‘राष्ट्रियताको रक्षाका लागि चार कुरामा ध्यान दिनुपर्दछ’

२०८१ बैशाख २२ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा नेपाल चीन मैत्री समाजका अध्यक्ष सुशिल सीले राष्ट्रियताको रक्षाका लागि चार कुरामा ध्यान दिनुपर्ने बताएका छन् । शुक्रबार नेपाल चीन मैत्री समाजले आयोजना गरेको ‘नेपालको राष्ट्रियता र थपिएका चुनौति’ विषय अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले नेपालको राष्ट्रियता भूराजनीति, आर्थिक, प्राविधिक र पार्टीहरुको आत्मागत प्रवृत्तिका कारण कमजोर भएको तर्फ इङ्कित गर्दै यसलाई सच्याउनुपर्नेमा जोड दिएका थिए । साम्राज्यवाद नेपालमा आइसकेको ठोकुवा गर्दै संकटमा परेको राष्ट्रियतालाई जोगाउन नेपाली विशेषताको समाजवादी व्यवस्थामा जानुपर्ने बताए । उनले नेपालको राष्टियता बलियो बनाउन आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने, चीनसँग आर्थिक, राजनीतिक, सांस्कृतिक हिसावले सम्बन्ध विस्तार गर्नुपर्ने बताए ।
उनको कार्यपत्रमा टिप्पणी गर्दै प्रोफेसर डा. खगेन्द्र प्रसाईंले नेपाल युद्धको खतमा रहेको बताए । ‘अमेरिका जहाँ पुग्छ त्यहा युद्ध हुन्छ।’, उनले भने, ‘अमेरिका नेपालमा एमसीसीमार्फत छिरेको छ । नेपालमा पनि युक्रेनको जस्तो युद्ध नहोला भन्न सकिदैन ।’ उदारवाद व्यवस्थाका कारण ६० लााख युवाहरू विदेशीएको तर्क गर्दै यो पनि राष्ट्रियताको मामला भएको बताए ।
प्रसाईंले साम्राज्यवादीले संचालन गरेका मल्टिनेशनल कम्पनीहरुका कारण देशको राष्ट्रियता कमजोर नहुने समेत बताए । ‘बहुराष्ट्रिय कम्पनीले पुँजी लिएर आएर जुन देशमा लगानी गरेका छन्, उनीहरुले त्यहाँको राष्ट्रियताका पक्षमा काम गर्नैपर्छ ।’, उनले भने, ‘उनीहरुले राष्ट्रियताको रक्षाका लागि काम नगरेको खण्डमा नाफा कमाउन गाह्रो हुन्छ । जुन देशमा त्यो कम्पनी छ उसले त्यो देशको राष्ट्रियताको रक्षा गर्नैपर्छ ।’
नेपाल सरकारका पूर्वमुख्य सचिव लिलामणि पौडेलले मल्टिनेसनल कम्पनीबाट देशलाई फाइदा र घाटा दुबै हुने तर्क गरे । ‘बहुराष्ट्रिय कम्पनीले चुट्किको भरमा नेपाल जस्ता देशलाई धनी र गरिब बनाउन सक्छन् । उनीहरुको हातमा नेपाल जस्ता देशका सूचनाहरू छन् ।’, उनले भने, ‘ति सूचना मल्टिनेसनल कम्पनीमार्फत अमेरिका पुगेका छन् । त्यस्ता कम्पनीलाई अमेरिकनले चलाइरहेका छ ।’
सूचना प्रविधिसँग जोडिएका मल्टिनेशनल कम्पनीहरुका कारण देशको राष्ट्रियतामा थुप्रै चुनौतीहरू थपिएको उनको भनाई थियो । ‘सूचना र संचारको विस्तारले साना मुलुक इतिहासकै संकटमा छन् ।’, उनले भने, ‘एकलौटी राज गरिरहेको अमेरिकालाई चीनले टक्कर दिइरहेको छ । यसलाई रोक्न अमेरिका खुलेर लागेको छ । यसले नेपाललाई प्रयोग गर्न खोजिरहेको छ । हामीले हाम्रो मित्र राष्ट्र विरूद्ध कसैलाई पनि खेल्न दिन हुदैन, प्रयोग गर्न दिनु हुदैन ।’
ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपालले नेपालको राष्ट्रियता सुगौली सन्धिदेखि संकटमा परेको बताए । ‘हामीले सुगौली सन्धि भारतसँग होइन, इष्टइण्डिया कम्पनीसँग गरेका थियौं । इष्टइण्डिया कम्पनी फर्किदा गरेको सम्झौतामा आजसम्म गरेका सम्पूर्ण सन्धिहरु खारेज भएका छन् भनेर लेखिएको छ ।’, उनले भने, ‘त्यही सन्धिका कारण पाकिस्तान र भारत बने, अरु साना देश पनि बने । हाम्रो नेपालको भूमि किन फिर्ता भएन ?’ नेपालको जमिन भारतले भोगचलन गरिरहेको भन्दै त्यसलाई जसरी पनि फिर्ता ल्याउनुपर्नेमा जोड दिए ।
प्रोफेसर बालमुकुन्द रेग्मीले राष्ट्रियताको चुनौती मुख्य चार वटा कुरामा देखा परेको बताए । भूराजनीति, आर्थिक, प्राविधिक, आत्मागत प्रवृत्तिका कारण देश संकटमा परेकाले यसलाई सच्याउनुपर्नेमा जोड दिए । ‘आर्थिक सार्वभौमिकताको सवाल निकै पेचिलो बनेको बताउँदै उनले उत्पादन नगरेका कारण परनिर्भरता बढेको जिकिर गरेका थिए । ‘विदेश हस्ताक्षपको प्रमुख कारणका आन्तरिक हो । हामी नेपालमा केही समस्या भयो भने विदेशीलाई गुहाछौं ।’, उनले भने, ‘यसले हामीलाई कमजोर बनाउँछ । हामीले आफ्ना समस्यालाई आफैले समाधान गर्नसक्नु पर्दछ ।’ अमेरिकाका कारण राष्ट्रियताको सवालमा भारत, चीन पनि समस्यामा परेको उनको तर्क थियो । उनले अमेरिकाले भारत, चीन, नेपालमा एकैचोटी आर्थिक, राजनीतिक, सांस्कृतिक, भाषिक दवाव बढाएर समस्याहरु निम्त्याईरहेको जिकिर गरे ।
अधिवक्ता रतन भण्डारीले बहुराष्ट्रिय कम्पनीहरूले कहिल्यै राष्ट्रियताको रक्षा गर्न नसक्ने बताए । प्रा.डा खगेन्द्र प्रसाईंको भनाईलाई खण्डन गर्दै बहु राष्ट्रिय कम्पनीले राष्ट्रियताको रक्षा गर्छ भन्नु साम्राज्यवादको भाषा भएको ठोकुवा गरे । उदारिकरणले उधोग बन्द हुँदा देशमा सम्पूर्ण संकट उत्पन्न भएको भन्दै यसलाई कम्युनिस्टहरुले सच्याउनुपर्नेमा जोड दिए ।
प्रध्यापक डा. लिला ल्याइचिङ राष्ट्रियता भनेको देशप्रतिको माया भएको बताइन् । ‘जनताका मागहरुलाई पुरा गर्नु आजको राष्ट्रियता हो, देशको समानुपातिक विकास हुनु राष्ट्रियता हो ।’, उनले भनिन्, ‘प्रविधिका कारण देशमा सुरक्षा छैन, मानिस पनि सुरक्षित छैन । त्यही भएर देशलाई माया गर्ने मान्छे पनि छैनन् । त्यही भएर राष्ट्रयता संकटमा परेको छ ।’ उनले छिमेकी देशका स्वार्थहरूलाई सम्बोधन गर्दै जाँदा देशको संकटको समेत समाधान हुने तर्क गरिन् ।
कार्यक्रममा समाजका कोषाध्यक्ष अधिवक्ता कपिलचन्द पोखरेलले उपस्थित सबैलाई धन्यावाद दिएका थिए । अन्तरक्रियाको संचालन नेकपा पोलिटब्युरो सदस्य आस्था सीले संचालन गरेकी थिइन् । -शोभराज बराल

प्रतिक्रियाहरु