ओलीको भारत भ्रमणबाट सत्ता गठबन्धन नै असन्तुस्ट

२०७२ फाल्गुन १४ गते, शुक्रबार

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबाट फर्केको २४ घन्टा बित्न नपाउँदै सत्ता गठबन्धनमा सहभागी दलका नेताहरूको आक्रोश र अविश्वासपूर्ण प्रश्नको सामना गर्नुपरेको छ । ६ दिने भारत भ्रमणका बारेमा सत्ता गठबन्धनका शीर्ष नेतालाई जानकारी दिन हिजो प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच अब सौहार्दपूर्ण सम्बन्ध कायम भएको बताएका थिए । उपस्थित नेताहरूले प्रधानमन्त्रीको सम्मानमा नेपाल र नेपालीले के पाए भन्ने प्रश्न दोहोर्‌याइरहँदा ओलीले आफ्नो भ्रमणले नेपाल–भारत सम्बन्ध सहज बनाएको र अविश्वासको सबै दूरी हटेको बताएका थिए । प्रधानमन्त्री ओलीको जबाफबाट आश्वस्त हुन नसकेका सहभागी नेताहरूले प्रतिप्रश्न ओइराहेपनि प्रधानमन्त्रीले कसैको चित्त बुझ्दो उत्तर दिन नसकेको बुझिएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबाट दुई देशबीचको दूरी हटेको जानकारी दिइरहँदा सहभागी एक नेताले संयुक्त विज्ञप्ति जारी हुन नसक्नुको कारणका बारेमा जिज्ञासा राखेका थिए । उत्तरमा ओलीले त्यसै कुरामा मात्र नअल्झिन आग्रह गरेका थिए । ती नेताले पुनः प्रश्न गर्दै ‘तपाईंको सम्मानमा कुनै कमी भएन तर राष्ट्रको सम्मान खोइ ? मुलुकले यो भ्रमणबाट के पायो ? ’ भन्दा ओलीले त्यो कुरा भविष्यले देखाउने बताएका थिए ।
बैठकमा एमाओवादी अध्यक्ष प्रचण्ड, नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री बिजय कुमार गच्छदार नेकपा मालेका महासचिब एवं उपप्रधानमन्त्री सि.पी. मैनाली, राप्रपा नेपालका नेता लोकेन्द्र बहादुर चन्द, राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं उपप्रधानमन्त्री चित्रबहादुर के.सी, नेपाल मजदुर किसान पाटीका अध्यक्ष नारायणमान बिजुक्छे लगायतको उपस्थिती रहेको थियो ।
यसैगरी , प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि हिजो साँझ नै आफ्नो भारत भ्रमणका बारेमा जानकारी गराएका छन् । त्यस अवसरमा प्रधानमन्त्रीले आफ्नो भ्रमणले दुई मुलुकमा उत्पन्न विवाद अन्त्य गरेको बताएका थिए । राष्ट्रपति भण्डारीले राष्ट्र र जनताले नाकाबन्दीका कारण पाएको समस्यालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएकी थिइन् ।

प्रतिक्रियाहरु