नेपालमा नयाँ व्यवस्थाको निम्ति अन्तरिम निकायहरुको निर्माण जरुरी

२०७७ पुष २४ गते, शुक्रबार
नारायण शर्मा

नेपालको वर्तमान संकट र यसको समाधानको निम्ति भनेर अब फेरिपनी उही मध्यावधी चुनाव गरेर देसको थप धनजनको क्षति गराउने वा पुरानै संसद् पुनर्थापना गरेर अझै भाँडभैलो, भ्रष्टाचार र भागबण्डा गरेर अर्थात् पद, पावर, पैसा, पहुँच र प्रसंसाको लेनदेन गरेर जनता र राष्ट्रलाई शोषण-उत्पीडन गरी-गराई मर्नु न बाँच्नु गराउने हुँदै होइन ! यदी साँच्चै यस्तो गर्ने-गराउने होइन भने आसन्न सदन/प्रतिनिधि सभाको विकल्पमा सर्वोच्च र सर्वशक्तिसम्पन्न अन्तरिम सदन/सभा, वर्तमान भ्रष्ट, दुष्ट र निकृष्ट ओली सरकारको विकल्पमा संयुक्त र स्वच्छ अन्तरिम सरकार र वर्तमान दलाल तथा नोकरशाही पुँजीवादीहरुको भ्रष्ट संसदीय सत्ता-व्यवस्थाको विकल्पमा नेपालको मौलिक अन्तरिम सत्ता-व्यवस्थाको मोडेल निर्माण गरी यी तीनवटा अङ्गहरुको समुचित संचालन गरेर अघि बढ्नु जरुरी छ ! यस्ता अन्तरिम सदन, सरकार र सत्तामा को कस्ता शक्ति र व्यक्तिहरु अट्ने भन्ने कुरा बहस, संघर्ष र आन्दोलनको प्रकृयामा ती शक्ति-व्यक्तिहरुले खेलेको भूमिकाबाटै छिनोफानो गर्नु नै बढीभन्दा बढी व्यावहारिक र बैज्ञानिक हुन्छ ।
देस र जनताका आधारभूत समस्याहरु दसबर्षे भीषण माओवादी जनयुद्ध र ऐतिहासिक झापा विद्रोहबाट आएका शक्तिहरुको बर्चस्व रहेको वर्तमान प्रतिनिधिसभा (सदन), त्यसद्वारा निर्मित ओली सरकार र तिनैद्वारा स्वीकृत र संचालित संसदीय संघीय शासनसत्ताबाट समाधान हुनुको साटो यसरी दिनानुदिन बल्झदै र बढ्दै गएर झन्झन् वदमासी, विकृती र विसङ्गतिपूर्ण विचार, व्यवहारका कारण ती समस्याहरु जटिलतम र गम्भीरतम बन्दैगरेबाट आज देस चरम संकटमा परेको छ र जनतामा परम असन्तुष्टी, आक्रोश र आक्रमणका भावहरु भड्किरहेका छन् ! र, देसले यिनको विकल्पमा नयाँ र क्रान्तिकारी विकल्पको खोजी गरिरहेको छ । यदी समयमै नयाँ, सही र अग्रगामी विकल्प दिइएन भने भयङ्कर ठूलो विष्फोट र विद्रोह हुने सुनिश्चित छ, जस्ले अग्रगमन र क्रान्ती त के कति हुने हो त्यो भन्न सकिन्न तर जनधनको भने असीमित क्षति हुने कुरामा शङ्का छैन ।
त्यसैले त्यही सरल, सहज, र समयानुकूल विकल्प दिनेसन्दर्भमा हाललाई काम चलाउ अस्थायी विकल्पको रुपमा एक अन्तरिम सदन, अन्तरिम सरकार र अन्तरिम विधि-व्यवस्थासहितको सत्ताको चर्चा चलिरहेको छ । अनि त्यस्तो अन्तरिम सदन, सरकार र सत्तामा सहभागी हुनु-गराउनु पर्नेहरु को कस्ता शक्ति-व्यक्तिहरु होलान् त भन्ने अडकल र छलफल पनि भैरहेका छन् । यसै दौरानमा लागेको कुरा के छ भने यस्तो अन्तरिम सभा, अन्तरिम सरकार र अन्तरिम सत्ता-व्यवस्थामा
किसान, मजदुर, सिपाही (प्रहरी, सेना, सशस्त्र शक्ति), बुद्धिजीवी ( स्वतन्त्र र प्रतिबद्ध अर्थात् संघसंस्था, संगठन र ब्युरोक्रेसीमा आबद्ध समेत), निम्न-मध्यम-राष्ट्रिय पुँजीपती वर्ग वा ती वर्गमा पर्ने सच्चा देसभक्त, लोकतन्त्र/गणतन्त्रवादी, वामपन्थी, क्रान्तिकारी, कम्युनिस्ट नागरिक समाज आदि शक्ति-समूह, संघ-संस्था, मंच-मोर्चा, संगठन-समुदाय, पेसा-व्यवसायमार्फत देस, जनता र क्रान्तिको लागि स्वच्छ सेवा र सतत संघर्ष गरिरहेका व्यक्ती/व्यक्तित्वहरुको सद्भाव, समर्थन, सहयोग, सहभागिता र स्वामित्व हुनुपर्दछ ! अर्को शब्द र अर्थमा भन्ने हो भने अब बन्ने अन्तरिम सदन, अन्तरिम सरकार र अन्तरिम सत्ता/व्यवस्थाका संचालक-परिचालकहरु राष्ट्र र राष्ट्रिय स्वाधीनतापक्षधर, जनता र जनतन्त्र/लोकतन्त्रपक्षधर, अग्रगमन र परिवर्तनका अभियन्ता, न्याय-समानताका हिमायती, स्वाभिमानी-स्वतन्त्रताप्रेमी र स्वच्छ-सदाचारी चिन्तन र चरित्रका शक्ति-संगठन, संघसंस्था र संस्कृति-प्रवृत्तिका व्यक्तित्व-नेतृत्वहरु हुनुपर्ने देखिन्छ ।
संक्षिप्तमा भन्नु पर्दा वर्तमान सत्ताबाट भएगरेका राष्ट्रघाती, जनघाती र परिवर्तनघाती कार्यहरुका विरुद्धको संघर्ष-अभियानमा स्वतन्त्र वा संगठित रुपमा, एकल वा संयुक्त मोर्चा मार्फत संलग्न, संबद्ध र संघर्षरतहरु नै वर्तमान संसदीय शासन-व्यवस्था र त्यसका अङ्गहरु मुख्यतः सदन, सरकार र सत्ताका विकल्पमा बन्ने-बनाइने नयाँ अन्तरिम सदन-सभा(जनप्रतिनिधि सभा/व्यवस्थापिका), अन्तरिम सरकार र अन्तरिम सत्ता-व्यवस्थाका स्टेकहोल्डर वा हकदार हुनेछन् ! तसर्थ आउनुहोस्, त्यस्ता सबै हकदारहरु नेपालको वर्तमान र भविष्यका समेत संकट मोचनका लागि एक बृहत् संयुक्त मोर्चा बनाएर निर्णायक संघर्षमा जुटौं ! र, नेपाल र नेपाली जनमनमा दीर्घकालीन रुपमा न्याय, समानता, स्वतन्त्रता, स्वाधीनता, स्वाभिमान र समृद्धिसहितको शान्ति, सहिष्णुता र सुखसन्तोषको ग्यारेन्टी गरौं !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु