जनयुद्धको नयाँ शंष्लेषण, एकीकृत क्रान्ति – बिष्णु पन्त

२०७२ फाल्गुन ३ गते, सोमबार

हामी यतिवेला २०७२ फाल्गुण १ अर्थात एक्काईंसौ जनयुद्ध दिवशको अबसरमा हाम्रो इतिहास तर्फ नियालीरहेका छौं । नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यका साथ २०५२ फाल्गुण १ गते देखि विधिवत रुपमा शुरु भएको दिर्घकालीन जनयुद्धका थुप्रै आरोहअवरोहरुको पनि समीक्षा गरिरहेका छौं । हार र जितका जीवन्त परिदृश्यहरुलाई संगालेर आज एउटा नयाँ ठाउँमा पुगेको अनुभूति गरिरहेका छौं । नेपालमा सामन्ति राजतन्त्रलाई फ्याकेर संसदीय गणतन्त्रमा फ्डको मार्नासाथ एउटा गंभिर संसदवादी र अवसरवादी चिन्तन हावी भएका कारण एउटा ठूलो र मूलधारको क्रान्तिकारी माओवादी पार्टी अहिले चिरा चिरा भएको छ । मूलधारको माओवादी पार्टीको मूल नेतृत्वमा आएको विचलन र गद्दारीका कारण देशमा प्रतिगामी तथा यथास्थितिवादी शक्तीहरु हावी हुने प्रक्रियाले तिव्रता पाईरहेको स्पष्ट छ । जव जव महान उद्देश्यहरुबाट पार्टीहरु विचलित हुन्छन् तव तव नैराश्यता, विचलन अनि फुट र विभाजनहरु स्वभाविक रुपमा हावी बन्छन् । आज हामीले प्रस्ट देखीरहेका छौं की मूलधारको माओवादी पार्टी चिरा चिरा भएको छ । विचारधारा र प्रवृतिका हिसावले मुख्य तिनवटा शशक्तिकेन्द्रमा विभाजित बनेका छन् । पहिलो शक्ति हो, रुपमा आफुलाई माओवादी भनी राख्ने तर सारमा पूर्णरुपमा संसदवाद वा सुधारवादमा पतन हुने, जसरी पनि संसदमा आफ्नो स्थान खोज्ने, संसदीय पार्टी वा शक्तिको सपना देख्ने, संसदवादी कम्युनिष्ट केन्द्र बनाउने र चुनावबाट सत्तामा पुग्ने विशेषताहरु सहितको अहिलेको अवस्थामा प्रचण्डले नेतृत्व गरेको शक्ति । क्रान्तिका सबै हतियारहरु ध्वस्त बनाई एमाले लगाएतका पार्टीहरुसंगको एकता प्रक्रियाको माध्यमबाट आफ्नो अस्तित्व जोगाउन खोज्दै छ । त्यसैगरी दोस्रो शक्ति हो, आफुलाई माक्र्सवाद, लेनीनवाद र माओवादबाट अलग गरी गैरमाक्र्सवादी पार्टी बनाई पुँजीवादी समाजवादी वा लोककल्याणकारी राज्यको सपना वाड्ने शक्ति । रुपमा नयाँ शक्तिको नारा दिने र सारमा संसदीय सत्तालाई केन्द्र बनाई अगाडी वढ्ने तत्कालिन रुपमा डा.बाबुराम भट्टराईले नेतृत्व गरेको पार्टी । वास्तवमा, रुपमा हेर्ने हो भने यी दुई शक्ति विच ठुलै अन्तर वा खाडल भएजस्तो देखिन्छ, तर सारमा केही फरक छैन् । दुवैले संंसदीय यथास्थितिवादी शक्तिकारुपमा आफुलाई स्थापित गर्ने दाउँपेचमा छन् । यी दुवै शक्ति अन्त्यमा एमाले लगायतका शक्तिहरुसंग एकीकृत हुनसक्ने संभावना प्रवल छ । सैद्धान्तिक रुपमा एमाले पनि डा. वाबुराम भट्टराईको सोच र चिन्तन भन्दा टाढा छैन् । त्यसकारण के निष्कर्ष निकाल्न सकिन्छ भने साारमा यि तिनवटै शक्ति अर्थात प्रचण्डको एमाओवादी, वावुरामको नयाँ शक्ति र केपी ओलीको एमाले बैचारिक रुपमा एउटै धरातलमा उभिएका छन् र उनीहरु विचको एकता अवास्तविक हुदैन् । हामीलाई थहाँ छ, संसदीय शक्तिहरुले आ–आफ्नो भोेट बैकहरुलाई लक्षित गरेर छुट्टा छुट्टै रणनीतिहरु तय गर्दछन् । जस्तो कि कोही धर्मको नाममा, कोही जाती र क्षेत्रको नाममा, कोही संघीयताको नाममा त कोही संघीयता विरोधीको नाममा आ–आफ्नो धारणहरु बनाएका छन् । रुपमा त उनीहरु विभाजित हुन्छन् तर सारमा एक ठाउँमा हुन्छन् । केबल सत्ता र भागबण्डा नमिल्दा मात्र विभाजित हुन्छन् भने भागवण्डा मिल्नासाथ उनीहरु बीच कुनै अन्तर हुँदैन र अन्तरघुलन संभव हुन्छ । वर्तमान केपी ओली नेतृत्वको सरकार वा सत्ता गठनबन्धन एउटा राम्रो उदाहरण बनेको छ, जहाँ संबैैधानिक राजतन्त्र र हिन्दु राज्य माग्ने कमल थापा, संघीयता नमान्ने चित्र बहादुर केसी, एक मधसे एक प्रदेश भन्ने विजय गच्छेदार, माओबादी भन्ने प्रचण्ड र एमालेका ओली बीचको सत्ता संरचना अकल्पनीय र अनपेक्षित जस्तै छ । त्यसकारण संसदीय यथास्थितिबादी शक्तिहरु सरकार वा सत्ताको गोलचक्करमा फसिरहेका हुन्छन् । उनीहरुका लागि बिचार प्रधान हुँदैन, सत्ता प्रधान हुन्छ । उनीहरुका लागि राष्ट्रियता पनि गौण हुन्छ सत्ताका लागि । त्यसकारण त कतिपय उत्तर आधुनिकताबादीहरु निष्कर्ष आएको छः विचारको अन्त्य भई सक्यो वा बिचार मरिसक्यो । त्यसकारण संसदबाद भनेको विचार मरेकाहरुको बाद हो । त्यहाँ विचारसँग कुनै लेनादेना हुदैन, भागबण्डा र सत्ता भए पुग्छ । विचार, झण्डा वा नामहरु केवल टे«डमार्कका लागि प्रयोग गरिन्छ । त्यसै भनिएको पनि होइन, संसद भनेको खसीको टाउको झुण्डाएर भैसीको मासु बेच्ने ठाउँ हो । वास्तवमा संसदलाई सुँगुरको खोर त्यसै भनिएको थिएन । यी तिन वटै शक्तिलाई काउन्टर गर्दे तेस्रो शक्ति दिनप्रतिदिन उदाइरहेको छ, त्यो हो क्रान्तिकारी माओवादी शक्ति, जसले मालेमावादलाई द¥होसंग पक्डीदै जनयुद्धका सबै रुपहरुको नयाँ शंष्लेषणका आधारमा एकीकृत जनक्रान्तिको विकास गर्दे अगाडी बढीरहेको छ । विप्लवले नेतृत्व गरेको नेकपा माओवादीले यो धारको नेतृत्व गर्दे तिव्रतामा अगाडी बढीरहेको छ । एक्काइसौ शताब्दीको बद्लिदो विश्व र नेपालको विशिष्ट परिस्थितिका आधारमा मालेमावादमा थप विकास गर्दे नेपाली क्रान्तिको नयाँ मोडेल वा विचारका रुपमा एकीकृत क्रान्तिलाई अगाडी सारेको छ । पार्टी, सेना सत्ता र मोर्चाको एकीकृत अभ्यासका आधारमा अगाडी बढ्ने उसले नया खाकाको विकास गरिसकेको अवस्था छ । एक्काइसौ शताब्दीमा विकास भएको विज्ञान र कला, सूचना र संचार अनि प्रविधि र सिपको उच्चतम प्रयोग एवम विकास गर्दे एकिकृत क्रान्तिले एउटा नया आकार ग्रहण गर्दैे आईरहेको छ । त्यतिमात्र होईन, क्रान्तिकारी शक्तिहरु र क्रान्तिका सबै हतियारहरुको सही व्यवस्थापनको नितिलाई अंगीकार गरेको छ । राज्यसत्ताभित्र हावी भईरहेको दलाल शक्तिहरुलाई आफ्नो आक्रमणको मुख्य निशाना बनाउदै छ । त्यतिमात्र होईन दलाल पुँजीवादको सम्पूर्ण संजाललाई तोड्ने गरी उसले आफ्ना संघर्षहरुलाई घनिभूत बनाउदै छ । एकातर्फ उसले राष्ट्रिय पूजिपतिवर्गको संरक्षण गर्ने दायित्वबोध गरेको छ भने अर्कोतर्फ मध्यमवर्गलाई क्रान्तिको आधारवर्गको रुपमा विकास गर्दै छ । प्रविधि र सिपको विकास संगै डाक्टर, इन्जिनियर, वकिल, कर्मचारी, शिक्षक, प्राध्यापक र उद्योगी, व्यापारीहरु जस्ता मध्यमवर्गीय जनशक्तिहरु पनि श्रमजीवी वर्गमा रुपान्तरित भएको तथ्यलाई स्वीकार गर्दे अवको क्रान्तिमा उनीहरुको पनि निर्णायक भूमिका रहने निष्कर्षका साथ उसले आफ्नो कार्यदिशालाई विकास गरेको छ । आजको नेपाली क्रान्तिको मोडेलको विकास गर्दा अर्को के तथ्यलाई आत्मसाथ गर्नु जरुरी देखिन्छ भने गाउँ र शहरको संबन्ध गतिशील, चलायमान र निकट छ । एउटै मान्छे गाँउमा बस्छ र शहरमा व्यवसाय गर्दछ, अर्थात छोटो समयमा ओहोर दोहोर गर्छ त्यसकारण एकीकृत क्रान्तिले यो तथ्यलाई विश्लेषण गर्दे ग्रामिण वर्ग संघर्ष र शहरीया विद्रोहलाई एकीकृत रुपमा अपनाउने नयाँ तरीकाको विकास गरेको छ । नेपालको अहिलेको परिबेशमा बैदेशिक हस्तक्षेपको प्रतिवाद गर्दै राष्ट्रिय स्वाधीनताको नारालाई केन्द्रमा राख्नुपर्ने परिस्थिति छ । त्यसका लागि देशभक्त शक्तिहरु संग मोर्चाबन्दी गर्दै अगाडी वढ्ने निति लिएको छ । पार्टीभित्र रहेका विभिन्न, सीप, क्षमता प्रतिभा, ज्ञान र विज्ञतालाई विशिष्टीकरण तथा आवश्यकताका आधारमा समन्वयात्मक र सन्तुलित ढंगले परिचालन एवं सदुपयोग गर्नु प्रमुख दायित्व बनेको छ । संघर्ष हस्तक्षेप र कार्वाहीहरुलाई केन्द्र, जिल्ला र गाउँ, नगर सम्म एकसाथ र एउटा श्रीङखलामा विकास गरिरहेको छ ।
जनयुद्धको एक्काईसौं वर्षगाँठ मनाईराख्दा आजको विशिष्टतामा जनयुद्धको विकास र प्रयोग गर्ने चुनौति हाम्रा सामु खडा भएको छ । आजसम्म संसारभरका क्रान्तिकारी शक्तिहरुले अभ्यास गरेका सबै युद्धकला, मोडल र ज्ञानसीपलाई एकीकृत रुपमा विकास गर्नुपर्ने जरुरी देखिन्छ । एकीकृत क्रान्तिले एकीकृत युद्ध वा संघर्षको विकासलाई केन्द्रभागमा राखेको छ । वैधानिक र अवैधानिक तथा शसस्त्र वा शान्तिपूर्ण सबैखाले विकल्पहरुलाई खुल्ला राखेको छ ।
हामीलाई थाहा छ, नेपालमा प्रतिक्रान्ति मूल नेतृत्वबाट नै भयो । शायद त्यसबाट भएको अपूरणीय क्षेतिलाई पूर्ति गर्न अर्को उचाईको नेतृत्वको विकासबाट मात्र संभव हुँदो रहेछ । प्रचण्ड, बाबुरामलाई विस्तापित गर्न क. किरणबाट सम्भव हुँदोरहेनछ, त्यसका लागि क. विप्लब नै चाहिदो रहेछ । हामीले आज सम्मका विश्व घटना क्रमहरुलाई हेरयौ र एउटै सत्य उदाङ्ग छ, त्यो हो, सत्ता र शक्ति मूलतः बन्दुककै नालबाट प्राप्त हुन्छ । शैन्य शक्तिबाट मात्रै सबै कुराको निर्णायक छिनोफानो हुन्छ । आजको उत्तर कोरीयाले जसरी आफ्नो स्वाधीनताको रक्षा गर्न सकेको छ, त्यो अनुकरणीय छ । हाम्रो सन्दर्भमा हेर्दा हामीलाई सधै आक्रान्त पारेको विषय यही स्वाधीनताको विषय बन्ने गरेको छ । हामी सानो र कमजोर राष्ट्र भन्ने नामबाट सधै तड्पिने गरेका छौं । हामीले आफ्नो माटो वा भूगोललाई बचाउनका लागि पनी नयाँ ढंगले सोच्नै पर्ने बेला भएको छ । हामीले आफ्नो स्वाधीनताका लागि आत्मसमर्पणको रणनीतीलाई बदल्ने हिम्मत गर्नुपर्छ । जे होस सारमा भन्नु पर्दा ठीक यतिबेलाको नेपालमा जनबादी क्रान्ति सम्पन्न गर्नुपर्छ र त्यो सकिन्छ भन्ने नेतृत्व एउटै छ र त्यो हो नेत्रबिक्रम चन्द ‘विप्लव’ । नेपाली क्रान्ति सम्पन्न गर्ने एउटै नयाँ विचार र कार्यदिशाको विकास भएको छ, त्यो हो एकिकृत क्रान्ति । त्यतिमात्र हैन, अहिलेको अवस्थामा सबै प्रतिकुलताहरुलाई चिर्दै आवश्यक पर्दा राष्ट्रिय मुक्ति युद्धको विगुल फुक्न सक्ने र प्रतिक्रियावादी, प्रतिगामी संसदबादी तथा यथास्थितीबादीहरुका विरुद्ध धावा बोल्न सक्ने अनि वर्ग संघर्षको डटेर उद्घोष गर्न सक्ने एउटै पार्टी छ, त्यो हो नेकपा माओबादी । यी तीन हतियारहरुको उचित संयोजनबाट हामी एउटा उज्यालो संभावना तर्फ धकेलिदै छौ । आजको दिनमा हामीले गर्व गर्नपर्ने कुरा यही छ । शायद फेरी एक पटक नयाँ युगलाई चुम्ने आकांक्षा तिब्र बनेको छ ।

प्रतिक्रियाहरु