डढेलो रोक्न २ हजार किलोमिटर अग्निरेखा

२०८१ बैशाख १६ गते, आईतवार

काठमाडौँ । डढेलो नियन्त्रण गर्न बाँके राष्ट्रिय निकुञ्जले २ हजार किलोमिटर अग्नि रेखा निर्माण गरेको छ । डढेलो नियन्त्रण गर्न निकुञ्ज अन्तर्गतको बढी डढेलो प्रभावित क्षेत्रमा बनाइएको अग्निरेखा डढेलो नियन्त्रणमा प्रभावकारी भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले बताए ।
‘निकुञ्ज क्षेत्रभित्र पर्ने डढेलो जोखिमयुक्त क्षेत्र महादेवा, कोहलपुर, चिसापानी, मुगुवा, खैरी खोला र चुरे क्षेत्रमा अग्निरेखा प्रभावकारी देखिएको छ’, वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले भने, ‘अग्नि रेखाले निकुञ्जको वन क्षेत्रमा डढेलो फैलिन रोकेको छ ।’
निकुञ्जले डढेलो नियन्त्रणलाई प्राथमिकता दिँदै विशेष तालिम प्राप्त सेना र कर्मचारी रहने गरी र्‍यापिड फायर टिम (आरआरटी) लाई २४सै घण्टा तयारी अवस्थामा राखेको छ । निकुञ्ज क्षेत्रभित्र कुनै पनि स्थानमा डढेलो लागेको सूचना प्राप्त हुने वित्तिकै आरआरटी टिम तत्काल पुगेर अग्नि नियन्त्रणमा जुट्ने उनको भनाइ छ ।
‘बढ्दो गर्मीसँगै निकुञ्ज क्षेत्रमा हुने आगलागीले वन्यजन्तु समस्यामा पर्ने भए पनि क्षति पुगेको विवरण छैन’, बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत साहले भने, ‘ठूलो आगलागीका कारण वन्यजन्तुलाई समस्या हुने गरेको छ । यो वर्ष मुगुवा, ओभरी र खैरी क्षेत्रमा बढी आगलागी भएको छ ।’
बाँके राष्ट्रिय निकुञ्जको अधिकांश क्षेत्र झाडी र बुट्यानसहित सुख्खा क्षेत्र भएकाले डढेलोको उच्च जोखिममा पर्छ । डढेलोको कारण संरक्षित जीव अजिंगर संरक्षण गर्न चुनौती बन्दै गएको छ । ठूलो आकारको जीव अजिंगर विस्तारै हिँड्ने भएकाले डढेलोबाट अजिंगरका अन्डा र बच्चा मर्ने सम्भावना बढी हुन्छ ।
डढेलो नियन्त्रण गर्न निकुञ्जले पूर्व सावधानी अपनाउँदै बर्सेनि अग्नि रेखा निर्माण गर्दै आएको छ । निर्माण भएको अग्नि रेखाको मर्मत सम्भार गर्दै नयाँ क्षेत्रमा विस्तार कार्य नियमित रुपमा हुने गरेको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत साहले बताए । -रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

कामिरिता २९औँ पटक सगरमाथा शिखरमा

२०८१ बैशाख ३० गते, आईतवार

१० शेर्पा सगरमाथाको चुचुरोमा

२०८१ बैशाख २९ गते, शनिबार

नेप्से ५ अंकले वृद्धि

२०८१ बैशाख २७ गते, बिहीबार