अब स्मार्ट कार

२०७२ जेष्ठ २३ गते, शनिबार

काठमाडौँ । संसारभर नै कारको संख्याको अनुपातमा पार्किङ स्थलको अभाव भएको गुनासो सुनिन्छ । नेपालमै पनि कारधनीहरू पर्किङका लागि स्थान पर्याप्त नभएको बताउँछन् । तर, अब अहिले भने यस्तै समस्यालाई ध्यानमा राखेर नयाँ प्रविधियुक्त कारको निर्माण गरिएको छ । यो कारले पार्किङ स्थानअनुसार आकार परिवर्तन गर्न सक्छ । निकट भविष्यमा यो स्मार्ट कार निकै लोकप्रिय बन्ने विज्ञहरूको अनुमान छ । आफ्नो आवश्यकताअनुसार रोकिएको स्थानमा चारैतिर घुम्ने क्षमता यो कारमा छ । स्वचालित यो कार जस्तोसुकै बाटोमा उपयोगी हुने बीबीसीले उल्लेख गरेको छ । साथै, कार पार्क गर्ने चिन्ता पनि लिनु नपर्ने बताइएको छ । किनभने, कारले आफैँ पार्क हुने क्षमता राख्छ । दुईजना अट्ने ‘ईओ’ नामक यो सिटी कार हो । कैंचीजस्तै खुल्ने यो कारको लूक्स स्पोर्टी छ । स्मार्ट प्रविधिको प्रयोग गरिएको यो कार बोलाउँदा पिकअपका लागि समेत उपस्थित हुन्छ । सुरक्षाका हिसाबले समेत यो कार निकै उपयुक्त देखिन्छ । किनभने, अति चिप्लो बाटोमा समेत यो सजिलै रोकिन्छ । यसको निर्माण जर्मनीको आर्टिफिशियल इण्टेलिजेन्स रोबोटिक्स इन्नोभेशनको अनुसन्धान केन्द्रमा गरिएको हो । यो कार फोर हब इलेक्ट्रिक मोटर्सको सहायताले चल्छ । ७ सय ४८ किलोग्राम वजनको यसले ६४ किलोमिटर प्रति घण्टाको अधिकतम गति लिन सक्छ । अन्य कारको तुलनामा यसको निर्माणमा अत्यधिक ग्लासको प्रयोग गरिएको छ ।
चक्का एक्सलको अन्त्यमा जोडिएकाले यो कार एकै स्थानमा रही चारैतिर घुम्न सक्छ । त्यसैगरी, कारको चारओटै पाङ्ग्रा कुनै पनि कोण (एङ्गल)मा एकैपटक एकै दिशामा घुमाउन समेत सकिन्छ । साथै, कारलाई परम्परागत कारहरूझैं मोड्न सकिन्छ । यो कारको प्रमुख विशेषता कुनै पनि स्थानमा सहज पार्क गर्न सकिनु नै भएको बीबीसीले बताएको छ । स्वचालित रूपमा कुनै पनि स्थानमा सहजै पार्क गर्न सकिने यो कार पार्किङको समयमा एक्सललाई माध्यम बनाई अगाडिबाट उठ्न र फोल्ड हुन सक्छ । अतः जहाँ साधारण कार पार्क गर्न ८–२ फिटको स्थान आवश्यकता पर्छ, त्यहाँ यसलाई पार्क गर्न ४–९ फिटको स्थान पर्याप्त हुन्छ । गूगलको स्वचालित कार सेल्फ ड्राइभिङ कारमा झैं यसमा पनि विभिन्न प्रकारका सेन्सरको प्रयोग गरिएको छ । कारको अघिल्लो र पछिल्लो भागमा स्टेरियो क्यामेरा, थ्रीडी इन्भायरोन्मेण्ट स्क्यानर र इमेजिङ क्यामेराको प्रयोग गरिएको छ । यसको सहायताले कारले आफ्नो वरपरका स्थानबारे जानकारी लिन तथा सजग हुन सक्छ । कार निर्माणमा संलग्न समूहले भविष्यमा कारमा रहेका प्रविधिलाई थप विकसित गर्न सकिने समेत दाबी गरेको छ ।
अहिले विकासकर्ता तथा वैज्ञानिकहरू इण्टेलिजेण्ट सिष्टम हाइवेको विकासमा लागिपरेका छन् । यसको सहायताले भविष्यमा अनेक कारलाई एकसाथ जोडेर चलाउन सकिने उनीहरूले बताएका छन् । यसको सहायताले कारहरूले आपूmमा सञ्चित ऊर्जा आवश्यकता परेका बेला अन्य कारसँग आदानप्रदान गर्न सक्नेछन् । यसको माध्यमबाट कारमा यात्रा गरिरहेकाको भ्रमण थप सुरक्षित हुने विकासकर्ताहरूले बताए । स्वचालित रूपमा चल्ने कारका कारण चालकहरूलाई पनि राहत मिल्ने बताइएको छ । साथै, कारमा प्रयोग हुने प्रविधिको सहायताले एकै कारको सञ्चालन प्रणालीमार्फत अनेक कार चल्नेछ । अहिलेको समयमा भने यो कार कन्सेप्ट कारका रूपमा मात्र प्रदर्शन गरिएको छ । त्यसैले, आउने दिनहरूमा कारमा थप प्राविधिक विकास, परिमार्जन तथा परिवर्तनसमेत देख्न पाइनेछ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु