गद्दारहरुलाई देश निकाला नगरी नहुने भएको छ

नारायण शर्मा २०७८ श्रावण २ गते, शनिबार


धागो चुँडिएका चङ्गाहरुलाई एकतृत गर्न धेरै जटिल छ !
तेल सिद्धिएका दियोहरुमा सँधै तेल थपेर बाल्न पनि कठिन छ !
बेट्री ड्यामेज भएका यन्त्रहरुलाई बेट्री वा यन्त्र फेरेर पनि चलाउन अत्यन्त मुस्किल छ !
यस्ता म्याद सक्किएका र इन्जन मक्किएका यन्त्र-संयन्त्रहरुलाई त कवाडीखानामै बेच्न समेत दुसाध्य छ !
तैपनि जतिसुकै जटिल, कठिन र मुस्किल, दुसाध्य भए पनि
यसो नगरी हुँदै नहुने भएको छ ।
कि भने यी सबैलाई डम्पिङ साइटमा नफाली हुँदै नहुने भएको छ ।।
**
चेत हराएका नेताहरुलाई होशमा ल्याउन पनि झन् अति गाह्रो छ ?
नेत हराएका कार्यकर्ताहरुलाई पनि जोसमा ल्याउन पनि त्यस्तै अतिनै साह्रो छ ।
तरल बनिरहेको देसको स्थितिलाई पनि ठोसमा बदल्ने काम पनि झन् कति हो कति गाह्रो छ ।
अनि, ग्यास बनेको क्रान्तिको अवस्थालाई क्यास गर्ने कुरा त झन् आकासको फल आँखा तरी मर भन्ने जस्तो भएको छ ।
तैपनी जतिसुकै गाह्रो-साह्रो र असम्भव भएपनी
यी सब जसरी पनि नगरी हुँदै नहुने भएको छ ।
**
सास सकिएको लासलाई ब्युँझाउने उपाय भनौं त कति साध्य छ !?
भालुलाई पुराण सुनाएर उसमा ज्ञान भर्ने कुरा गुनौं त कति सम्भव छ !?
मरुभूमिको मृगको तृष्णा मेटाउन पनि के साँच्चै सरलै होला त ?
र, सुनमा सुगन्ध थप्न पनि के साँच्चै सहज नै होला र ?
छैन, तर जतिसुकै जटिल र कठिन भए पनि
यी काम पनि फत्ते नगरी हुँदै नहुने भएको छ !!
**
कस्तुरीलाई उसको आफ्नै नाभीमा
बीना छ भन्ने सम्झाउन पनि सारै अप्ठेरो छ ।
र, बुझेर बुझ पचाउने हरामीहरुलाई
बुझाउन त झन् ज्यादै गाहारो छ ।
गासको आस गर्दै भासमा भासिएकालाई उतार्नु त झन् कति हो कति जटिल छ ।
अझ रङ्गीन कागजमा रातो चित्र कोर्न त झन् सबभन्दा जटिल र कठिन छ ।
तैपनी जतिसुकै जटिल र कठिन भए पनि
गर्नै पर्ने कामकुरा त नगरी हुँदै नहुने भएको छ ।।
**
अहिले यहाँ त-
पुरेतका गाईहरुलाई तह लगाउने भरपर्दो गोठालो
नभै नहुने भएको छ !
मत्ता हात्तीहरुलाई बशमा ल्याउनसक्ने सिपालु माउते पनि नभै नहुने भएको छ !
जानी-जानी जहाज महासागरमा डुबाउने
सन्काहा क्याप्टेनहरुलाई गलहत्याउने
साहसी यात्रु क्याप्टेन त झन् नभै नहुने भएको छ !
म्याच फिक्सिङ गरी आफ्नो देसको टोलीलाई हराउने खेलघाती र देसघाती गद्दारलाई खेलबाटै नखेदी त झन् हुँदै नहुने भएको छ !
यस्ता हरामखोर गद्दारलाई देस निकाला नगरी नहुने भएको छ !!
हरामखोर गद्दारहरुलाई देस निकाला नगरी नहुने भएको छ !!!

प्रतिक्रियाहरु