एक देश दुई टापु

बलराम तिमल्सिना २०७७ आश्विन ९ गते, शुक्रबार

देशको नाम एउटा हुन्छ
नक्शा एउटै हुन्छ
झण्डा र देशगीत एउटै हुन्छ
न्यायमुखिया, बन्दुक मुखिया र देश मुखिया एउटै हुन्छन्
तर त्यही एउटा देशमा
दुइटा कृतिम टापु हुन्छन्
ती टापुमा अलग अलग मान्छे बस्छन् !
आफ्ना मतदाताहरूसँग डराएर
एउटा टापु पहरा खटाएर सुत्छ
गोलीनिरोधक गाडीमा
आतङ्क-धुन बजाएर दौडन्छ !
अर्को टापुका बासिन्दा
आफैले मत दिएकाहरूसँग डराएर
डरै डरले / पिरै पिरले टाक्सिएर वाँच्छन्
ती दुखमा जन्मन्छन्
दुखमै हुर्कन्छन्
र दुखकै आहालमा मर्छन् !
हो, तपाई पत्याउनोस
हरेक देशमा दुई टापु हुन्छन्
सुनको टापु र दुखको टापु !
दुखको टापुका बासिन्दा
सुनको टापुका बासिन्दालाई
आफ्नो पसिनाको फल
अपच हुने गरी खुवाउछन
र आफू भोकले मर्छन् !
सुनको टापुका बासिन्दाहरू
दुखको टापुमा
दिन रात डाका डाल्छन्
र सरकारी निद्रा सुत्छन् !
सुनको टापुमा सरकारी मान्छे बस्छन्
दुखको टापुमा गैह्र सरकारी मान्छे बस्छन् !
यी दुई टापुका बासिन्दा
हेर्दा खुब मिलेका देखिन्छन्
तर कहिलै मिल्न सक्दैनन्
यिनीहरू चाहेर पनि मिल्न सक्दैनन्
बाघ र बाख्राजस्तै
सर्प र भ्यागुताजस्तै
बाज र परेवाजस्तै
यिनीहरू मिल्नु भनेकै
एउटाको सत्यानाश हुनु हो !

प्यारा नानी बाबुहरू !
हामीले पढ्ने इतिहास भनेको
इतिहासकारहरूले
ढाँटेको , बङ्ग्याएको र लुकाएको
यिनै दुई टापुका बासिन्दाहरूको
अविछिन्न सङ्घर्षको कथा हो !

प्रतिक्रियाहरु