भारतीय संसदमा ‘गाेर्खा जनजाति’काे मुद्दा

२०७७ भाद्र ३० गते, मंगलवार


काठमाडौं । भारतीय संसदमा पहिलाेपटक ‘गाेर्खा जनजाति’ काे मुद्दा उठेकाे छ । भारतीय संसदकाे मनसुन सत्रमा दार्जिलिङका ‘गाेर्खे सांसद’ राजु विष्टले गोर्खाका ११ जातजातिलाई जनजातिको मर्यादा दिइनुपर्ने आवाज उठाएका हुन् । विष्ट भारतीय जनता पार्टी (भाजपा) काे तर्फबाट निर्वाचित सांसद हुन् ।
भाजपाले अघिल्लो लोकसभा चुनावका वेला गोर्खा जातीय समुदायका दुइटा मुद्दालाई चुनावी घोषणापत्रमा समावेश गरेको थियो, जसमध्ये एक मुद्दा गाेर्खा जनजातिसम्बन्धी थियाे । उक्त मुद्दा सांसदले संसदमा उठाएर पुनः चर्चामा ल्याएका छन् ।
संसद खुलेकाे पहिलाे दिनमा नै सांसद विष्टले गाेर्खाका ११ जातलाई जनजातिको सूचीमा समावेश गर्ने प्रक्रिया तत्कालै सुरु गर्न भारतका आदिवासी मामिलामन्त्री अर्जुन मुन्डा र गृहमन्त्री अमित शाहको ध्यानाकर्षण गराए ।
भारत सरकारले छुटेका ११ गोर्खा जातजाति राई, गुरुङ, मगर, नेवार, सुनुवार, याखा, खस, जोगी, भुजेल, धिमाल र थामीलाई अनुसूचित जनजातिको मर्यादा प्रदान गर्न तीनवटा समिति गठन गरिसकेको बताइन्छ । तर पनि ती समितिका प्रतिवेदन हालसम्म सार्वजनिक नभएकाे सांसद विष्टकाे भनाइ छ । उनका अनुसार भारतीय गोर्खालाई सन् १९४१ सम्म ‘हिल ट्राइब्स’ को दर्जा दिइएकोमा पछि भारत सरकारले एकलाैटी रूपमा त्याे दर्जा खाेसेकाे थियाे ।

प्रतिक्रियाहरु