जनयुद्धको उपलब्धिको रक्षा गरौं

२०७२ फाल्गुन १ गते, शनिबार

२१ औँ जनयुद्ध दिवस सम्पन्न भएको छ । २१ औँ जनयुद्ध दिवस मनाउँदासम्म देश र जनताको मुक्तिको लागि जनयुद्धमा होमिएका माओवादी टुक्राटुक्रामा विभाजित भएका छन् । दस वर्षे जनयुद्धबाट प्राप्त उपलब्धिहरू लगभग गुमिसकेका छन् । देश र जनताको मुक्ति कथाजस्तो भएको छ । कुशासन, कालोबजारी, अन्याय, अत्याचार र भ्रष्टाचारले सीमा नाघेको छ । जनजीविका चौपट भएको छ । देश अस्तव्यस्त भएको छ । हिजो देश र जनताको मुक्ति भन्दै जनयुद्ध छेड्नेहरू आज सम्भ्रान्त बनेका छन् । जनयुद्ध देश र जनताको निम्ति नभई सीमित व्यक्ति र वर्गको भुँडी भर्ने मालिक बन्ने साधनमा परिणत हुन पुगेको छ । दस वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त अधिकार कुण्ठित हुन पुगेका छन् । देश २०५२ अघिकै अवस्थामा फर्केको छ । यस अवस्थामा फेरि एउटा आन्दोलन आवश्यक भएको छ । जुन आन्दोलनले देशका शोषित, पीडित जनतालाई न्याय दिन सकोस् । देशमा अमनचयन कायम होस्, जनताले सुशासन पाउन् । हो, यसकै लागि अब सबै माओवादी एकजुट भएर एउटा आन्दोलनको सुरुवात गर्नु आवश्यक छ । व्यक्ति विशेष र दल विशेषका स्वार्थलाई परै राखेर देश र जनताको हितलाई केन्द्रमा राखेर एक हुनु आवश्यक छ । यसका निम्ति नेकपा माअ‍ोवादीले अगाडि सारेको एकीकृत जनक्रान्तिको सिद्धान्तको विकल्प छैन । तसर्थ, देशमा भएका सबै माओवादी शक्ति, क्रान्तिकारी व्यक्ति, आमस्वाभिमानी नागरिक, त्यसैमा गोलबद्ध हुनु जरुरी छ । अहिले देश र जनतालाई मुक्तिको बाटोमा लैजाने भनेकै एकीकृत जनक्रान्तिको सिद्धान्त हो । यसमै सबै एकताबद्ध भएर अगाडि बढे देश र जनताको मुक्ति आवश्यम्भावी छ, चेतना भया ।

प्रतिक्रियाहरु