कवि बन्ने घोषणा

बलराम तिमल्सिना २०७७ श्रावण ४ गते, आईतवार

भोक लाग्छ कि भन्ने दुख छैन
बरु भोक लाग्दैन कि भन्ने दुख छ
लुगा फाट्ला कि भन्ने दुख छैन
बरु फाट्दै नफाटेर दुख छ
दुख पाइएला कि भन्ने दुख छैन
बरु दुख देखाउन नजानिएला कि भन्ने दुख छ
अँ एउटा दुख चै लुकेर बसेको रहेछ
हृदयको सातपत्रे भित्र-
चर्चित बन्ने रहरको दुख
त्यही दुखले तलतल लागेर अचेल
म कवि भएको छु !

भोकको कविता लेखौं भने
भोकभन्दा पहैलै भोजन आइपुग्छ
अभावको कविता लेखौं भने
अभावभन्दा पहिलै वैभव उभिन्छ
भेदभावको कविता लेखौं भने
भेदभाव गर्ने नै आफैं परियो
शोषण आफैले गरियो
दमन आफैले गरियो
नारी अधिकारको कविता लेखौं भने
वलपूर्वक स्त्री-गमन आफैंले गरियो
देशको कविता लेखौं भने
छोरो अमेरिकाको बासिन्दा
छोरी अस्ट्रेलियाकी बासिन्दा
आफ्नै पनि पिआर छ
आज उड्ने कि भोलि उड्ने
घरमा सुट्केश तैयार छ !

जिन्दगीमा
पुगिसरी नै पुगिसरी छ
फुर्सद नै फुर्सद छ !

भो अव फूलको कविता लेख्छु
अव जूनको कविता लेख्छु
फूलसँग जिस्कन्छु
जूनसँग मस्किन्छु
नदी , झरना, वादका कोलाज
यिनै यिनैका कविता लेख्छु !

कल्पनाकी परीलाई
नाङ्गै अगाडि उभ्याउँछु
र नाङ्गी उसका
पैतालादेखि सिरसम्मको कविता लेख्छु
हस्त मैथुन गर्दै कविता लेख्छु
कविता लेख्दै हस्त मैथुन गर्छु
मनमनै उसलाई बलात्कार गर्छु
र स्खलित नहोउन्जेल कविता लेख्छु !

तिनीहरू लेखुन भोकको कविता
जो भोकले सताइएका छन्
तिनीहरू लेखुन विद्रोहको कविता
जो पैतालामुनि दवाइएका छन्
म त जूनलाई पनि प्रियसी देख्छु
म त ‘राराकी अप्सरा’ लेख्छु !

पत्रकार मेरै छन्/ सम्पादक मेरै
प्रकाशक मेरै छन्/ बजार मेरै
मेरो के छैन ?
सिङ्गै सरकार मेरै / सिङ्गै सत्ता मेरै
पत्रिकामा कविता छपाउँछु
टेलिभिजनबाट वाचन गर्छु
महोत्सवमा धुम मचाउँछु
देश विदेश उखुम मच्चाउँछु !

म कुर्कुरे जवानीको कविता लेख्छु
म दन्कदो यौनाग्निको कविता लेख्छु
आगो तिनीहरू मात्रै बाल्दैनन्
आगो अब म पनि बाल्छु
थाल्छु अब म पनि थाल्छु
कविता लेख्न म पनि थाल्छु !

तिनीहरूले बाल्ने आगोले
हृदय उमाल्छ र बिद्रोह भर्भराउँछ
मैले बाल्ने आगोले
इन्द्रीय उमाल्छ र उत्तेजना भर्भराउँछ !

प्रतिक्रियाहरु