ट्रम्प सत्ता हस्तान्तरण गर्न तयार

२०७७ मंसिर ९ गते, मंगलवार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडेनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण शुरु गर्न स्वीकार गरेका छन् । उनले त्यसका निम्ति जिम्मेवार संघीय निकाय ‘जिएसए’ लाई गर्नुपर्ने आवश्यक काम गर्न सिफारिस गरेका हुन् ।
चुनावको परिणामविरुद्ध आफ्नो कानूनी लडाइँ भने जारी रहने ट्रम्पको भनाइ छ । जिएसएले पनि बाइडेनलाई ‘स्पष्ट विजेता’को रूपमा आफूले स्वीकार गरेको जनाएको छ । जिएसएले बाइडन समूहलाई प्रक्रिया शुरु गर्ने भनी जानकारी दिएपछि ट्रम्पले ट्वीट गर्दै प्रक्रिया अघि बढाउन स्वीकार गरेका हुन् । मुख्य संघीय निकायहरुलाई ‘जे गर्न आवश्यक पर्ने हो त्यो गर्नु’ भनेर आदेश दिइसकेको ट्रम्पले ट्विटमा उल्लेख गरेका छन । यो भनाइलाई अमेरिकी सञ्चारमाध्यमले पहिलो पटक ट्रम्पले हार स्वीकार गरेको रुपमा प्रचार गरेका छन् ।
ट्रम्पद्वारा नियुक्त ‘जिएसए’की प्रशासक इमिली मर्फीले राष्ट्रपति निर्वाचित बाइडनका निम्ति ६३ लाख डलरको कोष उपलब्ध गराउने बताएकी छन् । उनले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाव नआएको जनाएकी छन् ।
बाइडेनको समूहले पनि महामारी र राष्ट्रिय सुरक्षाका मुद्दामा सरकारी अधिकारीहरू सँगको बैठकहरूपछि सत्ता हस्तान्तरण सुरु हुने कुरा वक्तव्यमार्फत् जनाएको छ । उसले मर्फीको पत्रको स्वागत गरेको छ । डिसेम्बर १४ मा बाइडनको जित अमेरिकी इलेक्टरल कलेजबाट प्रमाणित हुँदैछ । बाइडेनले जनवरी २० मा शपथ लिएपछि आफूले सरकारमा प्रमुख भूमिका दिने चाहेका व्यक्तिहरूको नाम चयन गर्न शुरु गरेका छन् । पूर्वविदेश मन्त्री जोन केरीले जलवायुसम्बन्धी विशेष दूत र एन्टोनी ब्लिङ्केनको नाम विदेशमन्त्रीको रूपमा प्रस्तुत गरिसकिएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु