इजिप्टमा कडा कानुन पारित

२०७० मंसिर १० गते, सोमबार


कायरो, १० मङ्सिर । इजिप्टको सरकारले वर्तमान सरकारको विरोध प्रदर्शन पनि गर्न नपाउने गरी देशमा कडा कानुन पारित गरेको समाचार छ ।विपक्षीहरुले सडक आन्दोलन जारी राखी सरकारको विरोधको काममा निरन्तरता दिएपछि त्यहाँका राष्ट्रपतिले यो कानुन बनाएका बताइएको छ ।आइतबार सो कानुन जारी गर्दै सरकारले विरोध प्रदर्शन पनि गर्न नदिने भएपछि त्यसको व्यापक मात्रामा आलोचना भएको बताइएको छ ।
इजिप्टका अन्तरिम राष्ट्रपति अदली मन्सुरले सो कानुन जारी गरेपछि विपक्षीहरुले विरोध गरेका बताइएको छ । विपक्षीहरुले शान्तिपूर्ण आन्दोलन गर्न पाउने कामलाई समेत प्रतिबन्धित गर्नु निरङ्कुश भएको बताएका छन् ।यदि विरोधका कारण सडक अवरुद्ध भयोभने वा सरकारले अप्ठेरो महसुश ग¥योभने सरकारले ती प्रदर्शनकारीलाई कडा भन्दा कडा कारबाही गर्नसक्ने छ ।साथै सो विरोधका क्रममा नागरिकले हितयार लिएर आन्दोलनमा सहभागि भएमा वा उनीहरु सरकारले बनाएको दायरालाई नाघेर विरोध गरेमा त्यसबापत उनीहरुलाई कम्तीमा पनि पाँच वर्षसम्म जेल सजाय गर्न सकिने पनि सो कानुनमा व्यवस्था गरिएको छ ।
इजिप्टमा गत जुलाई महिनादेखि सैनिक सहयोगको सरकार रही आएको छ । त्यहाँका पूर्व राष्ट्रपति मोहमद मोर्सीलाई सैनिकले अपदस्थ गरी हिरासदमा राखेको छ ।संविधान सभाको निर्वाचनद्वारा निर्वाचित राष्ट्रपतिलाई अपदस्थ गरी जेलहाल्नु अवैधानिक भएको भन्दै उहाँको दल मुस्लिम ब्रदरहुडका कार्यकर्ताहरुले वर्तमान सरकारको विरोध गरिरहेका छन् ।विदेशी समुदायले पनि इजिप्टको सरकारलाई जतिसक्यो चाँडै निर्वाचन गराउन दिएको निर्देशनको पनि पालना भइरहेको छैन ।
सरकार विपक्षीहरुप्रति निकै आक्रामक भइरहेको छ । त्यहाँका राष्ट्रपति मोर्सीको सत्ता अपदस्थ भएपछि भएको आन्दोलनका क्रममा एक हजार भन्दा बढीको ज्यान गइसकेको छ । रासस/एएफपी

प्रतिक्रियाहरु