तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु

२०८१ बैशाख १६ गते, आईतवार


काठमाडौँ । देशमा स्वदेशी तथा विदेशी लगानी भित्राउने उद्धेश्यले आयोजित तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु भएको छ । दुई दिनसम्म चल्ने यो सम्मेलनको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् । दुईदिने सम्मेलनमा नेपालसहित ५५ देशका एक हजार छ सयभन्दा धेरै लगानीकर्ताको सहभागिता रहने नेपाल लगानी बोर्डले जनाएको छ । सम्मेलनमा पालिका, प्रदेश, संघ र निजी क्षेत्रका गरी एक सय ५० परियोजना प्रस्तुत गर्ने तयारी छ ।
उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको बताए । उनले सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजनाहरु शोकेसमा राखिएको बताए ।
मन्त्री पुनले नेपालका आर्थिक सूचक स्थिर र सकारात्मक बन्दै गएको भन्दै नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषि आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको बताए ।
सम्मेलनमा छ वटाभन्दा बढी सत्र सञ्चालन हुनेछन् । ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षालगायत विविध क्षेत्रका परियोजना रहेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए  । संघ, प्रदेश र पालिकाका एक सय १९ र निजी क्षेत्रका ३१ परियोजना छन् । पहिलो दिन आज उद्घाटन सत्र र दुईवटा मुख्य सत्र रहेका छन् । त्यस्तै, दोस्रो दिन भोलि ११ समानान्तर सत्र सञ्चालन हुनेछन् ।

प्रतिक्रियाहरु