‘प्रगतिशिल सरकारमार्फत जनमत संग्रह र जनमत संग्रहमार्फत वैज्ञानिक समाजवाद’

२०७८ भाद्र १३ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रगतिशिल सरकारमार्फत् जनमत संग्रह र जनमत संग्रहमार्फत् वैज्ञानिक समाजवाद स्थापना गर्ने पार्टीको कार्यनीति भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् । बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपालमा कुनै पनि विपद पर्दा युवा विद्यार्थी खोज्ने प्रवृत्ति भएको उल्लेख गर्दै युवा विद्यार्थी आफ्नो पार्टीको लागिसमेत महत्वपूर्ण भएको बताए ।

यसैगरी, महासचिव विप्लवले पुँजीवाद आफैँ नढल्ने बताउँदै समाजवादीहरुको ठूला–ठूला हमलापछि मात्र पुँजीवाद ढल्ने बताए । उनले कम्युनिस्ट पार्टी उत्पादक शक्तिमा बदलिनु पर्ने बताउँदै अन्यथा समाजवाद पनि नटिक्ने ठोकुवा गरे । महासचिव विप्लवले भने– “कम्युनिस्ट पार्टीले उत्पादन गर्नुपर्छ,  नत्र समाजवाद पनि टिक्दैन ।” महासचिव विप्लवले समाजवादले श्रमिक नजन्माउँदा समाजवाद ढलेको उदाहरण पेस गर्दै शासक मात्र जन्माउन नहुने बताउँदै उत्पादन र वितरण व्यवस्था नमिले बिकृति जन्मने ठोकुवा गरे ।

यसैगरी, महासचिव विप्लवले कुनै पनि वस्तुको विश्लेषण वस्तुवादी हुनुपर्ने र निष्कर्ष पनि वस्तुवादी निकाल्नु पर्ने बताए । उनले एकीकृत जनक्रान्तिको सार देश,  जनता र पार्टी एक ठाउँमा ल्याउनु भएको उल्लेख गर्दै जसले दलाल पुँजीपति र व्यवस्थालाई भत्काउने तागत पैदा गर्ने ठोकुवा गरे । महासचिव विप्लवले जनता र सत्ताबीचको अन्तर बिरोधका कारण क्रान्ति हुने ठोकुवा गर्दै त्यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले लिने बताए ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यतामा चितवनको रत्ननगरमा सम्पन्न अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन समितिको बैठकमा सन्तोष बुढा मगर,  चिरन पुन,  सन्देश पौडेललगायतका नेताहरु अथिति रहेका थिए । बैठकले ‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीको लागि हाम्रो आन्दोलन ! राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन !!’ भन्ने मूल नाराका साथ आगामी असोज ६, ७ र ८ गते पोखरामा अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको बताइएको छ । – क्षेप्यास्त्र  साप्ताहिक

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु