इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन आग्रह

२०८१ बैशाख २ गते, आईतवार


काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ । आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षाको ध्यान दिन आग्रह गरेको हो । दूतावासले सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन पनि अनुरोध गरेको छ।
इजरायली होम फ्रन्ट कमाण्डले पनि सर्वसाधरणका लागि नयाँ निर्देशनहरू जारी गरेको छ । सोमबार राति ११ बजेसम्म लागु हुनेगरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र सभारभेला नगर्न निर्देशन जारी गरिएको छ । ‘आवश्यक सुरक्षाकालागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं,’ जारी सूचनामा भनिएको छ ।
त्यस्तै आवश्यक परे सम्पर्क गर्न दूतावासले दुई वटा सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ । द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० नम्बरमा र सहचारी संजयकुमार साहलाई ०५४५५८२०७७ नम्बरमा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।

प्रतिक्रियाहरु