आवाज

बलराम तिमल्सिना २०७७ आश्विन १४ गते, बुधबार

यो पहिलो आवाज
जुन आइरहेको छ नि मालिक ?
दुई सय पचास वर्षपछि
चिहानबाट उठेर आएको
रिन्जिन दोर्जेको आवाज हो
मुक्तिको आवाज,
स्वतन्त्रताको आवाज,
स्वनिर्णयको आवाज,
तिम्रो मासिन्या मान्यताका विरुध्द
अस्विकारको आवाज
हुङ्कारको आवाज
विद्रोहको आवाज !
तिम्रो ढोकामा
ढकढक ढकढक ढकढक
दस्तक दिइरहेको दोश्रो आवाज
तिमीले सुन्यौ मालिक ?
त्यो तिम्रा पूर्खाले काटेका
मेरा पुर्खाहरूका
असंख्य अस्थिपञ्जरहरूको आवाज हो !
बाहिर निस्कने हिम्मत छ मालिक ?
तिम्रो सिंहासनको खुट्टा मुन्तिर
कुनै आवाज आइरहेको छ नि है ?
तिमी चिन्छौ त्यो आवाज ?
तिमीले चुडेर ल्याएका
र किचीमिची पारेका
असंख्य चेलीहरूको चित्कार हो त्यो
तिमीले खसी बाख्राझैं बटुलेर
वम्वै पुर्याएका
असंख्य दिदी-वैनीको चित्कार हो त्यो !
तिम्रो दरवारको जगबाट
आइरहेछ कुनै आवाज
तिमी चिन्छौ मालिक ?
त्यो आवाज,
तिम्रो भव्य महल बनाउन
आफूभन्दा ठूलो ढुङ्गो बोक्दाबोक्दै
रगत छादेर मरेका
र, गाई खाएको आरोपमा
जेलमा सडेर मरेका
हाम्रा मेमेहरूको आवाज हो !
यो पछिल्लो नयाँ आवाज छ नि मालिक
तिमीले चिन्यौ त्यो आवाज ?
सङ्घीयताको नाममा
तिमीले पछिल्लो पटक ठगी गरेपछि
त्यो ठगीका विरुध्द लड्न
शैलुङ्को लेकमा
लोकतन्त्र र नक्कली समाजवादका
आकृतिहरू उभ्याएर
चाँदमारी खेलिरहेका
हाम्रा ज्योज्यो-आले र नाना-आङाहरूले
तारो हानिरहेको आवाज हो !
ठूला मालिक ,
यी आवाजहरू
एउटा भयानक सुनामी बोकेर आउँदै छन्
तिमी सुनामीलाई
अँगालोले छेक्न सक्छौ ?

प्रतिक्रियाहरु