आज रुपन्देही बन्द

२०७६ जेष्ठ ४ गते, शनिबार

काठमाडौं, ४ जेठ । नेपाल कम्युनिस्ट पार्टीले आज रुपन्देही जिल्ला बन्दको आव्हान गरेको छ । बुद्ध जयन्ती मनाउन प्रधान मन्त्रि केपि वलि रुपन्देही पुगेपछि सो पार्टीले आज रुपन्देही बन्द गरेको हो । आफ्नो पार्टीलाई लगाएको प्रतिबन्ध फुकुवा नगर्दासम्म प्रधान मन्त्रि केपि वलि जुन जिल्लामा पुगेपनि बन्द गर्ने घोषणा गरेको र सोहि बमोजिम पार्टीले आज बन्दको घोषणा गरेको हो ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीका सेक्रेटेरी अमर आरसिद्वारा हस्ताक्षरित विज्ञप्ति:
“हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले दलाल पूँजीवादी सत्ताको राष्ट्रघात, भ्रष्टाचार, तस्करी, बलात्कार, कमिसनखोरी, दलालीका विरुद्ध संघर्ष गरिरहेको छ । ती विषय हाम्रा नभएर नेपाली जनताका विषय हुन र जनताकै हितका लागि पार्टीले प्रतिरोध संघर्षको बाटो पकडी रहेको छ । विडंवना कथित वामपन्थी, कम्युनिष्टको सरकार भनिने सामाजिक दलाल पूँजीवादी सरकारले ती राष्ट्रघाति, जनघाति, भ्रष्ट तत्वहरुको रक्षार्थ हाम्रो पार्टी विरुद्ध दमन गरिरहेका छ । हामी जनता र देशको हित, न्यायपूर्ण आवाज र संघर्ष विरुद्ध हुने कुनै पनि प्रकारको दमनको सशक्त प्रतिराध गर्ने विषयलाई आफ्नो कर्तव्य ठान्दछौं । कथित बामपंथीको सरकार भनिने केपि-पिकेद्वारा हाम्रो पार्टीमाथी लगाईएको कथित प्रतिबन्ध लाई हामिले प्रतिरोध गर्दै जनताका बिचमा आफ्ना कार्यक्रमहरुलाई अगाडी बढाउदै, संगठन सुदृढ तथा बिस्तार अभियानलाई समेत तिव्रता दिईरहेका छौ ।
हाल चलिरहेको फासिष्ट दमनलाई पनि कुनै हालतमा सहन गर्न सकिदैन । हामिले शान्तिपुर्ण कार्यक्रमहरु गर्दागर्दै हाम्रा पार्टीका नेता तथा कार्यकर्तालाई गैरन्यायिक हिरासतमा राख्नेदेखी झुट्टा मुद्दामा जेल चलान गर्ने जस्तो अमानवीय कृयाकलाप फासिष्ट सरकारले गरिरहेको छ । केपीले दमनको धम्की दिनु र देशैभरी गोली चलाउने, सेनाप्रहरी परिचालनदेखि चरम दमन हुनुले उनीहरुको फासिवादी चरित्र उदाङ्गो भएको छ । हामी स्पष्ट गर्न चाहन्छौं कि उनीहरुले जस्तोसुकै दमन गरेपनि हाम्रो पार्टीको वैज्ञानिक समाजवादप्रतिको निष्ठा, श्रमिक जनताको मुक्ति, देशको स्वाधिनताको लागि गरिने संघर्षमा केही फरक पर्नेवाला छैन नत उनीहरुको दमन नै सफल हुने छ बरु क्रान्तिकारीहरुलाई अरु दृढ र समर्पित हुन प्रेरित गर्ने छ । अन्ततः दमन र विद्रोहको इतिहासमा दलालको होइन नेपाली श्रमिक जनता नै विजयी हुनेछन् । केपिको दलाल सरकारले लगाएको कथित प्रतिबन्ध फिर्ता नगरेसम्म केपि- प्रचण्ड लाई पनि हाम्रो पार्टीले प्रतिबन्ध लगाएको सबैमा बिधितै छ, पुर्वघोषित कार्यक्रम अनुसार हाम्रो पार्टीले केपि ओलि गएको जिल्लामा बन्द गर्ने घोषण गरेकोले भोलि ४ गते केपि ओलि रुपन्देहीको लुम्बिनी आउने कार्यक्रम रहेकोले सम्पुर्ण जनताहरुलाई सो कार्यक्रम बहिष्कार गर्न अनुरोध सहित रुपन्देही जिल्ला बन्दको कार्यक्रम घोषणा गर्दछौं । कथित प्रतिबन्ध तत्काल फिर्ता नगरे यसभन्दा अझ कडा संघर्षका कार्यक्रम अगाडि आउने चेतावनी सहित भोलि ४ गते रुपन्देही जिल्लाभर अत्यावश्यक साधनबाहेक यातायात सम्पुर्ण रूपमा बन्द रहने जानकारी सहित, हाम्रो बाध्यात्मक कार्यक्रमलाई सहयोग गर्नुहुन सम्पुर्ण रुपन्देहीबासी जनतामा अनुरोध गर्दछौं ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु