नेपालमा बढ्दो विदेशी हस्तक्षेप र लगानी सम्मेलनको औचित्य

२०८१ बैशाख १६ गते, आईतवार

डा. केशव देवकोटा

नेपालमा हालैका दिनमा विदेशी हस्तक्षेप तीब्र बन्दै गएको देखिएको छ । यहाँ छिमेकी चीन र भारतमात्र नभएर अमेरिकाको हस्तक्षेप प्रत्यक्षरुपमा देखिएको छ भने अन्य युरोपियन मुलुकहरुले पनि चासो राखेको देखिन्छ । जसका पछाडि उनीहरुका आआफ्ना भित्री स्वार्थ र कारणहरु रहेका होलान । कतिपय प्रत्यक्ष देखिएका पनि छन् । सामरिकरुपले संवेदनशील रहेको नेपालको भूराजनीतिक अवस्थितिले विदेशी चासो बढाएको कुरामा द्विमत छैन । तर यहाँका सरकारहरुले त्यसलाई सन्तुलनगर्ने प्रयास नगर्दा थप चिन्ताहरु बढेर गएका छन् । सबैभन्दा खतरनाक त के देखिएको छ भने हरक्षेत्रमा ‘विदेशी पहिलो’ भन्ने मानकनै स्थापित भएको छ । छिमेकमा रहेका चीन र भारतले ‘देश पहिलो’ भन्ने नीति लिइरहेको अवस्थामा नेपालले सो नीतिको अनुशरणगर्न सकेको देखिन । बिस्तारवादी नीति रहेको भारत र विश्व साम्राज्यवादी मुलुककारुपमा कहलिएको अमेरिकाको नेपालको आन्तरिक राजनीतिमा देखिएको चासोले गर्दा नेपालको अस्थित्व नै गुम्न सक्नेसम्मका खतराहरुसमेत देखिएका छन् । भारतको आफ्ना कुनैपनि छिमेकीसँगको सम्बन्ध राम्रो छैन । चारैतिर थिचोमिचो बढाएको छ । उसले सबै छिमेकी मुलुकलाई आफ्नो सुरक्षा छाताभित्र राख्ने प्रयास गर्दै आएको छ । भुटान लगायतका कतिपय मुलुक त भारतीय सुरक्षा छाता अन्तर्गत रहेका पनि छन् । नेपालका पनि मुख्यत सन् १९५० को सन्धिपछि शासन सत्तामा आएकाहरु भारतलाई ठूल्दाई मान्ने गरेको देखिएको छ । तर नेपाली जनता भारतको हैकम र दादागिरीका बिरुद्ध निरन्तर लडदै आएका छन् । छिमेकी चीनले आफ्नो सुरक्षाका लागि पनि नेपालको अखण्डता र सार्बभौमिताको सुरक्षा हुनुपर्छभन्ने नीति लिँदैआएको थियो र छ पनि । तर पछिल्लो समयमा चीनले नेपालका शासकहरुले आपूmलाई एक्ल्याउन खोजेको अनुभव गरेको देखिएको छ । छिमेकी चीन र भारतकाबीचमा कतिपय बिवाद भएपनि क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा उनीहरुले सामन्जस्यता कायम गर्दै आएको देखिएको छ ।

नेपालमा अमेरिकालगायत पश्चिमा मुलुकको प्रबेशलाई लिएर उनीहरु सजग र सतर्क रहेको देखिन्छ । नेपालमा भएको अमेरिकाको प्रबेश नेपालको उन्नति र प्रगतिका लागि होइनभन्ने कुरा जगजाहेर छ । उसको प्रयास शक्ति राष्ट्रकारुपमा उदाउन लागेका चीन र भारतलाई कसरी कमजोर बनाउने भन्नेमा केन्द्रित रहेको देखिन्छ । जसका लागि नेपाली भूमिको प्रयोेग गर्ने प्रयास भइरहेको छ । अमेरिकाले एमसीसी परियोेजनालाई आफ्नो भित्री योेजना पूरा गर्ने–गराउने मुख्य हतियार बनाउने प्रयास गरिरहेको छ । एमसीसीकासाथै एसपीपीमा पनि भित्रभित्रै समझ्दारीपत्रमा हस्ताक्षर भएका कुराहरु बाहिर आएका छन् । त्यसैका आधारमा नेपालमा विदेशी लगानी र मुख्यरुपले अमेरिका निकटका मुलुकबाट जुटाएर भएपनि नेपालमा अमेरिकाको उपस्थिति र शक्तिलाई बढाउँदै लाने प्रयासहरु थालिएका हुन् । साम्राज्यवादी र बिस्तारवादीहरुको घोषित नीतिनै ‘विभाजन गरेर शासन गर’भन्ने रहेको छ । त्यसैले भारत र अमेरिका कहिले मिलेभने कहिले अलग ढंगले नेपालका हरक्षेत्रमा बिभाजन बढाउने काममा लागेका छन् । साम्राज्यवादी शक्तिको राम्रो प्रशिक्षण प्राप्त गरेका नेपालका कतिपय पार्टीका कतिपय नेताहरुले पनि पूmटाउ र शासन गरकै नीतिलाई अपनाएको देखिएको छ । पार्टीहरुलाई बिचारबिहीन बनाउने र अरुलाई जुधाएर आपूm अगाडि बढ्ने खालका हर्कतहरु भएरहेका छन् । राष्ट्रिय एकता, मित्रता र खास, खास विषयमा समझ्दारी आजको अवस्थामा नेपालको मुख्य आवश्यकता हो । तर पछिल्ला घटनाक्रमहरुलाई हेर्दा त्यसैमाथि मिहीन ढंगले प्रहार भइरहेको देखिएको छ । देशमा देशभक्त र बामपन्थी शक्तिलाई एक हुननदिने अभियाननै सञ्चालन गरेको देखिन्छ । नेपाली जनताले निर्वाचनमार्फत् दिएको जनादेशको ठाडो उल्लंघन भएको छ । जसलेगर्दा राजनीतिक अस्थिरता र अन्योेल काफि हदसम्म बढेको छ । यस्तो अवस्था पारेर नेपालमा विदेशी लगानी आकर्षणगर्ने बहानामा बिभिन्न गतिबिधिहरु हुनथालेका छन् । आज बैशाख १६ र भोली १७ गते नेपालमा जसरी विदेशी लगानी सम्मेलन हुँदैछ, त्योे पनि विदेशी हस्तक्षेपलाई मलजलगर्ने थप कडीकारुपमा अगाडि आएको छ । किनकी नेपाली उद्योग ब्यवसाय बिस्थापित भइरहेको र आर्थिक संकट बढेको हालको अवस्थामा विदेशीहरुलाई प्रबेश गराउनु हुने थिएन ।

एकातिर तीब्र ढंगले विदेशी ऋण सहयोेग लिएर नेपाललाई पराधिन गराइँदै छभने अर्कातिर लगानीमार्फत पनि नेपालीहरुलाई विदेशीको कब्जामा पु¥याउने कामहरु भैरहेका छन् । ०६३ को परिवर्तनपछि नेपालमा विदेशी पूँजी भित्र्याउनका लागि यसअघिनै दुई पटक विदेशी लगानी सम्मेलन भैसकेका थिए । मुलुकको आर्थिक विकासगर्नको लागि ठूलो मात्रामा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले आयोेजना गरिने सम्मेलननै लगानी सम्मेलन हो । जसमा विदेशी ठूला लगानीकर्ता, अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरु, स्वदेशी लगानीकर्ता, विज्ञ र सरोकारवालालाई आमन्त्रितगरी मुलुकमा लगानीको लागि आग्रह गर्नेगरिन्छ । यस्तो लगानी सम्मेलन द्रुत गतिमा आर्थिक विकास गर्ने, वैदेशिक मुद्रा भित्र्याउने, रोजगारी सिर्जजनागर्ने र सरकारी आयलाई बढोत्तरी गर्ने हुनुपर्दछ । तर नेपालमा त्यसखालका लगानी सम्मेलनहरु भैरहेका छैनन् । यसअघि भएका दुईवटा लगानी सम्मेलनले नेपाल र नेपालीलाई कुनै लाभ दिन सकेको नदेखिएपछि सोही ढर्रामा तेश्रो सम्मेलन गराउनु हुने थिएन । यसअघि लगानीकर्ताद्वारा प्रतिबद्धता जनाएको लगानी समेत सन्तोषजनकरुपमा आउन सकिरहेको छैन । अबका दिनमा पनि प्रतिबद्धताअनुसारको लगानी आउने संभावना छैन । विदेशी लगानीकर्ताले आयोेजना ओगटेर राख्नका लागि पनि लगानीको तत्परता देखाउने तर तोकिएको समयमा काम सम्पन्न नगर्ने गरेको पाइएको छ । कतिपयले लगानी कर्ताको आबरणमा नेपालका अन्य खालका गतिबिधिहरु गरिरहेका छन् । लगानीकर्ताका रुपमा प्रबेश गरेर राजनीतिक अभिष्ठ साधना गरेको देखिन थालेको छ । यसअघिको अनुभवअनुसार लगानी स्थलमा स्थानीय नागरिक र राजनीतिक पार्टीहरुबाट नैतिक समर्थन नहुदा कतिपय लगानीकर्ता बीचैमा काम छाडेर हिडेका घटनाहरु पनि रहेका छन् । नेपालमा पछिल्लो समयमा आफ्नो सत्ताका लागि वाह्य शक्तिलाई भित्रभित्र ठाउँ दिने खालका गतिबिधिहरु हुनेगरेका छन् । भित्रभित्रै विभिन्न खालका सम्झौताहरु गर्ने तर, बाहिर बाहिर राष्ट्रवादीको मुखुण्डो ओढ्ने प्रवृत्ति पनि देखिने गरेको छ । जस्तो ०७२ सालको संविधान पूर्ण नरहेको कुरा निर्माणकर्ताहरुले नै स्वीकार गरेको कुरा हो । त्यस्तो अपूर्ण संविधानका आधारमा स्थापित गरिएको बिद्यमान राजनीतिक ब्यवस्था पनि अपूर्ण र त्रुटीपूर्ण रहेको छ । त्यस्तो अपूर्ण राजनीतिक ब्यवस्थाले देशमा राजनीतिक अस्थिरता चरमरुपमा बढाएर लगेको छ । यस्तो अवस्थामा सरकारमा रहेकाहरुले बृहत् राजनीतिक सम्मेलनमार्फत् बिचार बिनिमय गरेर संविधान र राजनीतिक ब्यवस्थामा सुधार गर्नुपर्ने थियो । यतिबेलाको अवस्था भनेको स्वदेशी राजनीतिक सम्मेलनको हो । तर गराइँदै छ विदेशी लगानी सम्मेलन ।

नेपालका कतिपय शासकहरुले कुनै बेला चीनसँग पारवहनलगायतका सन्धी र संझौता गरेर  भारतसँगको परनिर्भरता घटाएर दुवै छिमेकीसँग समदूरीको सम्बन्ध कायमगर्ने प्रयास गरेको देखिएको थियो । तर इन्डोपश्चिमा शक्तिले त्यसलाई कार्यान्वयन हुन दिइरहेको छैन । आज आएर नेपालको परराष्ट्र मामिलामा अमेरिकासँग सहकार्यगर्ने कुराहरु आएका छन् । नेपाली उत्पादन पठाउन भारतीय बजारमा बेलाबखत खटपट हुनेगरेको छ, तर चीनतर्फको नाका सुचारु हुनसकिरहेको छैन । यहाँ सुरक्षा चुनौतीको अवस्था सिर्जना गरिएको छ । बलियोे सरकार भएको अवस्थामा बाह्य शक्तिसँग पनि मजबुत सम्बन्ध स्थापित गर्न सकिन्छ । तर नेपालमा जहिले पनि अस्थिर र कमजोर सरकार रहने प्रबन्ध गरिएको छ । नेपालमा बढ्दो विदेशी हस्तक्षेपबाट नेपाली जनताको ध्यान अन्यत्र मोढ्नका लागि विभिन्न खालका आन्तरिक बिवादहरुको सिर्जना गरिएको छ । नेपालमा कतिपय अति सम्बेदनशील स्वदेशी र विदेशी कुराहरु रहेका छन् । हालको अवस्थामा त्यसको छिनोफानो गर्नुपर्ने अवस्था छ । तर ठूला भनिएका दलहरु भित्रभित्र मिल्ने र बाहिर बाहिर राय बझाउने द्वेध चरित्र प्रदर्शन गरिरहेका छन् । हाल नेपालमा गराउन लागिएको विदेशी लगानी सम्मेलनमा संसदमा रहेका कतिपय दलहरुको बिमति रहेको देखिएको छैन । तर त्यसले पार्ने नकारात्मक प्रभावकाबारेमा संसद्मा नरहेका पार्टी र जनसाधारणमासमेत विभिन्न किसिमका तर्क र छलफलहरु भैरहेका छन् । हाल नेपालमा गराउन लागिएको लगानी सम्मेलनको सकारात्मक र नकारात्मक असर निश्चयनै एक वर्षभित्रैमा देखिने छ । नेपाल र नेपालीलाई आत्मनिर्भर नभएर पर निर्भर बनाउने यस्ता खालका गतिबिधिले राम्रो प्रतिफल दिन नसक्ने निश्चित छ । यसबारे संसद् बाहिर रहेका जनपक्षीय राजनीतिक पार्टी र शक्तिहरुले ध्यान केन्द्रित गर्नु जरुरी छ ।

प्रतिक्रियाहरु