इच्छुक पुरस्कार बलराम, रमण र सीताको पोल्टामा

२०७८ बैशाख १६ गते, बिहीबार


काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको इच्छुक पुरस्कार बलराम तिमिल्सिना , रमण थामी र सीता विक (सम्झना)लाई प्रदान गरिने जनाइएको छ। इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पंज्ञानीले बिज्ञप्ति जारी गर्दै हरेक वर्ष माक्र्सवादी साहित्य, कला, संस्कृति र सौन्दर्यचिन्तनका क्षेत्रमा कृयाशील र स्थापित साहित्यकार, कलाकर्मी तथा संस्कृतिकर्मीहरू एवम् सो क्षेत्रका नवप्रतिभाहरूलाई पुरस्कृत गर्दै आएकोमा यस वर्ष प्रतिष्ठानले साहित्य र कला क्षेत्रमा कृयाशील तीन जना स्रष्टाहरुलाई पुरस्कृत गर्ने जनाइएका हुन् ।
बिज्ञप्तिमा जनाइएअनुसार यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार २०७७’ सिन्धुली, तीनपाटन–११, हाल सूर्यविनायक–५, भक्तपुरमा बस्दै आएका कवि बलराम तिमिल्सिना लाई दिइने भएको छ । उनी नेपाली जनसांस्कृतिक आन्दोलनमा विगत लामो समयदेखि निरन्तर क्रियाशील हुँदै आएका कवि हुन् । उनी जनयुद्धको ऐतिहासिक प्रक्रियादेखि सङ्गठनात्मक एवम् सिर्जनात्मक क्षेत्रमा क्रियाशील रहेका छन् ।
त्यसैगरी साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०७७’ प्युठान, गोठीबाङ निवासी कवि सीता विक (सम्झना) लाई दिइने भएको छ । उनी महान् जनयुद्धको प्रकृयामा जनमुक्ति सेनामा कार्यरत भएर दर्जनौ फौजी सङ्घर्षमा सामेल भएकी थिइन् । नेपाली वर्गीय आन्दोलनको संवेदनालाई संस्मरण र कवितामार्फत् अभिव्यक्त आएकी सीताको जनयुद्धका संस्मरण नामक पुस्तक प्रकाशित भएको छ । त्यसैगरी कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०७७’ सामना परिवारका कलाकार रमण थामीलाई दिइने भएको छ । उनी दोलखा जिल्ला कालिन्चोक, गुजर्पा निवासी हुन् । थामीले नेपाली जनयुद्धमा गीत, सङ्गीतका माध्यमबाट जुझारू सांस्कृतिक योद्धाको भूमिका निर्वाह गर्दै आएका छन् ।
इच्छुक स्मृति पुरस्कारको राशि रु एक लाख नगद र प्रमाणपत्र रहेको छ भने प्रतिभा पुरस्कारको राशि जनही पच्चिस हजार र प्रमाणपत्र रहेको छ । आगामी जेठ १३ गते इच्छुक स्मृति दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रतिष्ठानका संरक्षक वरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक चैतन्यबाट य िपुरस्कार तथा सम्मानपत्र प्रदान गरिन प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रियाहरु