माक्र्सवादको सान्दर्भिकता

२०८१ बैशाख २३ गते, आईतवार

हस्तबहादुर केसी

‘उनको नाउँ र कार्य युगयुगान्तरसम्म जीवित रहनेछन् ।’– फ्रेडरिक एंगेल्स

आज सन् २०२४ मे ५ तारिख । आजकै दिन अर्थात् सन १८१८ मे ५ तारिखका दिन वैज्ञानिक साम्यवादका सिद्धान्तकार तथा दार्शनिक कार्ल माक्र्सको जन्म भएको थियो । त्यसैले आजको दिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एक ऐतिहासिक दिन हो । आज विश्व सर्वहारा वर्ग एवं संसारभरका उत्पीडित राष्ट्र तथा उत्पीडित जनसमुदाय र सम्पूर्ण श्रमजीवीहरुले आज माक्र्सवादका प्रतिपादक वैज्ञानिक कार्ल माकर््सको २०७ आौं जन्म दिवस धुमधामका साथ मनाउन गइरहेका छन् ।

   यस ऐतिहासिक दिनको सन्दर्भमा कार्ल माक्र्सद्वारा प्रतिपादन गरिएको विश्व सर्वहारा वर्ग एवं उत्पीडित राष्ट्र तथा सम्पूर्ण मुक्तिकामी जनसमुदायको मुक्तिको सिद्धान्त (मार्गदर्शक सिद्धान्त) माक्र्सवादको आंैचित्य र सान्दर्भिकताका विषयमा संक्षिप्त रुपमा लेख लेख्ने प्रयत्न गरिएको छ । 

कार्ल माक्र्स जन्म ५ मई १८१८ मा जर्मनीको ट्रियर शहरको एक वकिल परिवारमा भएको थियो । सन् १८४८ फेब्रूअरी २१ का माक्र्स र एंगेल्सद्वारा कम्युनिस्ट लिगको तर्फबाट लण्डनबाट ‘कम्युनिस्ट घोषणापत्र’ जारी गरियो । यो विश्वविख्यात कम्युनिस्ट घोषणापत्र नै विश्व सर्वहारावर्गको मुक्तिको सिद्धान्त बन्यो, जो माक्र्सवादका नामले स्थापित छ ।

माक्र्सवाद विश्व सर्वहारा वर्ग र सिंगो मानव जातिकै क्रान्ति र मुक्तिको विज्ञानका रुपमा स्थापित भएको छ । यद्यपि विश्वमा घटित क्रान्ति र प्रतिक्रान्तिका घटनाका कारण माक्र्सवादको वैज्ञानिकताप्रति केही आशंका पनि व्यक्त गरिँदै आएका छन् । परन्तु, अहिलेसम्म आइपुग्दा माक्र्सवादको विकल्पमा उभिन सक्षम क्रान्ति र मुक्तको कुनै विज्ञान जन्मन सकेको छैन । र, त्यो सम्भावना पनि देखिंदैन ।

माक्र्सवाद जन्मने बित्तिकै यसका दुश्मनहरुले माक्र्सवादका विरुद्ध अनेकौं कुप्रचार गर्दै आएका छन् । खासगरी माक्र्सवादको भ्रष्टिकरण गर्ने र माक्र्सवादकै विरुद्ध उभिनेमा अवसरवाद, अराजकतावाद र विभिन्न खाले प्रतिक्रियावाद देखापर्दै आएका छन् । अवसरवाद आज संशोधनवादका विविध रुपमा प्रकट हुँदै आएको छ । त्यसैगरी अराजकतावाद पनि विभिन्न रुप र रंगमा देखापर्दै आएको छ । यसप्रकारका प्रवृत्ति दक्षिण, मध्य र उग्रवामपन्थका रुपमा प्रकट हुँदै आएका छन् । तिनले माक्र्सवादको संशोधन र भ्रस्टिकरण त गरे नै, तर ती अन्त्यमा माक्र्सवादको सर्वहारा वर्गीय क्रान्ति र मुक्तको सारतत्वमाथि हमला बोल्दै प्रतिक्रियावादकै शरणमा पुगेका छन् । प्रतिक्रियावादीहरुले पनि माक्र्सवादमाथि नाना तहका आरोप लगाउँदै आएका छन् । यहाँनेर ध्यान दिनुपर्ने कुरा के छ भने माक्र्सवादका अनुसार सर्वहारा वर्गीय राज्यसत्ताको सारतत्व भनेको सर्वहारा वर्गको अधिनायकत्व हो र ती सबै त्यस अधिनायकत्वको विरुद्ध खडा हुँदै आएका छन् । अनि ती सबैले यो वा त्यो रुपमा पुँजीपतिवर्ग वा प्रतिक्रियावादी वर्गको अधिनायकत्व पक्षपोषण गर्दै आएका छन् । यसैक्रममा नवमाक्र्सवाद, उत्तर (माक्र्सवाद र उत्तर आधुनिकतावाद जन्मिएका छन् । अन्ततः संशोधनवाद, अराजकतावाद र प्रतिक्रियावाद सबैको मिलनकेन्द्र आज मूल रुपमा उत्तर आधुनिकतावाद बन्न गएको छ ।

उत्तर आधुनिकतावादले एकातिर विचारधाराको अन्त्य, क्रान्ति र मुक्तिका महान् वृतान्तहरुको, इतिहासको अन्त्य, साम्यवादको अन्त्य लगायतका अन्त्यको घोषणा गर्दै र अर्कोतिर उदारवाद, पुँजीवाद, संसद्वाद तथा साम्राज्यवादलाई चिरञ्जीवी बताउँदै आएको छ । आज उत्तर (आधुनिकतावाद माक्र्सवादद्वारा प्रतिपादित द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, वर्गसंघर्ष, सर्वहारा वर्गको अधिनायकत्व तथा साम्यवादको विरोध र पुँजीवाद, संसदवाद, नवउदारवाद, साम्राज्यवाद को पक्षमा उभिने क्रममा तिनको पुष्टि रका लागि अतर्कबुद्धिवाद, शून्यवाद, अज्ञेयवाद, बहुलवाद, सारसंग्रहवादका भुत्ते हतियारहरु भिरेर आएको छ । साथै त्यसले विज्ञान र प्रविधिको विकास प्रक्रियालाई देखाएर तथा आफ्नो सत्ता बचाउनका लागि तिनको दुरुपयोग गरेर क्रान्ति र मुक्तिको दिशामा अग्रसर विश्व सर्वहारावर्ग र उत्पीडित जनसमुदायलाई तर्साउने काम गरिरहेको छ ।

वस्तुतः आज साम्राज्यवाद राजनीतिक, आर्थिक तथा साँस्कृतिक संकटको भुमरीमा फस्दै आएको छ । केही मुठ्ठीभर उत्पीडकहरुको हातमा पुँजी रको संकेन्द्रण तथा उनीहरूको मुनाफादेखि मुनाफासम्मको यात्रा अब ध्वस्त हुँदै गएको छ । विज्ञान र प्रविधिको विकास भनेको उत्पादक शक्तिको विकास हो । त्यसले पुरानो उत्पादन सम्बन्धको ध्वंसको नारा बजाइरहेको छ । एकातिर स्वतन्त्रता तथा समानताको भ्रमपूर्ण नारा दिने र अर्कोतिर बहुसंख्यक श्रमिक जनताको आर्थिक समानताको विरुद्ध उभिई मुठ्ठीभर उत्पीडकहरुको आर्थिक हितलाई सर्वोपरि स्थान दिने कथित संसदीय लोकतन्त्रको आयु अब धेरै लामो छैन । उत्पादक शक्तिको विकास, वर्गसंघर्ष र आरोह तथा अवरोहका प्रक्रिया, साम्राज्यवादका सामु निरन्तर पैदा हुँदै आएका संकट लगायतका तथ्य र उनीहरूका शून्यवादी सिद्धान्तमा आधारित तर्कहरुबाट जतिसुकै कसरत गरे पनि माक्सवादको सैद्धमनतिक खण्डन हुन सक्दैनन् ।

माक्र्सवाद गतिशील विज्ञान हो । त्यो एउटै ठाउँमा जमेर बस्न सक्दैन । त्यो विकसित हुँदै जान्छ र त्यसको माक्र्सवाद (लेनिनवाद¬) माओवादका रुपमा विकास पनि भइसकेको छ । तर अब यत्तिले पुग्दैन । आजको वर्गसंघर्ष तथा विज्ञान एवं प्रविधिको विकासशीत हातेमालो गर्दै त्यसको अझै विकास गर्न जरुरी छ । यो अभिभारा विश्व सर्वहारा वर्ग तथा उत्पीडित जनसमुदाय र तिनको राजनीतिक प्रतिनिधित्व गर्ने विश्वका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको काँधमा आएको छ । यसै ऐतिहासिक अभिभारा तथा दायित्व पुरा गर्नका लागि संघर्षरत रहनु नै माक्र्सको १४१ आौं स्मृति दिवस मनाएको सच्चा सान्दर्भिकता रहनेछ । यस अवसरमा माक्र्सवादको रक्षा, प्रयोग र विकास गर्दै सिंगो विश्व र नेपालमा समेतलाई बदल्नका लागि नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद प्राप्तिका लागि नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु ऐतिहासिक अभियानमा जुट्न जरुरी छ । किनकि माक्र्सवादको क्रान्तिकारी सारतत्व पनि यसैमा छ ।

अन्त्यमा माक्र्स अमर हुनुहुन्छ, माक्सका कार्यहरु उहाँका अनन्य मित्र एंगेल्सकै शब्दमा ‘युगयुगान्तरसम्म जीवित रहनेछन् ।’

(लेखक ः वरिष्ठ माक्र्सवादी लेखक र अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन्) ।

प्रतिक्रियाहरु