दार्चुला घटनाको कारक: संसदीय व्यवस्था र संसदवादी दलका नेताहरुको निरीहता

२०७८ श्रावण १८ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले दार्चुलाका जयसिंह धामीलाई भारतीय एसएसबीले तुइन काटेर बेपत्ता बनाएको विरोधमा आज देशव्यापी विरोध सभा सम्पन्न गरेको छ । यसैक्रममा नेकपाले आज दिउसो २ बजे काठमाडौँको सुन्धाराबाट जुलुस सुरु गरेर रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर विरोध सभा सम्पन्न गरेको छ ।


उक्त बिरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका नेता सन्तोष बुढामगरले देश र जनताको पक्षमा आफ्नो पार्टी जुनसुकै मूल्यचुकाउन तयार भएको बताउदै भारतीय हस्तक्षेपबाट देश जनतालाई मुक्त परेरै छाड्ने उद्घोष गरे। नेता बुढामगरले दार्चुलाका जयसिंह धामी घटना नेपालका संसदीय व्यवस्था र संसदवादी दलका नेताहरुको निरीहताका कारण घटेको ठोकुवा गरे । उनले भारतीय सरकारसँग नेपाल सरकारले गरेको दलाली र आत्मसमर्पणका कारण धामीलगायत कयौ दुखद घटना घटेको भन्दै जयसिंह धामीलाई सहिद घोषणा गर्न सरकारलाई आग्रह समेत गरे ।

नेता बुढामगरले रोजगारीका लागि काठमाडौँ हिडेका जयसिंह धामीलाई हत्यारा जसरी तुइन काटेर हत्या गर्नु अन्तराष्ट्रिय अपराध भएको बताए । ‘सामान्य श्रमित आफ्नो रोजिरोटीका लागि काठमाडौँ आउन लागेको धामीलाई अपराधी सरह हत्या गरियो ।’ उनले भने, ‘यसका अपराधीहरुले सजाय पाउनैँ पर्छ ।’ यस विषयमा नेपाल सरकारले अनुसन्धानलाई प्रभावकारी नबनाएकोमा आपत्ती जनाए । ‘अनुसन्धान गर्न सरकारलाई कसले रोकेको छ । भारतसँग डराएर बस्नुपर्ने कुनै हारण छैन् ।’ उनले भने, ‘तिमिहरुले अनुसन्धन गरेर भारतीय एसएसवीलाई कारवाही गर्न सक्दैनौँ भने हामी कारवाही गछौँ । जनताले कारवाही गर्छ ।’


यसैगरी , नेता सन्तोष बुढामगरले नेपालमा संसदीय व्यवस्था र संसदवादी दलहरु असफल भै सकेको बताउदै बर्तमान राजनीतिक संकट समाधानको एकमात्र बिकल्प जनमत संग्रह भएको ठोकुवा गरे।

यसैगरी, नेता बुढामगरले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमार्फत अमेरिकी सेना नेपाल आउन लागेको भन्दै यसलाई जसरी पनि रोक्न पर्ने बताए । ‘हाम्रो पूर्खाहरुको सम्पतीमाथि अमेरिकाले आँखा लगाएको छ ।’ सभालाई सम्बोधन गर्दै उनले भने- ‘नेपाल जल, जमिन र जंगलमाथि हैकम जमाउन अमेरिकी सेना नेपाल आउन लागेको हो । यसलाई जसरी पनि रोक्न पर्छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु