आहा रारा गोल्डकप चैत २१ देखि

२०७७ फाल्गुन २९ गते, शनिबार


काठमाडाैँ । १९औं संस्करणको आहारारा गोल्डकप २१ गतेदेखि हुने भएको छ । यसपटकको आहारारा गोल्डकपमा सहभागी टिम पनि कम भएका छन् । २८ गतेसम्म चल्ने आरारारा गोल्डकपमा १ विदेशीसहित ८ टिम सहभागी हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ । पोखरा रंगशालामा हुने प्रतियोगितामा मनाङ मस्याङ्दी, नेपाल पुलिस, थ्री स्टार, नेपाल एपीएफ, संकटा, मछिन्द्र, अफ्रिकन रुट एसोएसन डउला क्यामरुन र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए ।
‘कोरोना माहामारीका कारण प्रतियोगिताको मिति केही पछाडि धकेलियो भने केही प्रतियोगी टिम पनि आउन पाएनन्,’ अध्यक्ष थापाले भने । अघिल्ला संस्करणमा १२ टिमले सहभागी हुन्थे ।
प्रतियोगिताको उपाधि जित्नेले १० लाख १ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले ५ लाख १ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सका अध्यक्ष सूर्यबहादुर केसीको यसै वर्ष निधन भएकाले उत्कृष्ट पाँच विधाको पुरस्कार उनै केसीलाई समर्पण गरिने आयोजकले जनाएको छ ।
कोरोनापछि लयमा फर्किइरहेको खेल जगतलाई आहाराराले थप चलायमान बनाउने विश्वास आयोजकको छ । सहाराले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७ बाट एकजना राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने छ । ३५ हजार, प्रमाणपत्र र दोसल्लासहित उत्कृष्ठ खेलाडी सम्मान प्रदान गरिने अध्यक्ष थापाले बताए । प्रतियोगितामा करिब १ करोड १ लाख ८१ हजार रुपैयाँ खर्च हुने र १ करोड २९ लाख १ हजार आम्दानी हुने अनुमान गरिएको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
बचत रकमबाट क्लबले सहारा फुटबल एकेडेमीको सञ्चालनार्थ खर्च गर्दै आएको छ । क्याराभान गोल्ड कपसहित २० वर्षदेखि सहारा क्लबले पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु