प्रचण्ड र प्रचण्डपार्टीको पराजय एक टिप्पणी –जनक महतारा

२०७० मंसिर ८ गते, शनिबार


तथाकथित चार दलिय सिण्डिकेट र निर्दलीय सरकारको आह्वानमा मंसिर ४ मा भएको संविधान सभा भाग–२ मा प्रचण्ड र उनले नेतृत्व गरेको पार्टीले सर्वानक पराजयको भार बोकेको तथ्य अहिले हाम्रो सामु छ । नयाँ पुराना संसदवादीहरु सम्मिलीत यो चुनाबमा नयाँ संसदवादीहरुको यो पराजयलाई खासै अनौठो मान्नु पर्ने कारण छैन । तैपनि यसले के कुरालाई थप पुष्टि ग¥यो भने जनता न्याय र परिवर्तनको पक्षका साथै नयाँ चिजको पक्षमा सधै उभिरहदा पनि नयाँ पक्षले जब जनताका असिमित आशा र विस्वासमाथि कुठाराघात गर्छ तब बाध्यतावस पुरानो पक्षलाई स्विाकार गर्नुपर्ने स्थिती हुदो रहेछ । स्वभावैले मोहि बिग्रेकोमा भन्दा पनि दहि बिग्रेर सडेपछि बढ्ता आक्रोश र अविस्वास पैदा हुनेरहेछ । त्यो भन्दा झन नारा र ब्यवहारको डरलाग्दो अन्तरभेदको कारण जनतामा बढि मात्रामा घृण जाग्ने रहेछ । आकाश छुने गलफत्ति गरेर टुकुचामै निदाईदिने प्रवृतिलाई जनताले राम्ररी चिन्दा रहेछन् भन्ने यो गतिलो उदाहरण हो । प्रचण्ड र प्रचण्डपार्टीको पराजयलाई यतिमा मात्र बुझ्दा अझै अपुरो हुन्छ । हुन त यो पराजयलाई राजनीतिका बिख्यात विश्लेषकहरुले आ–आफ्नै दृष्टि अनुरुप विश्लेषण गरिरहेका छन् । पक्ष–बिपक्ष वा तर्क–वितर्कको छिपछिपेमा खेल्नुभन्दा पनि पराजयको मुल चुरो पहिल्याउनु र त्यसलाई भेदन गर्नु आजको आवश्यकता हो । हुन त प्रचण्ड आफ्नो र आफ्नो पार्टीको पराजयमा देशी विदेशी परिवर्तन विरोधिहरुको षड्यन्त्र भएको मान्छन्, यो उनको पुरानो रोग हो । हरेक वस्तु जीवन्त रहनु वा त्यसको अवसान हुनु बाह्य भन्दा आन्तरिक कारण प्रधान हुन्छ । प्रचण्ड र उनको पार्टी पनि यो यर्थाथबाट अछुतो रहन सक्दैनन् । प्रचण्ड र उनको पार्टीले हा¥यो त केवल आफ्नै कारणले हा¥यो । आफ्नै प्रवृतिले हा¥यो । आफ्नै गलत राजनैतिक कार्यदिशा, संसदीय सिद्धान्त र ब्यबहारिक प्रबृतिको शिकार बन्यो । कुनै जमाना थियो प्रचण्ड अर्कै ग्रहबाट आएका नौला मान्छे जस्तै थिए । उच्चो ब्यक्तित्व, सरल जीवन र दुरदर्षित क्षमता प्रचण्डको परिचय थियो । त्यो परिचयमा सम्मोहित भएर धेरैले प्रचण्डलाई आफ्नो दिल–दिलमा सजाए । बिगतको न्यायपूर्ण दश बर्षे जनयुद्धमा प्रचण्डको एउटा काशनले पूर्व उठ्थ्यो त अर्को काशनले पश्चिम बस्थ्यो । प्रचण्ड विश्व मानचित्रको जुनकुनै भूगोलमा भएपनि उनको नाममा जनमुक्ति सेनाका हरेक योद्धाहरु सहजै बलिदानको शिखर नाघ्न मञ्जुर हुन्थे । चिता जल्न राजी हुन्थे । क्रान्तिमै बाँच्ने र क्रान्तिमै मर्ने सपना प्रचण्ड ब्यक्तित्वको पर्याय थियो । साम्राज्यवादका कुटिल अफवाहहरुलाई चिरेर नेपालको छानोवाट वर्गमुक्तिको सपना उदाउदै गरेको भान हुन्थ्यो । विश्वमा कम्युनार्डहरुको रगत र समर्पणको प्रतिफलमा उभिएको समाजवाद ढल्दै गरेको तितो यर्थाथतालाई सगरमाथाको देशबाट त्यसको गतिलो जवाफ मिल्नेमा अन्तर्राष्ट्रिय जगतको पूर्ण आशा र विस्वास थियो । संसदवाद र निरंकुशताको जर्जर पहाडले थिलो–थिलो पारेको यो मुलुकका हरेक नागरिक प्रचण्डको नेतृत्वमा चलेको न्यायपूर्ण संघर्षबाट आशावादी थिए । तर आजको यो अवस्था सम्मा आईपुग्दा त्यो रहेन । चुनाङ्ग बैठक, १२ बुँदे सम्झौता शान्ति प्रक्रियाको सुरुवात संगै भएको विस्तृत शान्ति सम्झौंता, त्यो बिचमा संसदवादी पार्टीहरुसंग भएको विभिन्न चरणका सहमति, पहिलो संविधान सभाको निर्वाचन, समायोजनको नाममा गरिएको जनमुक्ति सेनाको अपमानपूर्ण विघठन, पहिलो संविधानसभाको विघठन, पार्टी विभाजन र निर्दलीय कठपुतलि सरकारको निर्माण संगै गरिएको यो कथित संविधानसभाको दोस्रो निर्वाचनको नाटकीय श्रृखलासम्म पुग्दा प्रचण्डले खेलेको खेल कम्युनिस्ट आन्दोलनको एउटा कलंकको रुपमा सावित भयो । एउटा सर्वहारा वर्गको नेता भनिएका प्रचण्डको विलासी जीवनशैली, कोइराला परिवार जस्तै पारिवारीक घेरामा कैद हुनु, रातारात सभ्रान्त परिवारको मुली बन्नु, जनताको नाम जपेर अकुत सम्पतिवाला मालिकको सेवामा लीन हुनु र विदेशीको नम्वर एक दलालको रुपमा खडा हुनुु प्रचण्ड पराजयको मुल कारण हुन् । जनतालाई चुर्दि–फुर्दी र तडक भडक मन पर्दैन । जुन शासन ब्यवस्थाले सदियौं देखि जनताको मन रुवाएको छ त्यहि ब्यवस्थाको लागि जे पनि गर्ने प्रचण्डको संस्कृति जनताले अस्किार गरेको अहिलेको अवस्थालाई नर्कान मिल्दैन । माओवादी पार्टीले जनयुद्ध गर्नुको मुल कारण भनेको असफल संसदीय ब्यवस्थालाई ध्वंश गरेर सार्वभौम सत्तामा जनताको अधिनायकत्व स्थापित गर्नुको अलवा राज्यको नयाँ संरचना मार्फत विकासको ढोका खोल्नु थियो । संघर्षको स्वरुप शान्तिपूर्ण होस् या शसस्त्रपूर्ण त्यसको उद्देश्य विभेदकारी शासन ब्यवस्थालाई बदलेर समानतालाई स्थापित गर्नु, राज्यका सबै अङ्गहरुमा उत्पिडीत वर्गको समान सहभागिताको सुनिश्चित गर्नु थियो । यसलाई आत्मसाथ गरेर हजारौं मान्छेहरुले वलिदान गरे । आज प्रचण्ड र प्रचण्डको पार्टीले ति सहिदहरुको रगत, बेपत्ताहरुको असिम त्याग, घाईतेहरुको समर्पणमा सौदाबाजि ग¥यो । सत्तामा पुग्ने भ¥याङ्को रुपमा दुरुपयोग ग¥यो । कम्युनिस्ट बन्नु वा कम्युनिस्ट आन्दोलनमा समाहित हुनु भनेको निस्वार्थ देश र जनताको सेवाभावमा समर्पित हुनु हो । तर प्रचण्ड र उनको पार्टीले कम्युनिस्ट आन्दोलनलाई कमाई खाने पेशा बनाए । कम्युनिस्ट क्रान्तिकारी शिविरलाई छिन्नभिन्न पारी बदनामको अखडा बनाए । साम्राज्यवाद र विस्तारवादको आडमा लुट मच्चाएर रातारात सभ्रान्तको हैसियतमा चुलिए । जुन उद्देश्यको लागि जनमुक्ति सेनाको निर्माण गरिएको थियो त्यसको न्युनतम् बिन्दुमा प्रवेश नगर्दै जनमुक्ति सेनाको अपमानपूर्ण विघठन गरे । कम्युनिस्ट आन्दोलनको गौरवशाली ईतिहास बोकेको सेनालाई छुद्र स्वार्थ र कुर्चिको खेलमा लिलाम गरे । राष्ट्रवादको खोक्रो नारा अलापेर देशमा पराधिनतालाई संस्थागत गर्ने राष्ट्रघाती काम गरे । प्रचण्ड जुनबाटो नहिड्नु थियो त्यहि हिडे, जे नगर्नु थियो त्यहि गरे । साम्यवादको सपना बोकेर क्रान्तिमा होमिएका कार्यकर्ताहरु आज अरवको खाडीमा उँट चराईरहेका छन् । तैपनि जनता र कार्यकर्तालाई ढाँटिरहे ठगिरहे त्यो ढाँट, कपट र छली कुर्कमको कुल योगले नै आज प्रचण्ड र उनको पार्टी पराजयको गर्तमा डुब्यो । राजनैतिक कार्यदिशा सहि वा गलत हुनुले सवैको चिजको निर्धारण गर्छ भनेर महान माओले त्यसै भनेका होईनरहेछन् । जब प्रचण्ड र उनको पार्टी सहिबाटोमा थियो त्यहाँ सव चिज थियो । जब प्रचण्ड जानी–जानी गलत बाटोमा आँखा चिम्लेर कुँदे उनिसंग केहि रहेन । पार्टी विभाजन भयो । पुराना र आन्दोलनमा अर्थ राख्ने नेताहरुले प्रचण्डको गलत बाटोलाई स्विकार नगरी क्रान्तिलाई निरन्तरता दिए । त्यसमा पनि प्रचण्ड मनोगत चिन्तनमा डुबिरहे । गैर माओवादीको हुल हुज्जत पार्टीमा हुलेर पार्टीलाई क्रान्तिको साधन भन्दा विकृतिको कारखानामा रुपान्तरण गरे । आज पनि प्रचण्ड र उनको पार्टीको बोली र बक्तब्य हेर्दा उनिहरु सहि बाटोमा रहेको र दुनियाँ भरीको षड्यन्त्रको कारणले आफुहरुलाई हराएको कुर्तकका बाजा बजाईरहेका छन् । अझ बहिष्कार अभियानमा क्रियाशील नेकपा–माओवादी संसदवादीहरुसंग मिलेर आफुलाई हराएको लाजास्पद ढ्वाङ्ग पिटिरहेछन् । अच्चमको कुरा त अरुले षड्यन्त्र गरेर हराए भनेर रुवावासी गुर्न कस्तो राजनैतिक संस्कार होला ? हार र जितको मुल कारक आफु नभई अरुलाई ठान्नु पतनको संकेत बाहेक केहि होइन । यतिवेला प्रचण्ड र उनको पार्टी न संविधानसभाको मोर्चामा निर्णायक बन्छ न सडकको मोर्चामा प्रखर देखिन्छ । संसदवादको लाईन संसदीय शक्तिहरुको काबुमा रहने र क्रान्तिको लाईन नेकपा–माओवादीको नेतृत्वमा अगाडी बढ्ने सम्भावना देखिरहेको यो बेला प्रचण्ड र उनको पार्टी बाहिर बाट छर्लाङ्गै देखिने उसको आन्तरीक कम्जोरीलाई सच्याएर अगाडी बढ्छ या पराजयको मनगढन्ते कुण्ठा, आवेक, जलन र छटपटी साँधिरहन्छ यो उसैको कुरा हो । त्यसबाट मात्रै उसको राजनैतिक भविष्यको निचोड निस्कनेछ । अन्तमा भन्नै मन लाग्योः आखिर जनता ईतिहासका निर्माता न हुन् विचार र ब्यबहारको एक–एक हिसाब राख्दा रहेछन् । जय जनता

प्रतिक्रियाहरु