रणनीतिक संयुक्त माेर्चाद्वारा धनगढीमा विशाल जनसभा सम्पन्न

२०७७ फाल्गुन १५ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल आहुतिको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टीको रणनैतिक संयुक्त मोर्चाले शुक्रबार धनगढीमा विशाल जनसभा सम्पन्न गरेको छ। सो जनसभालाई सम्बोधन गर्दे नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी कमिटी सदस्य रामसिंह श्रीसले देशमा संसद् विघटन गर्ने र फेरी पुनर्स्थापना गर्ने जस्ता नाटक भइरहेको बताए। उनले वर्तमान सरकार दलाल, भ्रष्ट र कमिशनखोरी भएको आरोप लगाए। अब नेपाली जनताले दलालहरूको अन्त्य गर्नुपर्ने र त्यसको नेतृत्व गर्न आफूहरू चार दल एक भएर अगाडी बढेको उनले बताए। उनले अबको विकल्प जनगणतन्त्र नै भएको बताउँदै सबै मिलेर अगाडी बढ्नुपर्ने बेला आएको बताए। सङ्घीयताले आत्मनिर्णयको अधिकार नदिइएको बताउँदै केवल जनताले अन्याय सहनुपर्ने अवस्था ल्याएको बताए। उनले व्यवस्थाको नाम बदलिएको तर अवस्था नबलिएको भन्दै जनगणतन्त्र, वैज्ञानिक समाजवाद स्थापना नहुन्जेल सम्म अबको सङ्घर्ष निरन्तर अगाडी बढ्ने दाबी गरे। उनले अब अन्तिम पटक बलिदान गर्नुपर्ने बेला आएको समेत बताए । उनले भने यी जनता कसैलाई सरकारमा चढाउँन र ढलाउँन आएका हैनन् यी जनता आफ्नो अधिकारका लागि आएका हुन् । सरकारले भ्रष्टाचारी र संरक्षण गरिरहेको मात्र छैन एमसीसीको नाममा राष्ट्रघातसमेत गरिरहेको उनको भनाइँ थियो । लिपुलेक, लिम्पियाधुरा र कालापानीको नक्सा प्रकाशन गरेर राष्ट्रवादी देखिन खोजेको सरकारले लिपुलेकको नक्सा प्रकाशित पुस्तक रोकेर दलाल चरित्र प्रदर्शन गरेको उनको भनाई थियो । माथिल्लो कर्णाली अरूण तेस्रो भारतलाई सुम्पिने ‘रअ’ प्रमुख सामु लम्पसार पर्ने सरकार कसरी राष्ट्रवादी ? उनको प्रश्न गरे । महंगी, कृत्रिम अभाव, कालोबजारीले जनताको जीवन कष्टकर बन्दै गइरहेको भन्दै सरकार कालोबजारीलाई कारवाही हैन संरक्षण गरिरहेको उनले ठोकुवा गरे ।


जनसभालाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहुति) ले वर्तमान सरकार दलाल पुँजीवादीहरूको सरकार भएको बताउँदै यसले भ्रष्टाचारीहरूको संरक्षण गरिरहेको ठोकुवा गरे । उनले राष्ट्रघात र भ्रष्टाचारको विरोध गर्दा नेकपालाई प्रतिबन्ध लगाएको भन्दै जनताले राष्ट्रघाती र भ्रष्टाचारीलाई बहिष्कार गर्न अनुरोध गरे । राष्ट्रघात र जनघातविरुद्ध रणनैतिक मोर्चामार्फत सशक्त आन्दोलनको आँधीवेहरी सृजना गर्ने उनको भनाई थियो । संसद पुनस्थापना वा विघटनले जनताको समस्या समाधान नगर्ने भन्दै वैज्ञानिक समाजवादका निम्ति संघर्ष आजको आवश्यकता भएको बताए ।


सोहि जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सरकारले संविधान विपरीत विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको भन्दै प्रतिबन्ध हटाउँन माग गरे । यो सरकारले पञ्चायतको झल्को दिने गरि जनताको बोल्न पाउने अधिकारमाथि बन्देज लगाएको भन्दै उनले आक्रोश व्यक्त गरे । उनले भने के यो पञ्चायत हो ? इतिहासमा तानाशाहलाई जनताले आन्दोलन बाटै हराएको स्मरण गर्दै आफुहरू पनि दलाल संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवाद स्थापना गर्न रणनैतिक संयुक्त मोर्चा निर्माण गरेर संघर्षमा आएको बताए । वर्तमान केपी सरकार करोडौँका भ्रष्टाचारका काण्डमा संलग्न रहेको बताउँदै भ्रष्टाचारीलाई कारवाही गर्न माग गरे ।
सो जनसभालाई सम्बोधन गर्दै राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीले सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर फासिवादी चरित्र प्रदर्शन गरेको बताए । प्रतिबन्ध लगाएर सरकारले आफैले बनाएको संविधानलाई च्यात्ने मात्र हैन फासिवादी चरित्र प्रदर्शन गरेको छ । दुई तिहाई बहुमतको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको उनको भनाई थियो । संसार कोरोना भाइरसले आक्रान्त भएका बेला सरकार कोरोना नियन्त्रणमा नभएर भ्रष्टाचार गर्न उद्दत भएको उनको भनाई थियो । सरकारले भ्रष्टाचार गर्नकै लागि सेटिङमा ओम्नी ग्रुपलाई महङ्गोमा ठेक्का दिएको दाबि गरे ।

यसैगरी ,सभामा रणनैतिक संयुक्त मोर्चाका केन्द्रीय सदस्य पुर्णबहादुर सिंहले सम्पूर्ण देशभक्त, प्रगतिशील तथा समाजवादी शक्ति एकजुट हुनुपर्ने बताए । उनले वर्तमान सरकारका कारण राष्ट्रियता इतिहासमै सबैभन्दा कमजोर भएको बताए । राष्ट्रियताको रक्षाका निम्ति सम्पूर्ण देशभक्त राष्ट्रवादीहरू एक जुट भएर लाग्नुपर्ने उनको भनाई थियो । आफूलाई राष्ट्रवादी भन्ने केपी ओली सरकारले एमसीसीको नाममा अमेरिकी सेना भित्र्याउन खोजेको भन्दै त्यसको खारेजीका निम्ति पनि रणनैतिक मोर्चाले संघर्ष गर्ने बताए । केपी ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’ प्रमुखलाई मध्यरातमा बालुवाटारमा स्वागत गरेर आफ्नो दलाल चरित्र प्रदर्शन गरेको उनको भनाई थियो ।
राष्ट्रिय समाजवादी मञ्चका केन्द्रीय अध्यक्ष डि.डी. पाण्डेयले चार दलीय संयुक्त मोर्चा अबको विकल्प शक्तिका रूपमा अगाडी बढेको बताए। उनले यो केवल सुरुवात भएको बताए। अबको क्रान्ति केवल वास्तविक किसान, मजदुर, पिछडिएका वर्गको उत्थानका निम्ति भएको उनले दाबी गरे। जसका लागी चार दलीय संयुक्त मोर्चा अगि बढिसकेको उनले जनाए।
स्वागत मन्तव्य राख्दै थरुहट थारुवान् मोर्चाका नेता बिन्तीराम चौधरीले नेता रेशमलाल चौधरीको अविलम्ब रिहाइको माग गरे ।
त्यस्तै रणनीतिक संयुक्त मोर्चाका नेता कुवेर सिंहले विगत आठ दशक लामो इतिहास हेर्दा नेपाली जनतामाथि कुठाराघात हुँदै आइरहेको बताउँदै उनले अब नेपाली जनतालाई धोका नहुने प्रतिबद्धता जनाए। उनले अबको विकल्प जनगणतन्त्र र जनजीविका भएको बताए। विगतमा भएका सङ्घर्ष प्रचण्डे, ओली जस्ता दलाल सक्तावादीहरुले गर्दा निरर्थक तुल्याएको बताउँदै अब अवस्था सुधार्न रणनीतिक मोर्चा बाहिर आएको दाबी गरे। उनले नेपाली जनताले फेरी एक पटक अन्तिम सङ्घर्ष गर्नुपर्ने बेला आएको बताए।
सुदूरपश्चिम प्रदेश सेक्रेटरी रामबहादुर महराले जनगणतन्त्र सँगै दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद निर्माणका लागी विशाल जनसभाको आयोजना गरिएको बताए।
जनसभाको अध्यक्षता गरिरहेका समाजवादी राष्ट्रिय मञ्चका अध्यक्ष देविदत्त पाण्डेले निर्मला पन्तको हत्यारालाई सरकारले नै संरक्षण गरिरहेको भन्दै भागरथी भट्टको हत्यारा भनेर सार्वजनिक गरिएको १६ वर्षको किशोरले कसरी एक्लै बलात्कार र हत्या गर्न सक्यो भनेर प्रश्न गरिरहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु