‘आजसम्म अरूलाई साथ दिनुभयाे, अब हामीलाई साथ दिनुहाेस्’

२०८१ बैशाख २६ गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आफ्ना नेता कार्यकर्तालाई गरिव र दु:खी जनताको सेवामा समर्पित हुन निर्देशन दिएका छन् । मंगलबार नेकपा मधेस प्रदेशका पार्टी नेता कार्यकर्तालाई प्रशिक्षण दिदै विप्लवले सबैलाई जनताकाे सेवामा समर्पित हुन निर्देशन दिएका हुन् ।
पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान उद्घाटन गर्दै विप्लवले नेपालमा जनतालाई दुःख पर्दा लड्ने एकमात्र पार्टी नेकपा भएकाले यसलाई स्थापित गर्दै लैजानुपर्ने बताए । “जनतालाई दुःख पर्दा लड्नुपर्छ, जनताकाे सेवामा समर्पित हुनुपर्छ ‌।”, उनले भने, ” अब हामीले देशकाे जिम्मा लिनुपर्छ । जनतालाई हाम्राे पार्टीमा विश्वास छ । यसलाई टुट्न दिनु हुँदैन ‌।”
विप्लवले नेपाल कम्युनिस्ट पार्टी सुख सयलका लागि जन्मेकाे नभई जनताकाे दु:ख सुखमा साथ दिन जन्मेको बताए । नेपालका श्रमिक जनताको सता ल्याएरै छाड्ने उद्घाेष गर्दै उनले कार्यकर्तालाई जनताकाे सेवक बन्न निर्देशन दिए ।
यस्तै परिस्थिति रहिरहे आफ्नाे पार्टी आगामी निर्वाचनलाई क्रान्तिकाे माेर्चाका रूपमा प्रयाेग गर्ने तयारीमा रहेकाे बताउँदै उनले भने, “साम्राज्यवाद मिसनसहित आइरहेको छ । उसले नेपालमा खेल्न पाएसम्म खेल्ने छ ।”, उनले भने, “२०८४ अगाडि मध्यावधि निर्वाचन हुनपनि सक्छ । या ०८४ मा चुनाव नभएर अरू केही पनि हुन सक्छ । तर हामी यस्तै रहिरहे चुनाव प्रयाेग गर्छाैं ‌”
उनले ०८४ काे चुनावमा‌ आफ्नाे पार्टीलाई जिताउन निरन्तर लाग्नुपर्ने बताए । “चुनाव भयाे भने हामीले जित्नुपर्छ । त्यसका लागि तपाईंहरू आजैदेखि लाग्नुहाेस् ‌।”, उनले भने, “जनतामा जानुहाेस् र भन्नुहाेस् आजसम्म अरूलाई साथ दिनुभयाे, अब हामीलाई साथ दिनुहाेस् । इमान्दार जनतालाई संगठित गर्नुहाेस् ।”
कार्यक्रममा नेकपा स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीकाे अध्यक्षता रहेकाे थियाे । कार्यक्रममा उपस्थित सबैलाई नेकपा केन्द्रीय सदस्य रामकुमार सीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए भने कार्यक्रमको संचालन पवन सीले गरेका थिए ।- शाेभराज बराल

प्रतिक्रियाहरु