काँग्रेस संस्थापनपक्षलाई सभापतिको उम्मेदवार छान्नै सकस

२०७२ फाल्गुन ८ गते, शनिबार

काठमाडौँ । ‘सुशीलको नेतृत्वमा बनायौँ संविधानः समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपाली काँग्रेसको १३ औं महाधिवेशन फागुन २० गतेबाट राजधानीमा सुरु हुने भएको छ । काँग्रेसको संस्थापन पक्षले १३ औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि फागुन १० गतेपछि मात्र उम्मेदवारको घोषणा गर्ने भएको छ । अर्का, बरिष्ठ नेता शेरवहादुर देउवा चुनावी मैदानमा भिडिरहेका बेला संस्थापन पक्षले भने सभापतिको उम्मदेवारी अघि सार्नसम्म सकेको छैन । संस्थापन पक्षले नेतृत्वका आकांक्षीहरुबीच सहमति गराउन नसक्दा उम्मेदवार को बनाउने अझै निष्कर्ष निस्केको छैन । पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि काँग्रेसको संस्थापन पक्षभित्र सभापतिको उम्मेदवार को बन्ने भन्नेमा ठूलै सकस पर्ने देखिएको छ । आसन्न महाधिवेशनका लागि उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, नेतृ सुजाता कोइराला र नेता रामशरण महतले सभापतिमा उम्मेदवारी दिने भन्दै प्रचार थालेका छन् । सिटौला, सिंह, महत र सुजाता चारैजनाले पौडेल पार्टीभित्र अत्यन्त कमजोर भएको भन्दै सभापतिमा उनले जित्न नसक्ने दाबी गर्दै आएका छन् । सिटौलाले हालै केन्द्रीय सदस्य सशांक कोइरालाको निवासमा बसेको केही केन्द्रीय सदस्य सहभागी अनौपचारिक बैठकमा पौडेलले ३ सयभन्दा बढी मत ल्याउन नसक्ने भन्दै आपूm सबैभन्दा बलियो उम्मेदवार भएको दाबी गरेका थिए । सिटौलाले देशभरका महाधिवेशन प्रतिनिधिलाई टेलिफोन सम्पर्क गरेर सभापतिमा सहयोग गर्न आग्रह गर्दै आएका छन् । सिटौला जस्तै सुजाताले पनि प्रचार तीब्र पारेकी छन् । यस्तै सिंहले पनि आफ्नो प्रचार तीब्र बनाइरहेका छन् । सुशीलको निधनपछि आफ्नो अस्तित्वको रक्षा गर्न पनि संस्थापन पक्ष संगठित हुने प्रयासमा देखिएको छ । रामचन्द्रलाई सभापतिको सर्बसम्मत उम्मेदवार बनाउन शेखर र सशांक भित्र भित्रै सक्रिय छन् । संस्थापन पक्षतिर रहेका अर्जुननरसिंह केसीलाई आपूmतिर तानेर महामन्त्रीको उम्मेदवार बनाउने वरिष्ठ नेता शेरबहादुर देउवाले तयारी गरेका छन् । अन्तिम टुंगो नलागे पनि केसी देउवा तर्फबाट महामन्त्रीमा उम्मेदवार बन्ने लगभग निश्चित बनेको छ । कोइरालाको निधनपछि आफ्नो पक्षको अस्तित्व कायम राख्न पनि संस्थापन पक्षीय नेताहरु बढि सक्रिय रहेका छन् । जिल्ला अधिवेशनको सम्पूर्ण परिणाम आइसक्दासम्म आकांक्षीहरुको ब्यवस्थापन गर्ने तयारी संस्थापन पक्षको छ । देउवा पक्ष भने निर्णायक तयारीमा लागिसकेको छ ।
यसैबीच, नेपाली काँग्रेसको ४४ जिल्लामा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यही माघ २५ गते धेरै जिल्लामा अधिवेशनको प्रक्रिया सुरु भएकामा २६ गते सभापति सुशील कोइरालाको निधन भएका कारण माघ मसान्तसम्म अधिवेशनको कार्यक्रम स्थगित गरिएको थियो । बारा र पर्सा जिल्लामा प्राविधिक कारणले बाँकी रहेको गाउँ अधिवेशन सुरु भएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो । ती जिल्लामा मङ्गलबारदेखि मात्र निर्वाचन कार्यक्रम सुरु भएको हो । तराईका अन्य जिल्लामा पनि अधिवेशनको कार्यक्रम भइरहेको छ, धनुषा, सिराहा र सप्तरीको गाउँ अधिवेशन सम्पन्न भएको छ, रौतहटमा क्षेत्रीय अधिवेशन सकी जिल्ला अधिवेशनको प्रक्रिया अघि बढेको काँग्रेसले जनाएको छ । बाँकी ३१ जिल्लाको अधिवेशन फागुन १० गतेभित्रै सम्पन्न गर्ने गरी निर्देशन दिइएको काँग्रेसले जनाएको छ । ‘फागुन २० गतेदेखि केन्द्रीय महाधिवेशन हुने भएकाले तयारीका लागि पनि नाम सूची १० गतेपछि बुझाउनुपर्छ, यसैले १० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गराउन निर्देशन दिइएको काँग्रेसले जनाएको छ । अहिलेसम्म ६५ जिल्लाका २१० निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छानिएका छन् । त्यस्तै बिहीबारसम्म सम्पन्न ४४ जिल्ला अधिवेशनबाट निर्वाचित भएका जिल्ला सभापतिमा ताप्लेजुङमा लीला बोक्सिङ, झापामा उद्वव थापा, मोरङमा डिगबहादुर लिम्बू, सुनसरीमा राजीव कोइराला, खोटाङमा नरेशकुमार श्रेष्ठ, ओखलढुङ्गामा प्रदीपकुमार सुनुवार, उदयपुरमा विदुर बस्नेत, सिन्धुलीमा उज्जलप्रसाद बराल र धादिङमा रमेश धमला छन भने काभ्रेपलाञ्चोकमा मधु आचार्य, मकवानपुरमा इन्द्रबहादुर बानियाँ, गोरखामा हरिबहादुर घले, मनाङमा टेकबहादुर गुरुङ, कास्कीमा कृष्ण केसी, तनहुँमा बैकुण्ठनाथ न्यौपाने, स्याङ्जामा कमलप्रसाद पङ्गेनी, पाल्पामा वीरबहादुर राना, अर्घाखाँचीमा विष्णुप्रसाद खनाल, नवलपरासीमा विष्णु लामिछाने र रुपन्देहीमा अब्दुल रजाक जिल्ला सभापतिमा विजयी भएका छन । यस्तै, मुस्ताङमा याङ्जिङ विष्ट, जाजरकोटमा दीपकजङ्ग शाह, सुर्खेतमा कमलराज रेग्मी, डोटीमा प्रदीप देउवा, वैतडीमा नरेन्द्रसिंह थापा, डडेलधुरामा कर्णबहादुर मल्ल, पाँचथरमा नवीन्द्र केरुङ, भोजपुरमा नन्दमणि राई, धनकुटामा अग्निप्रसाद पौडेल, नुवाकोटमा जगदीश्वरनरसिंह केसी, कपिलवस्तुमा सुरेन्द्रराज आचार्य, मुगुमा खड्गबहादुर शाही, कालिकोटमा हर्षबहादुर बम, हुम्लामा जयपति रोकाया र बैतडीमा नगेन्द्रराज थापा सभापतिमा निर्वाचित भएका छन् ।
यसैगरी, तेह्रथुममा गोविन्दप्रसाद ढुङ्गाना, काठमाडौँँमा कृष्ण (सबुज) बानियाँ, ललितपुरमा मदन अमात्य, चितवनमा जीतनारायण श्रेष्ठ, पर्वतमा खिमप्रसाद भुसाल, रुकुममा प्रेमप्रकाश ओली, रोल्पामा अमरसिंह पुन र बर्दियामा सञ्जय गौतम सभापतिमा निर्वाचित भएको काँग्रेसले जनाएको छ । संखुवासभाको निर्वाचनमा दुई उम्मेदवारका बीचमा मत बराबर भएकाले थप प्रक्रिया अघि बढेको छ भने झापाका थापा, पाल्पाका राना र अर्घाखाँचीका खनाल सर्वसम्मत सभापति चुनिएका छन् ।

प्रतिक्रियाहरु