प्रचण्डले अब कसैलाई दोष थोपर्ने ठाउँ छैन

२०७३ श्रावण २३ गते, आईतवार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । गत बुधबार व्यवस्थापिका संसद्बाट भारी मतले प्रधानमन्त्रीमा निर्वाचित भएका प्रचण्डको अगाडि देश र जनताका निम्ति गर्नुपर्ने थुप्रै काम र चुनौती छन् । देशमा कालोबजारी, अनियमितता र भ्रष्टाचारले जरो गाडेको छ । भूकम्प र बाढीपहिरोले जनता प्रताडित बनेका छन् । सर्वप्रथम सरकारले जनताका यी न्यूनतम समस्याहरुलाई ठोस पहलकद्मीका साथ समाधान गर्नुपर्ने देखिन्छ । तर, प्रचण्ड प्रधानमन्त्री भएलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले यसतर्फ ध्यान केन्द्रित गर्न सकेको देखिएन । बरु प्रचण्डले आफ्नो म्यादी प्रधानमन्त्री पद जोगाउन मधेशी दललाई खुसी पार्न मन्त्रिपरिषद्को बैठक केन्द्रित गरेको देखियो । प्रचण्ड नेतृत्वको सरकारले मधेश आन्दोलनमा सहिद भएका परिवारलाई पहिलो प्राथमिकतामा राख्दै दस लाख उपलब्ध गराउने र मधेश आन्दोलनमा घाइते भएकाहरुलाई बिलबमोजिम उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ । तर, करिब डेढ वर्षदेखि खुला आकाशमुनि बसेका भूकम्प पीडित र बाढीपहिरोबाट सर्वश्व गुमाएर भोकैनाङ्गै भएका जनतालाई उनले खासै सम्बोधन गर्न सकेको देखिएन । यसरी हेर्दा प्रचण्ड नेतृत्वको सरकारले पहिलो गाँसमै ढुङ्गा परेको अनुभूति नेपाली जनताले गरेका छन् । नौ महिनाको लागि सत्ता सम्हाल्न पुगेका प्रचण्डले यसरी नै काम अगाडि बढाए उनी र उनको दल नेपाली जनताको अगाडि सर्वाङ्ग हुने निश्चित देखिन्छ । हिजो सरकार मै रहेर पनि प्रधानमन्त्री केपी ओलीले एकलौटी गरे, काम गर्न दिएनन् भनेर काँग्रेसको बुई चढेर सत्तारोहण गर्न पुगेका प्रचण्डले अब कसैलाई दोष थोपर्ने ठाउँ छैन । त्यसैले प्रचण्डले आफ्नो सत्ताको आयुको ख्याल राख्दै जनहित र राष्ट्रहितको कार्य गर्न ढिलो गर्नु हुँदैन । अन्यथा देश र जनताले दुःख पाउँछन् नै त्यसबाट प्रचण्ड र उनको पार्टीसमेत पत्तासाफ हुनेछ, चेतना भया… ।

प्रतिक्रियाहरु