मुक्तिका लागि कठीन र लामो लडाई अनिबार्य

२०७८ भाद्र १३ गते, आईतवार

 बलराम  तिमल्सिना

   ·

पूँजीपतिहरूसँग पूँजीको तागत पनि हुने,आफै पनि सङ्गठित हुने, राज्यसत्ता सिङ्गै उनीहरूकै हुने , धर्म , संस्कार आदिले पनि उनीहरूकै हितरक्षा गर्ने अनि विश्वभरिका साम्राज्यवादी शक्तिहरू पनि उनीहरूकै पक्षमा हुने तर सर्बहारा-श्रमजीविहरू बैचारिक हिसावले पनि प्रस्ट नहुने, संगठनका हिसाबले पनि छिन्नभिन्न हुने, राज्यसत्ता सँधै उनीहरूलाई फकाउन, फसाउन, फुटाउन र दमन गर्न मात्र तल्लिन हुने , अन्तराष्ट्रिय रुपमा मद्दत गर्ने कुनै देश नहुने, श्रमजीवीहरूको अन्तराष्ट्रिय संस्था पनि नहुने, धर्म परम्परा र पुराना आदतहरू पनि श्रमजीवीका पक्षमा नहुने आदि स्थितिमा मुक्तिका सपनाहरू सपनामै सीमित रहिरहने संभावना रहन्छ।

     श्रमजीविहरूका मुक्तिका सपनाहरूलाई साकार रुप दिन सबैभन्दा पहिले उनीहरू बर्ग सचेत हुन जरुरी छ। पूँजीपति बर्गको दर्शन र मान्यता बोकेर श्रमजीवी बर्गको मुक्ति संभव छैन र आफ्नो मुक्तिको लागि श्रमजीवीहरूसँग आफ्नै दार्शनिक दृष्टि, आफ्नै बैचारिक हँतियार, आफ्नै राजनीतिक अग्रदस्ता, आफ्नै मौलिक नीतिहरू, बर्गसङ्घर्षको अबिचलित आफ्नै बाटो , त्याग तपस्या र बलिदानको आफ्नै गौरवशाली संस्कृति आदि जरुरी पर्छ।

हेर्दा उस्तै उस्तै देखिने, मार्क्सवाद लेनिनवाद  माओवादकै गफ गर्ने तर पैतालादेखि टुप्पीसम्म पूँजीवादको फोहोरमा डुबेका नक्कली कम्युनिष्टहरूले श्रमजीविहरूलाई  सबैभन्दा बढी अलमलमा पारिरहेका छन। श्रमजीविहरूका सङ्ला भावनाहरूसँग खेलेर उनीहरूको सिङ्गो जीवनलाई पूँजीपती बर्गको सेवामा दुरुपयोग गर्ने नक्कली कम्युनिष्टहरू घरभित्र ओछ्यानमा लुकेर बसेका विषालु सर्पजस्तै हुन। हाम्रो देशमा तिनै नक्कली कम्युनिष्टहरूको बिगबिगी छ। कम्युनिष्ट नाम गरेकाहरूबाट ठगिदा ठगिदा कम्युनिष्ट नाम सुन्नासाथ धन्दावाला फटाहाहरू हुन् भन्ने सोचेर विरक्त पैदा हुने स्थिति छ। आफूलाई बडे बडे विद्वान हौं  भन्नेहरू तिनै नक्कली कम्युनिष्टहरूलाई सक्कली हुन भनेर जनतालाई फस्ल्याङ् फुस्लुङ् पार्ने फसाउने चटकेहरूमा बदलिएका छन्। यस्तो स्थितिमा सर्बहारा श्रमजीवीहरू संसारमा आफ्ना असल साथीहरू कोही नभएजस्तो एक्लाएक्लै भौंतारिनु पर्ने कहालीलाग्दो अवस्था छ। क्रान्तिको चिन्ता गर्ने ससाना समुहहरू छन तर ती झाङ्गिन सकिरहेका छैनन्।ती आपसमा मिल्ने हो भने पनि केही आशा पलाउने थियो। मिल्ने दिशातिर  परिणाममुखी काम पनि हुन सकिरहेको छैन । यस्तो स्थितिमा पनि जति भोक लागे पनि बाघले घाँस खादैन भनेजस्तै एउटा वर्गसचेत सर्वहाराले पूँजीपतीको दलाली गरेर जुनी बिताउन सक्दैन।उसले आफ्नो मुक्ति नै खोज्छ। उपाय नै खोज्छ र खोज्नु पनि पर्छ। जति सुकै बहादुर र वुध्दिमान भए पनि एक्लो श्रमजीविले केही गर्न सक्दैन। ऊ सङ्गठित बनेर मात्रै माथिदेखि तलसम्म अनि स्वदेशदेखि संसारसम्म फैलिएको पूँजीवादका विरुद्ध लड्न सक्छ। लडेर मात्रै उसले मुक्ति प्राप्त गर्न सक्छ। एक्ला एक्लै कसैले मुक्ति पाउदैन। कि सबै श्रमजीवीले मुक्ति प्राप्त गर्ने छन् कि त उनीहरू पूँजीवादको जुवामुनी नै रहन वाँध्य हुने छन्।

थरी थरी नाम र रङ्गका नक्कली कम्युनिष्टहरूका चमददमकपूर्ण चटकबाट मुक्त बनेर आफ्नै मौलिक बाटो हिड्ने दिशामा समस्त श्रमजीवी साथीहरूलाई सफलता प्राप्त होस।

एक्लै त लड्नै सकिन्न

लडे पनि जित्नै सकिन्न

मिलेर लडौं

लडेर जितौं

हाम्रो मुक्ति हाम्रो कठीन र लामो लडाइँको शर्तमा मात्र संभव छ ।

प्रतिक्रियाहरु