छुद्रतापूर्ण प्रचारबाट होसियार

२०८१ बैशाख २६ गते, बुधबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले आज एक बिज्ञप्ति जारी गर्दै पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न आग्रह गरेका छन् । उनले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालको विभाजन भएपछि नेकपा एकीकृत समाजवादी पनि विभाजन हुन लागेको चर्चा हुन थालेपछि पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न सो आग्रह गरेका हुन् ।
नेता खनालले आफूले पार्टी फुटाउन लागेको भनेर नियोजित रूपले यस्तो प्रचार गरेको बताए । उनले एकीकृत समाजवादीबाट ६ जना सांसद लिएर संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला तीब्र रुपले भ्रमको कुहिरो फैलाइएको बताए ।
नेता खनालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘यतिबेला मुलुकमा राजनीतिक शक्तिहरू ध्रुवीकरण हुने प्रक्रिया तीव्र रुपले अघि बढ्दै छ। यही २१ फागुन २०८० बाट मुलुकमा नयाँ राजनीतिक समिकरणले आकार लिएको छ। हाम्रो पार्टी पनि यहि समिकरणमा संलग्न भएको कुरा सर्वविदित नै छ। केहि दिनअघि मात्र तत्कालिन “जनता समाजवादी पार्टी नेपाल” समेत विभाजित भएको छ। यहि शिलशिलामा केहि दिन देखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीब्र रुपले फैलाईएको छ। केहि अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्वहरुले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन्। त्यसले पार्टी व्यापी रुपमा एउटा भ्रमको कुहिरो फैलाइदियो।’

प्रतिक्रियाहरु