माओवादी केन्द्रका नेताबिरुद्ध जनअदालतमा मुद्दा

२०७४ माघ १८ गते, बिहीबार

काठमाडौँ, १८ माघ । नेकपा माओवादी केन्द्रका नेताबिरुद्ध जनअदालतमा मुद्दा परेको छ । सहिद र वेपत्ता परिवारको नाममा राज्यबाट आएको रकम हिनानिा गरेपछि उनीहरु बिरुद्ध जनअदालतमा मुद्दा परेको हो । पोखरास्थित नयाँ बजारमा रहेको गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी संस्था लिमिटेडमा शहिद बेपत्ता अक्षयकोषको सवा करोड रकम हिनामिना गरेका हुन् । शहिद बेपत्ता अक्षयकोषबाट पोखरामा शहिद मेमोरियल आवासीय माध्यमिक विद्यालयको नाममा उक्त रकम निकालेर हिनामिना गरिएको हो । उक्त सहकारीको मुद्दती खातामा जम्मा गरिएको १ करोड भन्दा बढी रकम फिर्ता गरिएको छैन । रकम फिर्ता नगरेर हिनामिना गरेको भन्दै छानविनको लागि नेपाल कम्युनिष्ट पार्टीमा उजुरी परेको छ । उक्त उजुरीसँगे माओवादी केन्द्रमा खैलाबैला मच्चिएको छ ।
शहीद तथा बेपत्ता परिवारका नाममा स्थापना गरिएको अक्षयकोषको रकम गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी सस्था लिमिटेटको मुद्दती खातामा जम्मा गरिएको तर सहकारीले फिर्ता नगरेको भन्दै सहिद र वेपत्ता परिवारले नेकपाको न्याय विभागमा उजुरी परेको बताइएको छ ।
अक्षयकोषको रकम फिर्ता गर्न सम्बन्धित पक्षले करिब २ वर्षदेखि पटक–पटक ताकेता गरेपनि उक्त सहकारीले रकम फिर्ता गर्न आनाकानी गरेपछि शंका लागेर खोजी भएको हो । सहिद तथा वेपत्ता परिवारको रकम हिनामिना गरिएको उजुरी पार्टीमा परेको नेकपा कास्कीका सेक्रेटरी रुपेशले जानकारी दिएका छन् । उनले विज्ञप्ति निकालेरै सहिद र वेपत्ता परिवारको रकम हिनामिना गरिएकोबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले बिज्ञप्ति मार्फत यस्तो गैरजिम्मेवार हर्कत नगर्न गण्डकी माछापुच्छ्रे सञ्चार सहकारीलाई चेतावनी दिएका छन् । रुपेशले उक्त सहकारीले साँवा ब्याज फिर्ता नगरेको खण्डमा जनयुद्ध एवम् जनआन्दोलनका शहीद, बेपत्ता परिवारको भावना र उजुरीको उच्च सम्मान गर्दै आफ्नो पार्टी संघर्षको कदम अघि बढाउन बाध्य हुने बताएका छन् ।
नेकपाले अक्षयकोषको रकम फिर्ता गराउन भूमिका निर्वाह गर्न सहकारीका तत्कालिन अध्यक्ष लक्ष्मण गुरुङ्ग, शहिद प्रतिष्ठानका अध्यक्ष पूर्व मन्त्री हितराज पाण्डे, गण्डकी सञ्चार गृहका तत्कालिन प्रमुख लोक प्रसाद बन्जाडे ‘अक्कल’ र शहिद आवासीय माध्यमिक विद्यालयको अध्यक्ष हरि अधिकारी ‘कुमार’ गण्डकी माछापुच्छ्रे सञ्चार सहकारीका बिशाल बास्तोला लगायतका व्यक्तिसँग आग्रह गरेको छ । रकम फिर्ता नगरेपछि कारवाही अगाडि बढाउने नेकपाले बताएको छ ।
नेकपा कास्कीले सहकारीका सञ्चालक, सहकारी डिभिजन कार्यालय कास्की, सञ्चारकर्मी एवम् मानवअधिकारवादी संघ–संस्था र आम जनसमुदायमा आह्वान पनि गरेको छ ।
यसैबीच सहिद आवासीय विद्यालयका अध्यक्ष हरी अधिकारी ‘कुमारले’ सहकारीसँग १ करोडको लेनदेन भएको स्वीकार गरेका छन् । सहकारीमा जम्मा गरिएको शहिद बेपत्ता अक्षयकोषको रकम आफुहरु आवस्यकता पर्दा झिक्दै र राख्दै गरेको उनको भनाई छ । तर निश्चित प्रतिशत ब्याज प्रदान गरी तोकिएको समय पश्चात मात्र झिक्न सकिनेगरी खोलिएको खातालाई मुद्दती खाता भनिन्छ । यो खाताबाट पटक पटक रकम झिक्न मिल्दैन । गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी संस्था लिमिटेडले सहकारीले रेडियो गण्डकी, गण्डकी टेलिभिजन र गण्डकी खबर राष्ट्रिय दैनिकलगायतका सञ्चारमाध्यम सञ्चालान गरिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु