संवेदनशिलतालाई दृष्टिगत गरी वन्दी रिहा र मुद्धा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटो भन्दा छिटो निरुपणको अपेक्षा गर्दछौ। “


नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ज्ञापन पत्र यस प्रकार रहेको छ –
” सम्माननीय प्रधानमन्त्री शेर वहादुर देउवा ज्यु,
नेपाल सरकार, मन्त्रीपरिषद्को कार्यालय
सिँहदरवार , काठमाण्डौँ, नेपाल ।
विषयः– तीन वुँदे सहमति कार्यन्वयन सम्वन्धी ज्ञापन पत्र ।
प्रधानमन्त्री ज्यु,
आजको तीन दिनपछि असोज २१ गते केपी ओली नेतृत्वको नेपाल सरकार र हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीवीच वार्ता भै तीन वुँदे सहमति भएको ६ महिना पुग्दैछ । आफ्नै सरकारले गरेको सहमतिको ५ महिना समय वेतीत हुँदासम्म लागु नगरी ओली सरकार विगठन भयो । यो राष्ट्रिय राजनीति, नेपालको राजनीतिक आन्दोलन र नेपाली जनताको निम्ति धोका जस्तो विडम्वनापुर्ण कुरा हो । वार्ता र तीन वुँदे सहमतिले राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा पारेको सकारात्मक प्रभाव र जन अपेक्षा माथि तुषारापात जस्तो भएको छ । यो हाम्रो पार्टीले आफ्नो स्थापना कालदेखि अगाडि सारेको र अविराम संघर्ष गर्दै आएको देशको राष्ट्रिय स्वाधिनता र विधमान राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, विकास, संवृद्धि र जनताको विकराल जनजीविका लगायत यावत समस्याहरुको शान्तिपुर्ण ढंगले वार्ता र सम्वादको माध्यमवाट अग्रगामी र क्रान्तिकारी समाधान खोज्ने तीन वुँदे सहमतिको मर्म, पार्टीको तत्परता र नेपाली जनताको चाहनाका खिलापमा छ । यसले समस्याको समाधान होईन झन जटिल स्थितिको सृजना गर्नेछ । यस्तो व्यवहारले नेपाली जनतालाई निराश बनाउदै गैरहेको छ ।
प्रधानमन्त्री ज्युको नेतृत्वमा यो सरकारको गठन भएको पहिलो हम्तामै तिन बुँदे सहमति कार्यन्वयनको विषयलाई लिएर हाम्रो पार्टीका महासचिव क. विप्लवको नेतृत्वमै भेटवार्ता भएको थियो । तत् पश्चात सरकारसंग पटक पटक भेटवार्ता जारी नै छन । सहमति कार्यन्वयन सम्वन्धी सरकार र पार्टी वीच भएको सकारात्मक छलफलले जनतामा उत्साह पैदा गरेको थियो । त्यसको पनि झण्डै तीन महिना बिन्त थाल्यो । यसले थुप्रै प्रश्न र आशंका जन्माउन थालेको छ । आजका मितिसम्म वन्दी नेता कार्यकताहरु रिहा नहुनु र मुद्धा खारेज नहुनुले हाम्रो पार्टी, वन्दी नेता कार्यकर्ताहरु, उहाँका परिवारजन र नेपाली जनतामा आक्रोस र चिन्ता पैदा भएको छ । यो विषयलाई गम्भिरताका साथ लिन जरुरी छ ।
प्रधानमन्त्री ज्यु, तीन वुँदे सहमतिको शुरुमै कार्यन्वयन गर्नुपर्ने विषय वन्दीको रिहाई र मुद्धाको खारेजी हो । यही विषय झन वढी ढिला भैराखेको छ । हाम्रो पार्टी तीन वुँदे सहमति प्रति पुर्ण प्रतिवद्धता सहित अक्षरसः लागु गरिराखेको छ र गर्ने छ । आशंका, अविश्वास, मनोवैज्ञानिक दवाव र ढिलासुस्तीको कुनै गुन्जायस छैन । यो राष्ट्रिय राजनीतिक मुद्धा हो । यसर्थ विषयको गम्भिरता र संवेदनशिलतालाई दृष्टिगत गरी वन्दी रिहा र मुद्धा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटो भन्दा छिटो निरुपणको अपेक्षा गर्दछौ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु