नेपाल भारतबीचको सम्बन्धको तुषारो हट्यो : प्रधानमन्त्री ओली

२०७२ फाल्गुन १३ गते, बिहीबार

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण सफल भएको भन्दै नेपाल भारतबीचको सम्बन्धमा केही समय तुषारो देखिए पनि अब त्यस्तो नहुने विश्वास व्यक्त गरेका छन । भ्रमणका क्रममा भारतले नेपालप्रति मित्रताको भावना प्रदर्शन गरेको उनको भनाइ थियो । भारतको ६ दिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्कनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन । केही समयदेखि उत्पन्न भएको दुई देशबीचको असझदारी हटाउन र दुई देशबीचको सम्बन्ध सुधारका लागि भारत भ्रमण पूर्ण सफल भएको बताए ।
भारतीय राष्ट्रपति, प्रधानमन्त्रीदेखि अरु नेता र भारतीय बौद्धिक एवं कूटनीतिक क्षेत्रसँगको छलफलबाट दुई देशबीचको सम्बन्धमा धेरै विषयमा प्रस्टता आएको उनले बताए ।
भूकम्पबाट प्रभावित गुजरातस्थित भुजको पुनर्निर्माणको अवलोकनबाट आफूहरुमा उत्साह र आत्मविश्वास बढेको बताउँदै उनले यसबाट धेरै ठूलो क्षति भएको स्थानमा पनि पुनर्निर्माण गर्न सकिन्छ भन्ने विश्वास बढेको जनाए ।
स्वदेश फर्कनु अघि प्रधानमन्त्री ओलीले मुम्बइमा बलिउडका कलाकारहरुसँग भेटवार्ता गरे । ओलीलाई कलाकारसँग भेटाउने चाँजोपाँजो भने नायिका मनिषा कोइराला गरेकी थिइन् । मुम्बईको होटल ह्यात ग्राण्डमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीलाई भेट्न बलिउड कलाकारहरु तब्बु, जितेन्द्र, शक्ति कपुर, गोविन्दा, गुलसन ग्रोबर, बप्पी लहरी, जैकी श्राफ र नेपाली कलाकार सुनिल थापालगायत पुगेका थिए ।
यसैगरी प्रधानमन्त्री ओलीले मुम्बईस्थित औद्योगिक पार्कमा रहेको हिन्दूस्तान युनिलिभर लिमिटेडको उत्पादन र विश्वव्यापी बजार सञ्जालबारे पनि जानकारी लिए । यसअघि, ६ दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।
त्यस क्रममा नेपाल र भारतबीच द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा विभिन्न सहमतिसमेत गरिएका छन् । तर भ्रमणका क्रममा भएका सहमति तथा समझदारीहरुलाई समेटेर जारी गरिने संयुक्र वक्तब्य भने जारी गरिएको छैन । नेपालको नयाँ संविधानलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा भारतीय पक्षमा अलमल देखिएपछि संयुक्त वक्तब्य जारी हुन नसकेको बुझिएको छ ।
नेपालले संविधानलाई स्पष्ट शब्दमा स्वागत गर्नुपर्ने अडान राखेको तर भारतले अझै पनि राजनीतिक कोर्स पूरा नभएको आशय घुसाउन चाहेपछि संयुक्त वक्तब्य जारी हुन नसकेको बताइएको छ ।

प्रतिक्रियाहरु