कमरेडलाई फाइदा मन पर्छ – बलराम तिमल्सिना

२०७५ श्रावण ११ गते, शुक्रबार

हिजो आज मरेपछि
कमरेडहरू ‘ स्वर्गीय’ हुनुहुन्छ प्राय
र कमरेडका भलोचिन्तकहरू
भटाभट लेख्छन्
रिप..रिप..रिप !

हिजो आज
मरेपछि बाबु-आमा
कमरेड किरियापुत्री बस्नु हुन्छ
गौदान दश दान सवै गर्नु हुन्छ
वरखी वार्नु हुन्छ
मासिक वर्खन्ता गर्नुहुन्छ !

कमरेडलाई अचेल
मार्क्सवादसँग कम र
गरुढ पुराणप्रति बढेको छ विश्वास
समाजवादको कुरा हावा लाग्छ
र स्वर्ग- नर्क सत्य लाग्छ कमरेडलाई !

कमरेड
देउता मान्नु हुन्छ
भूत मसान मान्नु हुन्छ
धामी झाँक्री मान्नु हुन्छ
बोक्सी/डाइन मान्नु हुन्छ
सिमे भुमे सवै सवै मान्नु हुन्छ !

कमरेडको सिरानीमा छ-
भागवत गीता
र खुट्टापट्टी छ –
परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति
कमरेडको नकच्चरो तर्क छ
उठ्ने वित्तिकै देखियोस भनेर
दोश्रो किताव खुट्टापट्टि राखिएको हो !

हामीले आलोचना गरेर के गर्नु !
यी सवै गरेर कमरेडलाई फाइदै फाइदा छ
यी नमान्दा
कमरेडको कद मुसो जत्रो थियो
यी सवै मानेपछि कमरेड
हात्ती जत्रो हुनु भएको छ !

पक्का भौतिकवादी बन्दा
कमरेड जङ्गलमा हुनुहुन्थ्यो
सडकमा हुनुहुन्थ्यो
चप्पलमा हुनुहुन्थ्यो
यी सवै मानेपछि अचेल
कमरेड सत्तामा हुनुहुन्छ
सुखमा हुनुहुन्छ
फाइदै फाइदाको वर्षात छ
खुव फापेको छ कमरेडलाई
कमरेडका सपरिवार खुसी छन् !

एक दिन नजिकै वोलाएर
कानैमा खुसुक्क भन्नु भयो कमरेडले-
-“कमरेड मलाई फाइदा मन पर्छ !”

प्रतिक्रियाहरु