भोलि नेपाल बन्द

२०७७ माघ ९ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भोलि माघ १० गते नेपाल बन्द घोषणा गरेको छ। सो पार्टीको सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीविरुद्ध भोलि नेपाल बन्दको घोषणा गरेको हो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले माघ १ गते बिज्ञप्ती जारी गर्दै सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले सञ्चालन गरेको गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न पार्टीपङ्क्ति र श्रमिक जनतालाई निर्देशन पनि दिएका छन् । महासचिव विप्लवले ओली सरकार र राज्यलाई क्रान्तिकारी पार्टी, नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात गर्न पनि आग्रह गरेका छन् । उनले राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सत्य पनि स्पष्ट पारेका छन् । वली सरकारलाई चेतावनी दिँदै उनले वक्तव्यमा भनेका छन्, ‘केपी सरकारले बेलैमा यसलाई बुझोस् भन्ने हाम्रो चेतावनी छ ।’
यसैक्रममा , नेपाल कम्युनिस्ट पार्टीको देशभरका जिल्ला समितिले बिज्ञप्ति जारी गर्दै भोलि माघ १० गते पार्टीले आयोजना गरेको नेपाल बन्दमा सहयोग गरिदिन सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, उद्योगी, व्यवसायी, बुद्धिजीवी, प्राध्यापक, मानवअधिकारकर्मी, नागरिक समाज, पत्रकार, राष्ट्रसेवक कर्मचारी, शिक्षक, युवा विद्यार्थीलगायत आमदाजुभाइ तथा दिदीबहिनीहरूमा विशेष अनुरोध गरेका छन ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु