डोल्पामा एफटिटिएच नेटवर्क सेवा सुरु

२०८१ बैशाख २ गते, आईतवार


काठमाडौँ । नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित फाइबर टु द होम (एफटिटिएच) नेटवर्क सेवा सुरु गरेको छ । उच्च गतिको इन्टरनेट सेवा देशभर पुर्याउने सरकारको अभियानअन्तर्गत आजदेखि नेपाल टेलिकमले उक्त सेवा डोल्पामा सुरुआत गरेको हो ।
आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डोल्पामा एफटिटिएच नेटवर्क सेवाको भर्चुअलका माध्यमबाट शुभारम्भ गरिन् । यससँगै यो सेवा मुगु र हुम्लाबाहेक सबै जिल्लामा पुगेको छ । मुगुमा हाल जडान भइरहेको र हुम्लामा आगामी वर्षमा जोड्ने योजना रहेको नेपाल टेलिकमले जनाएको छ ।
सो अवसरमा मन्त्री शर्माले देशैभरी अप्टिकल फाइबरसहितको इन्टरनेट सेवा पुर्याउने सरकारको अभियान साकार हुँदै गएको बताइन् । उनले नेपाल टेलिकमका अधिकारीहरुलाई यो सेवालाई कम्तीमा प्रत्येक पालिकाका केन्द्रसम्म बिस्तार गर्न पनि आग्रह गरिन् ।
“सरकारले नाफा मात्रै हेर्दैन, घाटै भए पनि दूरदराजका नागरिकलाई सूचना र सञ्चारको सुविधाबाट बञ्चित गर्दैन” उनले भनिन्, “सरकारले मुलुकभर इन्टरनेट सेवा पुर्याउने नीतिलाई प्राथमिकता दिएको छ ।”
इन्टरनेटको अभावमा नागरिकलाई आधारभूत सेवा समेत दिन नसक्ने अवस्था रहेको र त्यसतर्फ सरकारको पनि चासो रहेको भन्दै मन्त्री शर्माले विशेष ध्यान दिन टेलिकमका अधिकारीहरुलाई आग्रह गरिन् । सेवाको पहुँचसँगै सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन पनि उनले आग्रह गरिन् ।
कतिपय अवस्थामा विद्युतीकरणको अभाव र सोलारका मात्रै भर पर्दा टेलिकमको सेवा गुणस्तरीय नहुने गरेको उल्लेख गर्दै उनले वैकल्पिक प्रविधिको प्रयोग गरेरै भए पनि इन्टरनेट सेवा पुर्याउने प्रतिबद्धता जनाइन् । उनले सञ्चारको विकासमा धेरै समस्याहरु भए पनि ती समाधान गर्न सबैको पहलकदमीको जरुरी रहेको आवश्यकता औँल्याइन् । उनले डिजिटल नेपाल निर्माणमा इन्टरनेट आधारभूत सेवा भएको बताइन् ।
सिंहदरबारमा भएको उक्त कार्यक्रममा सहभागी पूर्वमन्त्री सत्या पहाडीले सञ्चारको क्षेत्रमा पछाडि परेको डोल्पामा प्रभावकारी सञ्चार सेवा सुरुआत हुनु महत्वपूर्ण भएको बताए । उनले सो सेवालाई थप स्थानमा बिस्तार गर्दै सेवाको गुणस्तर र दीगो बनाउन मन्त्री शर्माको ध्यानाकर्षण गराए । “टावर हुने तर फोन नलाग्ने, इन्टरनेट पुग्ने तर राम्रोसँग नचल्ने पनि हुनसक्छ, त्यसतर्फ ध्यान दिनुपर्छ”, पहाडीले भने ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले सबै जिल्लामा उक्त सेवा पुर्याउने प्रतिबद्धता जनाए । साथै विभिन्न चुनौतीका बीच पनि निकट भविष्यमै मुगु र हुम्लामा पनि सेवा पु¥याउने बताए ।
उनले सूचना तथा प्रविधिको युगमा निजी क्षेत्र पुग्न नसकेको क्षेत्रमा पुग्नु सरकारको दायित्व भएको बताए । बिस्तार, गुणस्तर र सुरक्षा महत्वपूर्ण पाटो रहेको उल्लेख गर्दै सचिव सुवेदीले सञ्चार प्रविधिमा फड्को मार्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा डोल्पाबाट भर्चुअलरुपमा सहभागी नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक उमेशप्रसाद शाहले ५४ प्रतिशत सेवा सोलारको भरमा रहेकाले सेवा प्रवाहमा समस्या रहेको तर प्रभावकारी सेवामा विशेष ध्यान दिइएको बताए ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जिल्लामा सीमित स्थानमा मात्रै दुरसञ्चार सेवा उपलब्ध रहेको बताए । उनले इन्टरनेट सेवाको अभावमा ठूलो समस्या भोगिरहेको डोल्पाबासीका लागि आजदेखि शुभारम्भ गरिएको एफटिटिएच नेटवर्क कोसेढुंगा सावित भएको बताए ।
जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम रोकाले छरिएर रहेको डोल्पाको बस्तीमा राज्यले सञ्चार सेवा उपलब्ध गराउन थालेकोमा खुसी व्यक्त गरे । -रासस

प्रतिक्रियाहरु